बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लेखा समितिले माग्यो फेक रेस्क्यू धन्दा, मेलम्ची खानेपानी र फास्ट ट्रयाकको सम्पूर्ण कागजात

बिहीबार, १२ भदौ २०७६, १६ : ११
बिहीबार, १२ भदौ २०७६

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले फेक रेस्क्यूबारे अनुसन्धान गर्ने भएको छ । समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विगत ५ वर्ष यताका फेक रेस्क्यु सम्बन्धी उजुरी सहितका कागजात बुझाउन पत्राचार गरेको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए । समितिले १ साता अघि मन्त्रालयलाई पत्राचार गरेको हो । आवश्यक कागजात आएपनि त्यसको अध्ययन गरेर सम्बन्धित मन्त्रालयलाई छलफलका लागि बोलाउने उनले बताए ।

नेपालमा पछिल्लो समय फेक रेस्क्यूको अपराध बढेपछि संसदीय समितिले यसबारेमा चासो दिएको हो । पर्यटनको क्षेत्रमा बदनाम अपराधको रुपमा रहेको फेक रेस्क्युको घटनामा हेलिकोप्टर व्यवसायी, ट्राभल एजेन्सी तथा अस्पतालहरुको संलग्नता रहने गरेको छ ।

पदयात्रा तथा हिमाल आरोहणका लागि जाने पर्यटकलाई बिरामी बनाई फर्जी उद्धार गर्ने कम्पनी र अस्पतालहरुमाथि छानविन गर्न अघिल्लो वर्ष संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्रालयले सहसचिव घनश्याम उपाध्यायको नेतृत्वमा ५ सदस्यीय छानविन टोली बनाएको थियो ।

अघिल्लो वर्ष साउनमा सो समितिले छानविन गरी तत्कालीन मन्त्री रवीन्द्र अधिकारीलाई यसबारे प्रतिवेदन बुझाएको थियो । छानविनका क्रममा ३ वटा हेलिकोप्टर व्यवसायी, ५ वटा वैदेशिक मुद्राको कारोवार गर्ने कम्पनी र १० वटा अस्पतालको संलग्नता भेटिएको थियो । 

मेलम्ची र फास्ट ट्रयाकबारे पनि समितिले छलफल गर्ने

यस्तै सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी आयोजनाको सुरुदेखि हालसम्मका सम्पूर्ण कागजात मगाएर अध्ययन गरिरहेको छ । आउदो मंगलबार आयोजना प्रमुख र मन्त्रालयका सचिवलाई आयोजनाको काम रोकिएको, लागत बढेको लगायतका विषयमा छलफलका लागि बोलाइएको छ ।

साथै समितिले नेपाली सेनाले बनाइरहेको काठमाडौं तराई जोड्ने दु्रतमार्ग फास्ट ट्रयाक आयोजनाको पनि सम्पूर्ण कागजात मागेको छ । कागजात प्राप्त भएपछि अध्ययन गरेर समितिले यो आयोजनाको बारेमा समेत छलफल गर्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप