शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बाँस्कोटा कमिसन प्रकरण फेस गर्न काँग्रेसले बुन्यो यस्तो रणनीति

सोमबार, १२ फागुन २०७६, १५ : ०७
सोमबार, १२ फागुन २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकारविरुद्धको मोर्चाबन्दी कसिलो बनाउने रणनीतिमा जुटेको छ । 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड रुपैयाँ कमिसनमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको विषयलाई सदनमा जोडतोडले उठाउन काँग्रेसले रणनीति बुनिरहेको छ ।

जसका लागि सोमबार (आज) संसदमा प्रतिनिधित्व गर्ने सरकार बाहिर रहेका दलसँग छलफल गरिरहेको काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले रातोपाटीलाई जानकारी दिइन् ।

उनका अनुसार समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुसँग यस विषयमा छलफल भइरहेको छ ।

बाँस्कोटा प्रकरणलाई लिएर काँग्रेसले तीन वटा माग तेर्स्याउँदै फागुन ८ गते बसेको संघीय संसदका दुवै सदन अवरुद्ध गरेको थियो । 

आफ्ना माग सम्बोधन नभएसम्म संसद चल्न नदिने काँग्रेसको उद्घोष छ ।

बाँस्कोटाको मन्त्रीबाट बर्खास्ती, प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने र तटस्थ रुपमा बाँस्कोटामाथि छानबिन हुनुपर्ने काँग्रेसको बटमलाइन छ । 

बिहीबार नै बाँस्कोटाले पदबाट राजीनामा दिएसँगै काँग्रेसको पहिलो माग किनारा लागेको छ ।

काँग्रेसको दोस्रो र तेस्रो माग प्रधानमन्त्री केपी शर्मा ओलीको तजबिजमा केन्द्रित छ । प्रधानमन्त्री ओलीको सचिवालयलाई बुझ्दा उनी बाँस्कोटा प्रकरणमा संसदमा जवाफ दिने मुडमा रहेको पाइँदैन । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अहिलेसम्म संसदमा प्रधानमन्त्री सम्बोधनको कार्यक्रम नबनेको रातोपाटीलाई जानकारी दिए ।

यस्तै बाँस्कोटामाथिको छानविनका विषयमा पनि प्रधानमन्त्री ओलीले नेकपा सचिवालय बैठकमा ‘निम्छरो’ प्रतिक्रिया जनाएका थिए ।

यद्यपि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँस्कोटा मुछिएको अडियो रेकर्डमाथि अनुसन्धान सुरु गरेको छ ।


आयोगले विभिन्न माध्यमबाट परेका उजुरी संकलन गरेर छानबिन थालेको हो ।  १–२ दिनमा प्रारम्भिक छानबिन टुंग्याई सेक्युरिटी प्रेस खरिद र बाँस्कोटाको रेकर्ड प्रकरणलाई विस्तृत अनुसन्धान गर्ने अख्तियारको तयारी छ ।
अख्तियारको सूचना संकलन गर्ने संयन्त्रले सेक्युरिटी प्रेस खरिदका कागजात र प्रमाण संकलन गरिरहेको छ । अख्तियारमा आइतबार आएको सी–०२६९८७ नम्बरको उजुरीमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित बाँस्कोटा, तत्कालीन सञ्चार सचिव महेन्द्र गुरुङ र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध छानबिन गर्न गर्न माग गरिएको छ । 

उजुरीमा बाँस्कोटाले करिब तीन अर्बको चलखेल गरेको र त्यो विषय प्रधानमन्त्रीलाई थाहा भएपनि कुनै अग्रसरता नलिएको दाबी गरिएको छ । 

काँग्रेसले सेक्युरिटी प्रेस सप्लाई गरी घुस मिलाउने र सरकारी रकमबाट सामान खरिद गर्ने बाँस्कोटाको कुराकानीको रेकर्ड नै बाहिरिएकाले अख्तियारले भ्रष्टाचार गर्ने उद्योगको कसुरमा अनुसन्धान थाल्नुपर्नेमा आवाज उठाएको छ ।

काँग्रेस विपक्षी मोर्चा बलियो बनाएर यो प्रकरणमा फेस गर्न तयार देखिन्छ । 

बालुवाटार प्ररकणमा अख्तियारको भूमिकाबाट सशंकित बनेको काँग्रेसले अख्तियारको गतिविधि पनि नियालिरहेको छ ।

यो  विषयलाई गम्भीरतापूर्वक उठाएर सुशासनका लागि लड्ने काँग्रेसलाई दबाब बढ्दो छ । विगतको अडियो प्रकरणको जस्तो विरोधको औपचारिकतामा मात्र सीमित नहुन काँग्रेसलाई शुभेच्छुकहरुले सुझाव दिन थालेका छन् ।
२०६७ सालमा तत्कालीन माओवादी नेता कृष्णबहादुर महराले चिनियाँ व्यापारीसँग ५० करोड रकम मागेका अडियो सार्वजनिक भएको थियो ।

गम्भीर प्रकृतिको सो अडियो प्रकरणमा काँग्रेसले गम्भीरता नदेखाएको आरोप छ ।

त्यसैले पनि यसपटक काँग्रेसले बाँस्कोटाको अडियो प्रकरण संसदमा गम्भीरतासाथ उठाउने तयारी थालेको बुझिएको छ ।

बाँस्कोटाको अडियो प्रकरण बाहिरिएसँगै काँग्रेसले गम्भीरता देखाएको पाइन्छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मामाले बिहीबार नै औपचारिक रुपमा पत्रकार सम्मेलन गरेर बास्कोटालाई बर्खास्त गरेर कानुनी कारबाही अगाडि बढाउन माग गरेका थिए ।

यस्तै काँग्रेसले संसदमा समेत यस प्रकरणलाई लिएर विशेष महत्वका साथ आवाज उठाएको थियो । 

‘नेपाली जनताको करबाट उठाइएको रकममा ७० करोड भ्रष्टाचार गर्न प्रधानमन्त्री किन उद्यत हुनुहुन्छ?,’ सचेतक भुसालको प्रश्न थियो ।

उनको सम्बोधनसँगै काँग्रेसको विरोधपछि संसद बैठक स्थगित हुन पुगेको थियो ।

यता काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पनि बाँस्कोटामाथि कानुनी कारबाहीको माग गर्दै विहीबार र शुक्रबार काठमाडौंमा विरोत्र प्रदर्शन गरेको थियो ।

आइतबारको काँग्रेसको छाया सरकारको मन्त्रिपरिषद्को पहिलो बैठक पनि बाँस्कोटाको कमिसन प्रकरणमा केन्द्रित थियो ।

उक्त बैठकले यस विषयलाई सशक्त ढंगले उठाउने र अन्य मन्त्रालयमा भएको भ्रष्टाचार खोज्न छाया मन्त्रीलाई निर्देशन दिएको छ ।

सोही बैठकको निर्णय अनुसार आज सरकार बाहिर भएका राजनीतिक दलसँग आगामी प्रतिपक्षी रणनीति तय गर्न काँग्रेसले छलछल थालेको हो ।

यता काँग्रेसले सार्वजनिक मञ्चमा पनि सरकारमाथि गर्ने प्रहारको अश्त्रका रुपमा बाँस्कोटा प्रकरणलाई अगाडि सारेको छ । आइतबार बर्दियाबाट काँग्रेस नेता गगन थापाले यही प्रकरणमा टेकेर प्रधानमन्त्री ओलीमाथि प्रहर गरेका थिए ।


‘गोकुल बाँस्कोटाले ७० करोड घुस मागेको जुन कुरा सुन्यौं, त्यो प्रकरणमा जोडिएका अर्का व्यक्तिले यो कुरा प्रधानमन्त्रीलाई दुई महिनाअघि नै थाहा भएको बताएका छन् । तर, दुई महिनाअघि यत्रो कुरा थाहा पाएका प्रधानमन्त्रीले काभ्रे गएर भन्नुभयो– गोकुल जस्तो प्रतिभा मेरो सरकारमा अरु कसैको छौ,’ थापाले भने, ‘त्यसैले प्रधानमन्त्रीमाथि हाम्रो प्रश्न छ– तपाईंलाई थाहा थियो। तर त्यसलाई लुकाउन लाग्नुभएकाले तपाईं यसमा संलग्न हुनुहुन्थ्यो। तपाई संलग्न भएको हुँदा गोकुल बाँस्कोटा जति दोषी हो, तपाईं पनि त्यति नै दोषी हो।’

बाँस्कोटा प्रकरण प्रधानमन्त्रीलाई थाहा नभए कसलाई थाहा छ भन्ने थापाको प्रश्न थियो ।

‘प्रधानमन्त्रीले भन्नुहोला– मलाई थाहा थिएन । तर, जो व्यक्ति प्रधानमन्त्रीको सबैभन्दा नजिक छ र प्रधानमन्त्रीकै घरमा बस्छ उसले गरेको यत्रो ठूलो घोटाला प्रधानमन्त्रीलाई थाहा छैन भने उहाँलाई थाहा चाहिँ के छ ?,’ थापाले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए ।

उनले प्रधानमन्त्री ओलीसँग संख्याको तागत भए पनि राजनीतिक र नैतिक हैसियत गुमाइसकेको समेत बताएका थिए । 

थापाले भने, ‘प्रधानमन्त्री भइराख्ने संख्याको तागत होला तर, ओलीले राजनीतिक र नैतिक  हैसियत दुवै गुमाइसक्नु भएको छ । जतिदिन उहाँ प्रधानमन्त्री हुनुहुनेछ, त्यति बढी हामीले अवसर गुमाउनु पर्नेछ ।’
प्रधानमन्त्री ओलीममाथि यी नै प्रश्न मंगलबार संसदमा पनि तेर्स्याउने काँग्रेसको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप