पानी परेपछि रातभर निदाउँदैनन् भर्तापुर र पश्चिम जिनुवाका बासिन्दा
कपिलवस्तु– जब आकासमा बादल मडारिन्छ, तब जिल्लाको वाणगंगा नगरपालिका ९ भर्तापुर र पश्चिम जिनुवाका करिव ४० घर परिवार चिन्तित हुन थाल्छन । आकाशमा बादल मडारिने वित्तिकै उनीहरुलाई हरेक वर्ष जस्तै आउने बाढिले गाउँनै डुवानमा पर्ने हो कि भन्ने चिन्ता हुन्छ ।
गाउँ किनारमै रहेको धिरी नदीमा वर्सेनि आउने बाढीले आफ्नो जमिन कटान गरेर हैरानी खेपेका जिनुवावासीले यो समस्याबाट कहिल्यै मुक्ति पाउन सकेका छैनन् । विगत २०४७ सालदेखि नदी किनारमा बस्दै आएकी भोजकला पाण्डेको अहिलेसम्म ५ कट्ठा जमिन खोलामा परिणत भइसक्यो । बर्सेनी नदि कटानका कारण उनले घर नै सार्नु पर्यो ।
उनले रातोपाटीसँग भनिन्— “म २७ वर्षदेखि यहि नदी किनारमा बस्दै आएकी छु, वर्षायाम सुरु भएसँगै म रातमा राम्रोसँग निदाउदिन राति वाढी आएर घर खेत नै लैजान्छ की भन्ने चिन्ताले मलाई पिरोल्छ ।”
साँझ घर विहान खोला
केहि वर्षअघि नदी किनारमै घर भएका बाबुराम पाण्डेको घर पनि राति आएको बाढीले बगाएर कहाँ पुर्यायो थाहा छैन । बाबुराम भन्छन् “मैले जस्तै पीडा अरुले भोग्न नपरोस्, साँझ घर विहान खोला ।”
भोजकला र बाबुराम मात्र होइन यस गाउँका हरी पाण्डे, प्रेमा दर्जी, धर्मराज पाण्डे, कोहलसिंह टण्डन, टोपबहादुर थापा, टिकलाल खनाल सबैको पीडा उस्तै छ ।
अझ सबै भन्दा दर्दनाक पीडा पश्चिम जिनुवा निवासी कोहलसिँह टण्डनको छ । २०५५ सालमा आएको बाढीका कारण उनकी श्रीमतीसहित १ छोरा र २ छोरी बाढीको भेलले बगाउदा ज्यान गयो ।
उनी गहभरी आँसु झार्दैै भन्छन् “परिवार गुमाउनुको पीडा कस्तो हुन्छ मैले महसुश गरेको छु, मेरो भगवानसँग प्रार्थना छ यस्तो यो गाउँमा बाढीका कारण कसैले परिवार गुमाउन नपरोस् ।”
एक विगाहा जमिन खोलामा परिणत
सो बस्तीमा गत वर्ष साउन ११ गते परेको डुबानका कारण ३ वटा बाख्रा बगाउनुका साथै खेतमा लगाएको धानखेतीसहित लाखौको क्षति भएको थियो । वर्सेनि नदी कटानका कारण गाउँको करिब १ विगाहा जमिन खोलामा परिणत भइसकेको छ ।
वर्षौदेखि धिरी नदीमा पुल नहुँदा आवतजावतमा सास्ती भोगेका स्थानीय यस वर्ष भने पुल निर्माण भएसँगै हर्षित भएका थिए तर पुल निर्माणसँग नदी कटान पनि रोकिन्छ कि भन्ने ठूलो आशा बोकेका स्थानीय पुल निर्माणसँगै नदि किनारमा गरेको तटबन्ध पटक पटक बाढीले भत्काउदा झन जोखिम बढेको बताएका छन् ।
“पुल बने जस्तै नदी कटानको समस्या छिटै समाधान भईदिए हामी खुसी हुने थियो तर यसको समाधान छिटो गरीएन भने गाउँ नै डुबानमा पर्नेभयो” हरि पाण्डे भन्छन् ।
नदी कटान रोक्न प्रयास भने नभएका होइनन्, स्थानीय चुनावअघि मात्र करिब ६ लाख खर्च गरी बीचवाट नदी गहिराएर लैजाने प्रयास भए पनि त्यो सफल हुन सकेन । नदीको पूर्वपट्टी तटबन्ध गरीए पनि त्यो बाढीको भेल रोक्न प्रयाप्त नभएको स्थानीयको भनाई छ । नदिकोबीच भाग अग्लो हँुदै बस्तीतिर नै नदी सोझाएको देख्दा स्थानीय झन् त्रसित भएका छन् ।
वाणगंगा नगरपालिका प्रमुख मंगलप्रसाद थारुले तटबन्धको विषयमा नगरपालिका गम्भीर रहेको हुँदा सो ठाउँको छिट्टै अनुगमन गरी समस्या समाधान गरीने रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण