केन्द्रीय संस्करण
प्रदेश

छपियाको माछा मोह : पाल्न सिक्ने, खाने अनि रमाइलो गर्ने यस्तो छ काइदा

person explore access_timeअसोज २८, २०७६ chat_bubble_outline0

बुटवल । रूपन्देहीको छपियामा माछा व्यापार पुरानो हो । माछा उत्पादन गरेर नै चिनिएको ठाउँ हो । भैरहवादेखि २० किलो मिटर र प्रदेशको राजधानी बुटवलबाट २५ किलोमिटर दुरीमा रहेको रूपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ४ छपिया, जहाँ माछा पालनमा किसान मस्त छन् । हरेक घरमा माछा पाल्नका लागि पोखरी छन् । अन्य व्यावसायीहरुले पनि ठूलाठूला लगानीमा माछा फर्म खुलेका छन् । स्थानीय किसानले  माछा उत्पादन गर्ने मात्र होइन खान, पाल्न सिकाउने, अनि रमाइलो गर्नेका लागि रेस्टुराँदेखि डुङ्गा चढ्ने र स्विमिङ गर्नेसम्मको व्यवस्था मिलाएका छन् ।

माछा पालनका लागि उपयुक्त तापक्रम, उपयुक्त पानी अनि माटोलगायतका कारणले रूपन्देहीको छपियामा माछा पालन राम्रो भएको हो । केही वर्षदेखी छपिया माछा पालनसँगै पर्यटक भित्र्याउने नयाँ रणनीति ल्याएको छ । मत्स्य पर्यटकहरुलाई लक्षित गरेर निर्माण गरिएको यस्तो प्रकृतिको रिसोर्टबाट राम्रो आम्दानी गर्न किसानहरु सफल भएका छन् । भने माछा पाल्नको सीप पनि सिकाउने भएपछि धेरैको ध्यान केन्द्रित गरेको छ । स्थानीय युवा रामनारायण चौधरीले भन्छन्, ‘माछाको व्यापार त पुरानै धन्दा भयो । हामी त्योसँगै नयाँ नयाँ काम गरेर पर्यटक समेत भित्र्याउन खोजेका छौँ । छपियामा सरकारले पनि साथ लिएको छ । पहिला माछा जोन कार्यक्रममार्फत साथ दिएको थियो । हालै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मत्स्य  सुपर जोन) मार्फत किसानलाई पोखरी खन्न, पोखरी पुनर्निर्माण गर्ने अनुदान  दिने गरेको छ । प्राविधिक  सहयोग र बजारका लागि सहयोग गरेको मत्स्य  सुपर जोन भैरहवाका अधिकृत रमेश जैसवालले रातोपाटीलाई बताए ।

रमाइलो रेस्टुराँ

बुटवल, भैरहवा, तानसेन, चितवनको नारायणगढ, हुँदै काठमाडौँ र पोखरामा पनि छपियाको माछा व्यापर राम्रौसँगै फस्टाएको छ । अहिले माछा बिक्री गर्नेसँगै पर्यटन आकर्षण पनि बनाउनको लागि यहाँ आकर्षणक माछाका परिकार पाउने रेस्टुराँ खोलिएका छन् भने माछा पाल्न सीप पनि दिने गर्न थालिएको छ ।

छपिया माछा उत्पादन मात्र होइन थरीथरीका परिकारका लागि प्रसिद्ध बनिरहेको छ । यहाँ गाउँभरि माछा रेस्टुराँ छन् । रेस्टुराँमा माछाका परिकार खान दिनहुँ भीड लाग्छ । यहाँका बासिन्दा ‘माछा पर्यटन’ प्रवद्र्धनमा सक्रिय छन् । छपियामा जिल्लाका चारैतर्फबाट पुग्न सकिन्छ । त्यसैले यहाँका पोखरी डिलमा करोडौँ लगानीमा आधा दर्जन रिसोर्ट सञ्चालन आइसकेका छन् । केही सञ्चालनको तयारीमा छन् ।

पोखरीको बीचमा रिसोर्ट सञ्चालन गरिएकाले आकर्षण बढेको हो । दैनिक रूपमा माछाको अवलोकन र स्वाद लिनका लागि यहाँ दैनिक दुई सयको सङ्ख्यामा बाहिरी व्यक्ति आउने गरेको स्थानीय बताउँछन् । छपिया परम्परादेखि माछा उत्पादन पकेट क्षेत्रका रूपमा मानिन्छ । अहिले यहाँका व्यवसायीले रिसोर्ट, रेस्टुराँ र होटल सञ्चालन गरेर पर्यटक आकर्षित गरिरहेका छन् । भैरहवा, बुटवल, लुम्बिनीबाट सजिलै पुग्न सकिन्छ । त्यसैले यहाँ आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन् । सञ्चालनमा आएको रिसोर्टमध्ये छपिया फिस भिलेज रिसोर्ट एक हो । परम्परागत रूपमा माछा पाल्दै आएका युवा कृषि उद्यमी गौरव गौतमले करिब २ वर्षदेखि रिसोर्ट सञ्चालन गर्दै आएका हुन् । सियारी गाउँपालिका ४ शिवपुरमा उनले सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा ल्याएका छन् । आदित्य एकीकृत कृषि फर्मसमेत सञ्चालन गरेका उनले छपिया फिस रिसोर्टको नामबाट माछाका विभिन्न परिकार खुवाउने गरी रिसोर्ट सञ्चालनमा ल्याएको जानकारी दिए । सञ्चालक गौतमका अनुसार ५ बिघा क्षेत्रफलमा माछा  पोखरीसमेत निर्माण  गरिएको छ । माछाको विशेष परिकारहरु निर्माण गर्ने उक्त रिसोर्टमा माछाको झोल, फ्राई, माछाको सेकुवा, स्टिम बोयल, माछा तावा, माछाको मम, माछा चिल्ली, बोनलेस, फिसबल, फिस फिङ्गर, माछाको छोइलालगायत डेढ दर्जन परिकार उपलब्ध छन् ।

करिब १ करोड २२ लाख रूपैयाँ र जग्गासमेत गरी लगानी गरेका गौतमले १० जनालाई रोजगारीसमेत दिएका छन् ।  वि.स. २०४७ देखि माछा पालन गर्दै आएका उनले माछालाई विविधीकरण गरी मत्स्य पर्यटक तान्नका लागि माछाको रिसोर्ट सञ्चालनमा ल्याएको जानकारी दिए । प्रायः माछाको परिकार खान, पोखरीमा बल्छी हान्नका लागि बिदाको दिनमा अली बढी मात्रामा पर्यटकहरु आउने गरको उनको भनाइ रहेको छ । बिदाको दिनमा ८० देखि १ सयसम्म मानिस आउने गरेको गौतमको भनाइ छ ।

माछाको पाल्ने सीप सिकाउने ठाउँ

छपियामा सबैजसो घरमा माछा पोखरी छन् । माछापालनलाई किसानले रोजगारीका रूपमा लिने गरेका छन् । छपियामा मात्रै सात सय हाराहारीमा किसानहरु माछापालनमा संलग्न छन् । माछा पालनको व्यावहारिक र आधारभूत सीपयुक्त  शिक्षा लिन मात्र नभई मनोरञ्जन लिनका लागि व्यक्ति, समूह, सङ्घ संस्थाका व्यक्ति, शैक्षिक संस्था, कलाकार र मन्त्रीहरु छपियासम्म पुग्ने गर्छन् ।

१८ महिने कृषि बाली विज्ञानको कार्यक्रम सञ्चालन गर्दै आएको बुटवलको अक्सब्रिज इन्टरनेसनल एकेडेमीका निर्देशक डीपी खनालले विद्यार्थीको प्रयोगात्मक सिकाइका लागि छपियाका माछा पोखरी स्रोत केन्द्र भएको बताए । कक्षा कोठामा अध्ययन भएको सैद्धान्तिक पक्षलाई स्पष्ट गर्नका लागि छपियाका माछा पालक कृषक सहयोगी बनेको खनालको भनाइ छ । सैद्धान्तिक र व्यावहारिक सीपमा धेरै अन्तर  छ, खनालले भने, ‘व्यावहारिक सीप विद्यार्थी सामु  पुर्याउनका लागि छपियाका माछा पोखरी हामीका लागि सिकाइका केन्द्र बनेका छन् । अन्य प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीसँगै स्थानीय किसानहरु पनि आउने गरेका छन् । उनीहरु छपिया रहेका माछा फर्महरुसँग माछा पालनको सीप सिक्ने गरेका छन् ।

सहरतिर छपियामा माछाको छाप

बुटवलमा भैरहवा लगायत प्रदेशका विभिन्न सहरमा छपियाको माछा भनेपछि उपभोक्ताहरुले खोजी खोजी खरिद गर्ने गरेका छन् । अझै उनीहरु जिउँदो माछा किन्ने रहर धेरैलाई हुन्छ । त्यो रहरलाई  किसानले पूरा गर्ने प्रयास गरेका छन् । गाउँमै जिउँदो माछा बिक्री केन्द्र राख्नेदेखि  पसलसम्म जिउँदो माछा पुर्याइदिने व्यवस्था गरेका छन् । भैरहवा र बुटवलमा तीन दर्जनभन्दा बढी जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा छन् ।

सहकारीले अक्सिजन प्लान्टसहितको गाडी खरिद गरी सञ्चालनमा ल्याएको छ । जसबाट काठमाडौँसम्म पनि माछा बिक्रीका लागि ज्यूउँदो माछा लैजान सकेको सहकारीले जानएको छ । बुटवलको मिलनचोक  तीनकुने माछा  कुखुरा र व्यापर गर्ने व्यापारी राम चौधरीले दैनिक जिउँदो माछा खरिद गर्ने उपभोक्ताहरुको सङ्ख्या वृद्धि भएको बताए ।

नेपाल भारत सीमाको भारितीय बजारदेखि लिएर भारतको गोरखपुरसम्म यहाँका माछा बिक्री हुन्छन् । भारतीय व्यापारीले प्रत्यक्ष रूपमा किनेर लैजानेभन्दा पनि व्यापारीहरुले त्यहाँसम्म छपियाको माछा पुर्याउने गर्दछन् ।

बजारमा छपियाको माछाले ब्रान्ड बनाइसकेको हुँदा व्यापारीहरु जुनसुकै ठाउँको माछालाई छपियाको माछा भन्दै बिक्री गरिरहेका हुन्छन् । जलदेवी मस्य उत्पादन सहकारीका अध्यक्ष गणेशबहादुर शाहीले दैनिक रूपम ५, ६ क्विन्टल माछा सुनौली नाकासम्म पुर्याइदिनका लागि भारतीय एक व्यापारीले अनुरोध गरेको बताए । प्रदेश सरकारले पनि छपियाको माछ  पालनको लागि विभिन्न सहयोग गर्ने योजना राखेको छ । कृषि कार्यालय विगतदेखि पोखरी खन्नका लागि अनुदान दिनेदेखि प्राविधिक सहयोग गर्दै आएको थियो ।  

सहकारीको लगानी माछा पालनमा

प्रदेश पाँचमा सहकारी एकपछि अर्को गर्ने प्रतिस्पर्धामा छन् । उनीहरुले लगानी पनि भिन्न भिन्न क्षेत्रमा गर्दै छन् । रूपन्देहीमा छपियामा माछा पालन सहकारीको लगानी गरेका छन् ।

व्यवसायीलाई एकजुट बनाएर आम्दानीमा वृद्धि गर्न जलदेवी मत्स्य उत्पादन सहकारी संस्था सञ्चालनमा ल्याइएको छ । जलदेवी मत्स्य उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष गणेशबहादुर शाहीले किसानका लागि माछा पालनमा चाहिने औषधि, दाना, बरफ उत्पादनदेखि ढुवानी सेवा दिने गरेको बताउँछन् । सहकारीले सिल छापसहितको माछा बजारमा ल्याउने तयारी गरेको छ । सहकारी संस्थाका अध्यक्ष गणेशबहादुर शाहीले निकट भविष्यमा प्याकिङसहित माछा बजारमा ल्याउने तयारी गरिएको जानकारी दिए । बजारमा भारतीय माछालाई छपियाको माछा भन्दै बिक्री गर्ने क्रमलाई रोक्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मत्स्य सुपर जोन) को सहकार्यमा माछामा ट्याग लगाउन लागिएको हो ।

वि.स. २०६५ सालमा स्थापना भएको सहकारीले हाल किसानहरुले उत्पादन गरेको माछालाई ढुवानी गर्नका लागि सहजता प्रदान गर्न आईसप्लान्ट (बरफ) उत्पादन गर्दै आएको छ । सहकारीले २० लाख रूपैयाँ लागतमा पोस्ट हार्भेस्ट सेन्टरसमेत स्थापना गरको छ । किसानले उत्पादन गरेको माछालाई स्टकमा राखी बिक्री वितरण गर्न सहज लागि पोस्ट हार्वेस्ट सेन्टर स्थापना गरिएको हो । २ सय ७० जना सेयर सदस्यहरु रहेको जलदेवी मत्स्य उत्पादन कृषि सहकारी संस्थाले  प्रतिहेक्टर करिब ६ टन माछा उत्पादन गर्दै आएको छ ।

सहकारीले  बरफ उत्पादनको अलवा दाना भण्डार गृह, स्टक माछा सप्लायर्स केन्द्रसमेत सञ्चालनमा  ल्याएको छ । किसानहरुले मासिक रूपमा २ सय रूपैयादेखि १ हजार रूपैयाँसम्म बचत गर्दै आएका छन् । सहकारीले किसानहरुलाई सस्तो व्याजदरमा लगानी समेत गर्दै आएको छ । सियारी गाउँपालिकामा रहेको जलदेवी मत्स्य उत्पादक कृषि सहकारी संस्था प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मत्स्य जोन) को क्षेत्रमा पर्छ । अन्य सहकारीहरु पनि माछा पालनमा लगानी गर्नको लागनी गर्ने योजनामा रहेका छन् । कुनै सहकारीले माछाको दाना र औषधिमा पनि लगानी गर्ने योजना बनाएका छन् । रूपन्देहीमा बाख्रा पालन, गाईपालन आदिका कृषि सहकारीहरुले  लगानी गरे पनि माछापालनमा भने छपिया क्षेत्रमा  योजना बनाएका छन् ।

छपिया बल्छी हान्ने, डुङ्गा चढ्ने र स्विमिङ गर्ने

तराईको जिल्लामा प्रायः गर्मी नै हुन्छ । रूपन्देहीको छपियामा पछिल्लो समय खोलिएका रिसोर्टमा भैरहवा, बुटवल, पोखरा, कपिलवस्तु, नवलपरासी, चितवन, काठमाडौँबाट समेत पर्यटकहरु आउने गरको छन् ।

पहिला माछा किन्न आउने अहिले खाना मात्रै हाइन बल्छी हान्न, डुगा चढ्न र स्विमिङ गर्ने उद्देश्य आउने गरेको छपियामा किसान तुलाराम चौधरीले बताए ।

माछा पोखरीमा बल्छी हान्ने, डुङ्गा सयर गर्ने र पोखरीको बीचमा निर्माण गरिएको कटेजमा बसेर माछाका परिकार खान पाउने गरी व्यवस्था गरिएको छ । यसका साथै स्विमिङ गर्न, कार्यक्रम सभा समारोह गर्नका लागि मिनी सभाहलको सुविधासमेत छ ।

सामान्य कोठाको १ हजार रूपैयाँ र एसी जडित कोठाको १६ सय रूपैयाँ लिने  गरिएको छ । ४ जनासम्म व्यक्तिहरु डुङ्गा सयर गर्नका लागि प्रतिव्यक्ति १ सय  रूपैयाँ लिने गरिएको छ । यस्तै बल्छी  हान्ने पर्यटकलाई बल्छी हानेर निकाले माछाको तौलको आधारमा पैसा लिने गरेको सञ्चालक गौतमको भनाइ छ ।

होमस्टेसहितका माछापालन केन्द्र र रेस्टुराँ खुलेपछि दैनिक दुई सयभन्दा बढी पर्यटक आइरहेका छन् ।

स्तरवृद्धि मत्स्य जोनबाट सुपर जोन

रूपन्देहीको छपियामा माछा पालन, माछाको व्यापार गर्नको जिल्ला कृषि विकास कार्यालयले रूपन्देहीले सहयोग गर्ने गरेको थियो । जब प्रदेश सरकार बन्यो अनि प्रदेशको कृषि मन्त्रलाय हर्नेथाल्यो ।  अहिले सङ्घीय सरकार अन्तर्गत रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मत्स्य सुपर जोन) को कार्यक्रम अन्तर्गत काम भइरहेको छ । अहिले यो कार्यक्रममा छपियासहति रूपन्देहीका ४ गाउँपालिका  सञ्चालन भइरहेको छ । मत्स्य सुपर जोन अधिकृत रमेश जैसवालका अनुसार ५० हेक्टर पोखरी निमार्णका लागि अहिले बजेट विनियोजन भएको छ । छिपयामा मात्रै वार्षिक ३० करोडको माछा उत्पदान हुन्छ भने सुपर जोन लागू भएका अन्य गाउँपालिका जोड्दा ९० करोडको करोवार हुने गर्छ । छपियाबासीले  १२ सय टन माछा  बिक्री गरेर ३०  करोड रूपयाँ भित्र्याउने गरेका छन् ।  सुपर जोन कार्यक्रमले  एक हेक्टर पोखरी खन्न ५० प्रतिशत अनुदान दिने गर्छ । प्रतिहेक्टर नयाँ पोखरी खन्न ३ लाख रूपैयाँ प्रदान  गर्ने र पुरानालाई मर्मत गर्नको अनुदान दिने गरेको छ । जसबाट किसानहरु आकर्षित भएका छन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...