बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम

बिहीबार, ०७ साउन २०८३, ०९ : ५२
बिहीबार, ०७ साउन २०८३

सारांश

  • देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा मुनि रहेको छ।
  • प्रमुख नदीहरूमा अवस्था सामान्य रहे पनि देशका विभिन्न २८ जिल्ला भई बहने स-साना नदी र खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
  • तटीय क्षेत्र तथा साना नदी किनारमा बस्ने बासिन्दालाई आवश्यक पूर्वसतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा मुनि रहेको छ।

महाशाखाका अनुसार बिहीबार बिहानको मापन गर्दा कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदीसँगै तिनका सहायक नदीहरूमा बहाव सामान्य छ। यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि जलसतह सतर्कता तहभन्दा तलै रहेको छ।

प्रमुख नदीहरूमा अवस्था सामान्य रहे पनि देशका विभिन्न २८ जिल्ला भई बहने स-साना नदी र खोलाहरूमा भने आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। महाशाखाका अनुसार आज तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर र ललितपुर भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ। 

यस्तै मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ र म्याग्दीका साना नदीहरूमा पनि बहाव बढ्न सक्नेछ। महाशाखाले ‘मुगु, सुर्खेत, दैलेख, अछाम, डोटी र आसपासका जिल्ला भएर बहने स-साना नदीहरूमा समेत बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको’ जनाएको छ।

मौसममा आउने परिवर्तनसँगै भोलि शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेश भएर बहने केही स-साना नदीहरूमा जलसतह आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान छ। यसैगरी पर्सी शनिबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने महाशाखाले जनाएको छ। 

तटीय क्षेत्र तथा साना नदी किनारमा बस्ने बासिन्दालाई आवश्यक पूर्वसतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

752178136_122227687646355476_2422396391509794658_n750665803_122227687694355476_7289824213337698638_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप