शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ प्रदेश प्रमुख नियुक्तिसँगै प्रदेश २ मा तरङ्ग, केन्द्र सरकारसँग थप दूरी बढ्ला कि घट्ला ?

बुधबार, २० कात्तिक २०७६, १४ : ३२
बुधबार, २० कात्तिक २०७६

जनकपुर । सङ्घीय सरकारले सातवटै प्रदेशका प्रमुख परिवर्तन गरेपछि प्रदेश नम्बर २ मा त्यसको सोझो असर पर्ने अड्कलबाजी हुन थालेको छ । 

२ नम्बर प्रदेश प्रमुखसँगै सातै प्रदेशका प्रमुख  पदमुक्त गरेर नयाँ प्रदेश प्रमुख नियुक्त भएपछि २ नम्बर प्रदेशका राजनीतिक दल तथा बुद्धिजीवीहरुले यसबारे मिश्रित प्रतिक्रिया दिँदै प्रदेश प्रमुख फेरिँदाको असर सबैभन्दा बढी २ नम्बरमा पर्ने प्रतिक्रिया दिएका छन् ।

 कतिपयले सङ्घीय सरकारले प्रदेश प्रमुखलाई हटाएर सङ्घीयतामाथि नै प्रहार गरेको आरोप लगाएका छन् । 

प्रदेश नम्बर २ को सत्ता साझेदार राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश प्रमुखलाई पदमुक्त गरेको घटनालाई स्वाभाविक भन्ने प्रतिक्रिया दिएको छ । 

 


 

राजपाको जस्तै प्रतिक्रिया कानुनविद्हरुको पनि छ । तर प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले सङ्घीय सरकारले प्रदेश प्रमुखलाई हटाएको विषय सङ्घीयता माथिको प्रत्यक्ष प्रहार भन्दै अब सङ्घ र प्रदेश सरकारबीचको दूरी बढ्ने सङ्केत गरेका छन् ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री यादवले सङ्घीय सरकारले प्रदेश प्रमुखलाई अचानक र अस्वाभाविक ढङ्गले हटाएको प्रतिक्रिया दिए । 

उनले संविधान संशोधनका विषयमा सङ्घीय सरकारलाई सहयोग गरिरहेको समाजवादी पार्टीसँग समन्वय, सहकार्य सङ्घ सरकारले प्रदेश प्रमुख हटाउनुले सङ्घ सरकार नै सङ्घीयतालाई धरापमा पार्न उद्यत बनेको बताए । 

‘नेकपाको सरकारलाई दुई तिहाइ बहुमत पुर्याउन समाजवादी पार्टीले सहयोग गरेको छ तर हाम्रो सहयोगलाई बेवास्ता गरेर गणितीय खेलको सुरुवात गरियो’ मन्त्री यादवले भने, ‘प्रदेश प्रमुख हटाएर राजनीतिक अस्थिरता निम्त्याउने खेल भएको छ ।’

उनले सङ्घीय सरकारको नेतृत्व गरेको नेकपाले सुरुबाटै सङ्घीयतालाई संस्थागत गर्ने काममा सुस्तता गरेको बताए ।

 ‘नेकपा सरकारले सङ्घीयतालाई अप्ठ्यारोमा पार्न सङ्घीयता पक्षधर शक्तिलाई बाइपास गरेर गल्ती गरिरहेको छ’, समाजवादीका नेतासमेत रहेका यादवको भनाइ छ । 

तर प्रदेश सरकारको सत्ता साझेदार अर्को दल राजपा नेपालका प्रवक्ता कृष्ण सिंहले भने नेकपा सरकारले सातवटै प्रदेशमध्ये प्रदेश नम्बर २ का प्रमुखलाई मात्रै हटाएको भए अस्वाभाभिक हुने बताए । ‘सबैलाई हटाएकाले यो स्वाभाभिक हो’, उनको प्रतिक्रिया छ । 

तर समाजवादी पार्टीलाई बेवास्ता गरेर प्रदेश प्रमुख नियुक्त गरेकाले समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सङ्घीय सरकारबाट तत्काल राजीनामा दिनुपर्ने उनको सुझाव छ । 

उनले समाजवादी पार्टीको क्रियाकलापप्रति राजपा नेपालले गम्भीर रूपमा हेरिरहेको टिप्पणी पनि गरे ।

 

बुद्धिजीवी डा. सुरेन्द्र लाभले प्रदेश नम्बर २ को राजनीतिक समीकरण परिवर्तन हुनसक्ने सम्भावना रहेको प्रतिक्रिया दिए । 

उनले सङ्घीय सरकारले सहयात्री समाजवादी पार्टीलाई नसोधी नै प्रदेश प्रमुख नियुक्त गरेको हो भने उपेन्द्र यादवको अपमान भएको टिप्पणी गरे । ‘सत्ता सहयात्री दलका अध्यक्ष उपेन्द्रजीलाई नसोधेरै प्रदेश प्रमुख नियुक्त गरिएको हो भने उपेन्द्र यादव सङ्घीय सरकारबाट हट्नुपर्छ’, उनले समाजवादी सरकारबाट हटेपछि नयाँ समीकरण निर्माण हुनेसमेत बताए । 

तर नागरिक समाज, पत्रकार र समाजिक अभियन्ताहरुले प्रदेश प्रमुखलाई पदमुक्त गरेको विषयलाई राजनीतिक रङ्ग दिएर विरोध गर्नुको अर्थ नभएको टिप्पणी गरेका छन् । 

त्यस्तै प्रदेश नम्बर २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले प्रदेश प्रमुखलाई सङ्घीय सरकारले कानुनसम्मत रूपमा पदमुक्त गरी नियुक्त गरे पनि सङ्घीय सरकार एग्रेसिभ रूपमा अघि बढेको टिप्पणी गरे । 

उनले निवर्तमान प्रमुख रत्नेश्वरलाल कायस्थको व्यवहार अभिभावकत्वपूर्ण तथा मैत्रीपूर्ण रहेकाले कानुन विधेयक प्रमाणीकरणमा कहिल्यै समस्या नभएको स्मरण गरे ।
‘वर्तमान प्रदेश प्रमुख तिलक परियारको काम कर्तव्यमा र भूमिकामा पनि धेरै कुराको भर पर्छ’ उनको भनाइ छ । 

मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले प्रदेश प्रहरी विधेयक, प्रशासनसम्बन्धी विधेयक, लोक सेवासम्बन्धी विधेयक, करार कर्मचारी भर्ना गर्नेसम्बन्धी विधेयकमा निवर्तमान प्रमुख रत्नेश्वरलाल कायस्थको भूमिका सकारात्मक र महत्त्वपूर्ण रहेको स्मरणसमेत गरे । उनले भने, ‘प्रदेश प्रमुखमा नवनियुक्त भएका माननीय तिलक परियारले कतिसम्म को–ओपरेट गर्नुहुन्छ, त्यसमा भर पर्छ ।’

यता प्रदेश प्रमुख पदमुक्त भएपछि स्थानीय स्तरमा समाजवादी पार्टीलाई सङ्घीय सरकारबाट हट्न दबाब बढ्दै गएको छ । प्रदेश नम्बर २ सरकारमा सहभागी मन्त्रीसमेत यस घटनाप्रति सन्तुष्ट छैनन् । 

समाजवादी पार्टीसँग समन्वय, सहकार्य र एउटा कोटासमेत नदिएकाले राजपा नेपाल र स्थानीय युवाहरुले उपेन्द्र यादवलाई सरकारबाट बाहिरिन दबाब दिँदै आएका छन् ।


प्रदेश नम्बर २ मा संविधान संशोधनको मुद्दा अझै पनि बाँकी नै रहेको र आंशिक अधिकार मात्रै पाएको भन्दै राजपा नेपालले आन्दोलन नै गर्ने चेतावनी दिँदै आएको छ ।

‘यस्तो अवस्थामा सत्तारुढ समाजवादी पार्टी सङ्घीय सरकारबाट बाहिरिए आन्दोलन गर्ने गुमेको आधार र साख समेत बढ्न सक्छ’, बुद्धिजीवी डा. लाभको भनाइ छ । 

मंगलबार राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिएसँगै प्रदेश नम्बर २ का प्रमुख तिलक परियारले बुधबार जनकपुर पुगेर पदभार ग्रहण गरिसकेका छन् । 

पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले संविधानसम्मत काम गर्ने भन्दै प्रदेश सरकारको इशारामा नचल्ने स्पष्ट सन्देश दिइसकेका छन् । 

विगतमा आफू पार्टीको नेता कार्यकर्ता रहेको तर अहिले जिम्मेवार पदमा रहेको भन्दै विधेयकहरु अध्ययन गरी राष्ट्र हित र संविधानसम्मत रहेमा मात्रै प्रमाणीकरण गर्ने उनको भनाइ थियो ।

समाजवादी पार्टी नेतृत्वको प्रदेश नम्बर २ सरकार र नेकपा नेतृत्वको केन्द्र सरकारबीच विगतमा पटक पटक विवाद रहँदै आएको थियो । विभिन्न विषयमा विवाद अझै पनि कायमै रहेको अवस्थामा नेकपा निकट प्रदेश प्रमुख नियुक्त हुनेले आगामी दिनमा दूरी थप बढ्ला कि घट्ला त्यो भने आगामी घटनाक्रमले देखाउने नै छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप