केन्द्रीय संस्करण
दसैँ विशेष

वृद्धाश्रमको दसैँ

person explore access_timeअसोज २२, २०७६ chat_bubble_outline0
माया श्रेष्ठ

रातोपाटी

दिनभरि घरि सिमसिम पानी पर्ने घरि घाम लाग्ने भइरहेको थियो असोज २ गते बिहीबार काठमाडौँमा । हिन्दुहरूको महान पर्व बडादसैँ आउने दिन नजिकिइरहेको थियो । बिहीबार दिउँसो पशुपति मन्दिर परिषरमा रहेको समाज कल्याण केन्द्र वृद्धाश्रममा बस्ने आमा अनि बाबाहरूलाई बडादसैँ आएको अनुभूति भइरहेको छ भन्ने कुरा एकआपसमा उनीहरूले गरेको कुराकानीबाट थाहा पाउन सकिन्थ्यो । 

बडादसैँ नजिकिँदै छ भन्ने आभास हुनुको कारण थियो आश्रमभित्र वृद्ध आमा बाबालाई अघिल्ला अघिल्ला बडादसैँमा जस्तो नयाँ लुगा सिलाउने काम भइरहेको थियो । वृद्ध बाबाहरूका लागि सर्ट पाइन्ट, सर्ट पाइन्ट नलगाउनेलाई दौरासुरुवाल आमाहरूका लागि चोलो र पेटिकोट सिलाउने काम भइरहेको थियो । लुगा सिलाइरहेको ठाउँमा बोल्न नसक्ने एक जना वृद्धा रमाउँदै नाच्दै मेरो लागि नयाँ लुगा सिलाइँदै छ भनेर हातको इसाराले देखाइरहेकी थिइन् । ती वृद्ध आमाले हातको इसाराले नै नयाँ लुगा लगाउने अनि टीका लगाउने भन्दै निधारमा देखाउँदै थिइन् ।

घर बस्ने वृद्ध आमाबाबा धन कमाउन अनि जागिरको सिलसिलामा स्वदेश अनि विदेश गएका छोराछोरी दसैँमा आउँछन् भनेर बाटो हेरेर बस्छन् । अध्ययन गर्न गएका विवाह गरेर पराइको घरमा गएका छोरी नातिनतिना दसैँमा घर भन्ने आशमा  रमाएर दिन गनेर बस्छन् । तर पशुपति मन्दिर परिषरमा रहेको वृद्धा आश्रममा बस्ने वृद्ध आमाबाबालाई बडादसैँमा आफन्त टीका थाप्न आशीर्वाद ग्रहण गर्न आउँछन् भन्ने आश कसैलाई पनि लाग्दैन ।

 युवा अवस्था हुँदा घरपरिवार साथीसँग मनाएको बडादसैँका यादहरू मात्रै अतित बनेर आउँछ ।

 त्यस दिन घाम लाग्ने सिमसिम पानी पर्ने भएकाले  घाम लाग्यो भन्दै आश्रमका ७ जना वृद्ध आमाहरू हातमा बत्ति कात्ने कपास लिएर कोठा बाहिर निस्किए । यस्तै ढोका बाहिर बसेर कपासको बत्ती कातिरहेकी थिइन् ८९ वर्षीया वृद्धा दोलखाकी पम्फा कार्की । उनी वृद्धाश्रम बस्न थालेको २० वर्ष भयो । बुढेसकाल लाग्दा साहारा दिने कोही पनि नहुँदा दसैँ, तिहार र तीज नआइदिए पनि हुन्थ्यो जस्तो लाग्छ उनलाई । 

‘जब दसैँ आउँछ तब आमा दिदी बहिनीसँगै दसैँ मनाएको अनि मामा घरमा टीका लगाउन गएको  यादहरूले सताउँछ’, उनले भनिन्, ‘दसैँ जतिजति नजिक आउँछ, त्यति त्यति मन खुसी हुने दिन थिए, अहिले त्यस्ता दिन गए ।’

गाउँमा हुँदा दसैँ आउनुभन्दा अगाडि साथीहरू मिलेर बाबिया बाबिया भएको खर काट्न सबै खरबारी चाहारर्ने गरेको विगतका यादहरू उनले मुसुक्क हास्दै सुनाइन् । ‘बाबियाको बटारेर पोयापोया बनाएर पिङका लठ्ठा बनाएर चारवटा बासको खाम गाढेर फूलपातीको दिनदेखि पिङ खेल्न सुरु गथ्र्यौं, अल्ली पाका मान्छेहरूले चर्खे पिङ बनाउँथे,’ पम्फाले भनिन् ।

अघिपछि जस्तो जे खाए पनि दसैँको दिन भने आमाले मीठा मीठा खानेकुराहरू पकाएर खान दिएको याद आँखामा वरिपरि घुमिरहने उनले बताइन् । दाजुभाइ नभएकाले आमालाई पालेर विवाह नगरीकन माइतमा बसेकी पम्फाका आमा र सानी बहिनी मृत्यु भयो । त्यसपछाडि शरीर पाल्नका लागि उनी काम खाज्दै काठमाडौँ आएकी थिइन् । शरीरले काम गर्न सक्ने बेलासम्म काम गरेर खाइन्, जब काम गर्न नसक्ने भएपछि आफन्तमार्फत आश्रममा आएको उनले बताइन् । दसैँमा आफ्ना आफन्तहरूको यादले सताउने भए पनि विगतका यादहरूलाई सम्झाना गर्दै बस्नुको विकल्प नरहेको उनले बताइन् । 

२१ वर्षअघिदेखि  वृद्धाश्रममा बस्दै आएकी लक्ष्मीदेवी थापाले विगतमा जस्तोे दसैँ रमाइलो नहुने बताइन् । ‘बडादसैँको अवसरमा पूजा गरेर ६ वटा बोकालाई बलि दिने गरिथ्यो, विगत ५ वर्षयता पूजा गरेर बलि दिन छाडियो ।’ उनले भनिन् ।

 अघिपछि मासु खान नदिए पनि दसैँको बेलामा मासु खानेहरूलाई दिनुपर्ने उनले बताइन् । दसैँको दिन यहाँका कर्मचारी र वृद्धावृद्धहरूले एकआपसमा टीका तथा अशीर्वाद ग्रहण गर्ने गरेको उनले बताइन् । आश्रममा कार्यरत कर्मचारीहरूले टीकाको दिन एकजोर नयाँ लुगा अनि टीका लगाएर दस रुपैयाँ पैसा दिने गरेको छ । ‘हामीसँग पैसा भएको त्यही पैसा पण्डितलाई  दिन्छौँ’ उनले भनिन्, ‘कर्मचारीलाई टीका लगाएर कोही कोहीले पैसा पनि दिन्छन्, हामी पैसा नभएकाले कर्मचारीलाई रित्तै हात टीका लगाइदिन्छौँ ।’

यस्तै दैलोको आढेस लागेर कक्रक्क परेर बसिरहेकी थिइन् पार्वती सापकोटा । धेरै वर्षदेखि दसैँ आएको गएको आफूलाई मतलब नलाग्ने उनले बताइन् । ‘दसैँलाई सम्झियो भने विगतको याद आउँछ, सबैले जमरा राख्ने दिन आयो भनेर सुनाउँदा किन किन मन भारी हुन्छ’, पार्वतीले भनिन् ।

वृद्ध पार्वतीलाई दसैँको कुराभन्दा भेट्न आउनेहरूले दिएको खानेकुरा, पैसा र लुगा नदिएको गुनासो गरिन् । पहिला पहिला खानेकुरा, पैसा र लुगा लिएर कोठाकोठामा आउँथे, अहिले आउँदैन,’ उनले भनिन्, ‘सबै उतै राख्छन्, कहीलेकाहीँ मात्रै दिन्छन् अरूले दिएका खानेकुरा,’ आफन्त नभएकारण जसले पनि हेप्ने गरेको उनले दुःखेसो पोखिन् । 

पहिला पहिला जस्तो दसैँमा खसीबोखा नकाट्ने हुँदा मासु खान मन लागेर पनि खान नपाएको उनले बताइन् । पहिला दसैँमा बाकोको मासु खाएको, पिङ खेल्ने टीका थाप्न घरघर गाउँका आफन्तसँग डुल्ने गरेको उनले बताइन् । 

आश्रमको एक तलामाथि खाटमा बसेर डोल्पाका ८२ वर्षीय शेरबहादुर रोकायाले पैसा गनिरहेका थिए । उनले पाँच पाँचका नोट गरेर दुई सय रुपैयाँ पु¥याए । १३ महिनादेखि वृद्धाश्रममा बस्दै आएको उनले बताए । २०२० सालमा श्रीमतीको मृत्यु भयो । त्यस पछाडि ज्यामी काम गरेर जीविकोपार्जन गर्दै आएका थिए ।

वृद्धावस्थामा साहारा दिने आफ्ना सन्तान नभए पछाडि अरू दाजु र भाइका छोरालाई दुःख नदिएर आश्रममा आएका उनले बताए । घरमा हुँदा खसीबोखा काटेर दसैँ नमनए पनि भाइ र दाइका छोराछोरी नातिनातिना गाउँघरका अन्य आफन्तहरू दसैँमा टीका थाप्न आफ्नामा आउने गरेको अघिल्ला सालहरूको दसैँको यादहरू सुनाएका थिए । अबका दसैँहरू वृद्धाश्रम सबै वृद्धावृद्ध साथीहरूसँग मनाउने उनले बताए ।

आश्रमले बडादसैँको दिन वृद्धवृद्धालाई एक एक जोर नयाँ लुगा दिने गरेको समाज कल्याण केन्द्र वृद्धाश्रमका निमित्त प्रमुख कृष्णराज कर्णेलले बताए । कर्मचारी र वृद्ध आमा र बाबाले एकआपसमा टीका जमरासहित आशीर्वाद ग्रहण गर्ने गरेको उनले बताए । विगत ५ वर्षदेखि आश्रममा माछामासु पाक्न छाडेको उनले बताए । माछामासु खानेभन्दा नखाने धेरै वृद्धवद्धा आमा बाबा भएकाले बन्द गरिएको हो, पशुपतिनाथ मन्दिरको परिसरको आश्रममा काटमार गर्दा खासै राम्रो हुँदैन’, उनले भने ।

दसैँमा माछामासुको साटो पनिर, च्याउ, दूध, दही र फलफूल बाआमालाई खुवाउने गरेको उनले बताए । दसैँको दिन ११, १२ जना वृद्धवृद्धा आमा बालाई आफन्त पर्नेहरूले लिन आउने उनले बताए । ‘आफन्तकोमा जाने वृद्धवद्धाहरू २, ३ सम्म बस्छन्, कोही आफन्तले दसैँको दिन साँझ नै आश्रममा पुर्याउन आउँछन्’, उनले भने ।

सो वृद्धाश्रममा १ सय ९०  वृद्धवृद्धा छन् । जसमध्ये ८५ वृद्धा छन् भने ६५ वृद्ध छन् । यस्तै अशक्त वृद्धावृद्धा ४० जना छन् ।

 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...