केन्द्रीय संस्करण

व्यङ्ग्य : जिन्दावाद दशैँ !

person explore access_timeअसोज १२, २०७६ chat_bubble_outline0

पुस्तौँ पुस्तादेखि सभ्य, अपसभ्य, भव्य, नव्य, खुसी हुँदै, दुःखी बन्दै चाउरिँदै मस्याउरिँदै हव्यकव्य भकुर्दै मान्दै आएको दशैँलाई मुर्दावाद त सपनामा पनि नचिताउने मान्छे हो म । त्यसैले यतिखेर  जिन्दावादको पूmलपाती चढाएर जय दशैँ भनिरहेको छु ।

सानै बेलामा सुनेको दशैँको उखान ‘दशैँ आयो, खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला, हट् पापी छुट्टै बसौँला’ हो । यो उखानले हातका औँलाहरूलाई बिम्ब बनाएर समाजको वर्गीय भेद र असमानतालाई उजागर गरेको छ । त्यसैले त दशैँको आगमनलाई उत्साहको चाड, नयाँनयाँ परिकारहरू खाने रमाइलो बहार, अभाव र विपन्नताले चिन्तित भएर कसरी मनाउँन सकिएला भन्ने चिन्ताको पहाड, चोरी डकैती पनि गर्न तयार हुने बदमास मनोदशाको गलत लाड र अनि काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यबाट पर रहने दार्शनिक चिन्तनका भाव एकमुष्ट सपाट प्रस्तुति भएको  देखिन्छ । दशैँ सम्बन्धमा चलेका केही उखानलाई हेरेर तिनको सूत्रात्मक सूक्तिभित्र पस्दा मलाई असाध्यै रमाइलो लाग्छ ।
     

  जस्तैः   दशैँका कुरा गर न सम्धी खाएको झैँ होला । दशैँ के लाग्यो, दशा जाग्यो । दशैँको मासु र बेहुलीको आँसु । दशैँखाने खसी, जोत्ने गोरु र बाबुआमा भनेका उस्तै हुन् । दशैँमा धनीका छोराछोरी हाँसीखुसी, गरिबका छोराछोरी रुवाबासी । दशैँका कामीलाई र जात्राका धामीलाई जिस्क्याउन हुँदैन । दशैँको टीका र जमरा ।

दशैँपछिको टीको खोप्रो पछाडि । दशैँको बेलामा एक पटक भुइँ छाड्नुपर्छ । दशैँको टीका लगाउने कान्छाको घरमा, तिहारको टीका जेठाको घरमा । दशैँको सोच अगाडि नै गर्नुपर्छ । यी विभिन्न दशैँ केन्द्रित उखानभित्र दशैँको बहुपक्षीय मानव दशाको तस्बिर अभिधा, लक्षण र व्यञ्जना अर्थ राखेर कोरिएका छन् । 

हामीले मनाउने चाडहरूमध्ये सबैभन्दा खचर््िालो चाड भनेर यसलाई आरोप लागेको छ । हुन त पन्ध्र दिनसम्म मनाइने यो पर्व शक्ति आराधनाको पुण्य याम हो । पैसाशास्त्रीहरूको भनाइअनुसार दशैँभरमा नानाको बाना मिलाउन चिची पापा क्वाम गर्दा चाचा एक खरब झ्वाम हुन्छ भन्ने  तथ्याङ्क दिएका छन् । नेपालमा सरकारी कर्मचारीले मात्र दशैँ खर्चका नाममा २१ अर्ब रुपयाँ पाउँछन् ।  सबै निकायका गरी झन्डै पौने पाँच लाख कर्मचारी रहेछन् नेपालमा ।

केन्द्रीय तथ्याङ्क विभागको आकडामा मुलुकभर नौ लाख बाइस हजार उद्योगधन्दामा काम गर्नेहरू चौतीस लाख रहेछन् । जसका लागि दशैँखर्च पचास अर्ब लाग्छ । हाम्रो संस्कृति परम्परालाई उत्पीडक रूपमा उभ्याउने वर्ग प्रायः ठूलाबडा नै हुन् । किनकि ठूलाबडा नै रोलमोडल भएको हुँदा साना मानिसहरूले अनुकरण गर्न परिगयो अनि परम्परादेखि चल्दै आएका पर्व नै गर्वबाट स्खलित हुँदैनन् त ? यहाँ मान्छेहरू पदीय र पुँजीको कोणबाट हेर्दा त ठूलो देखिए तर असल आचरण, मितव्ययी बानी, सादा र सात्विक जीवन, तामसी भोजनको कटौती किन हुन सक्दैन ? जो ठालू उही बाघभालु, जो गाउँको मुखिया उही बाटो हगुवा बनेपछि कसैको बाउको केही पिताम चल्दो रहेनछ । यो फेसनेबल जमानामा पचासतिर झ्यालढोका भएका टाइटभन्दा महा टाइट पाइन्ट, छोटा छोटा परिधान डिजाइन डिजाइनका जुत्ता, क्याप, सडक बढार्ने खाले आँङ नाङ्गै र छाती छ्याङ्गै हने लहेङ्गा केके हो केके नाधारी महँगा लुगाले कान्छी नानी अर्थात् लित्का मासेको देख्दा खित्का छोडेर जिब्रो टोक्न पर्ने थिति आइसक्यो गाँठे ।

किशोर र युवा उमेरका छोराछोरी, नातिनीनाति स्मार्टफोनमा झुन्डिएका आँखा घोच्ने दृश्यले मुटु नै टोक्छ बा ? अनि विभिन्न पर्व उत्सव बिहेबर्तनमा चलेका गहना र परिधान प्रदर्शन प्रतियोगिताले बाल, स्त्री, प्रेमिका हठहरूबाट पीडित राष्ट्रसेवक, देश निर्देशक शीर्ष, मझौला र सक्रिय नायक, सबैको आँखा द्रव्यलुटको कम्पिडिसनमा गएकै कारण आज आदर्श भ्वाँङ परेको हो । सुशासनलाई कुशासनले डल्याएर पारदर्शिताको नाममा नक्कली बिलका चिल र गिद्ध  घुमेका हुन् । 

 मूलतः चाडको अन्तरलयलाई विपरीत दिशातिर हाँकेर समाजका बुझक्कड र शिक्षितमा दरिएका जमात, बुर्जुवा र नव धनाढ्यले संस्कार, पर्व, उत्सव र दैनन्दिनीलाई विकारका भारी कुर्कुस्त बोकाइरहेका छन् । अग्रगमनको ढोल कान फुट्ने गरी बजाएर पश्चगमनको कथा मञ्चन गर्ने भुइँफुट्टा वर्गलाई मुर्दावाद लाउन नसक्नेले दशैँ— जिन्दावाद ! कसरी भन्न सक्छ ? देशविदेशबाट चाडका लागि झिकाइएका मदिराका नदी, भेडाच्याङ्ग्रा, बोकाबाख्रा, राँगाभैँसी र नाना भाँती तामसी भोजन र पेय पदाथर्ले संस्कृतिगानलाई गेय बनाउलान् भनेर नसोचे हुने भइसक्यो ।

भावनामा आदर्शको पुनर्ताजकीकरण, बीजारोपण र विनिधान गरेर मान्छेभित्रका गलत दम्भ, अहं, ढोँगढर्रा चकनाचुर पारी ‘पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति’ लाई गलहत्ती लगाउने चरम भोगवादी विलासी मानसिकतामा आज गरमभन्दा गरम क्रान्ति चाहिएको छ । अघिपछि भगवान् वा ईश्वर छैन भनेर ललकार्ने कथित प्रगतिशील गफाडीहरूका दशैँको मुखमा देखिएको पशुपक्षी बलिभक्ति हाम्रा उत्प्रेरक पर्व तथा संस्कृतिमाथिको डेङ्गु हो, जनै खटिरा हो र एड्स वा नयाँ क्यान्सर हो । त्यसै  कारण सबैले ‘जय दशैँ’ भन्न यी विसङ्गति हटाउने प्रण गराँै ! जिन्दावाद दशैँ ! 
                 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...