केन्द्रीय संस्करण

सम्यक सङ्कल्प : अष्टाङ्ग मार्गअन्तर्गत बुद्धले दिएको सफलताको दोश्रो सूत्र

अठोट व्यक्त गर्ने धेरै हुन्छन् तर जसले अठोटलाई समयसँगै अझ नयाँ उचाइमा पुर्‍याउन सक्छ, जित उसको मात्र हुने हो

person explore access_timeफागुन २३, २०७६ chat_bubble_outline0

 

हामी बुद्धले प्रतिपादन गरेको अष्टाङ्ग मार्गमा छलफल गर्दैछौँ । अष्टाङ्ग मार्ग वा आठ अङ्गको मार्गको पहिलो अङ्ग सम्यक दृष्टि (राइट भिजन) हो भने दोस्रो अङ्ग हो— सम्यक सङ्कल्प । सम्यक दृष्टिका सम्बन्धमा त अघिल्लो लेखमा छलफल भइसकेको छ । त्यसमा हामीले कसरी सही दूरदृष्टि (भिजन) बनाउने, जीवनमा उद्देश्य लिने र लक्ष्य राख्ने भन्ने विषयमा कुरा गर्‍यौँ । लक्ष्य, उद्देश्य राख्ने त धेरै हुन्छन् तर किन थोरै मानिस मात्र लक्ष्यसम्म पुग्छन् ? यसको मुख्य कारण हो, सङ्कल्प लिन नजान्नु वा लिएको सङ्कल्पलाई जोगाइराख्न नसक्नु ।

सङ्कल्पको अर्थ हो अठोट वा प्रतिबद्धता । सम्यक सङ्कल्पको अर्थ हुनआउँछ— सही अठोट । हरेक मानिसले जीवनमा कुनै न कुनै बेला कुनै राम्रो लक्ष्य सोचेको हुन्छ र त्यो पूरा गर्ने अठोट पनि लिएको हुन्छ । तर धेरै मानिस बीच बाटोमै लक्ष्य बिर्सने वा छोड्ने हुन्छन् । खास कुरा के हो भने जति ठूलो अठोट लिएर अघि बढिन्छ, त्यति नै धेरै बाधा, अवरोध, कठिनाइहरूको सामना गर्नुपर्ने हुन्छ । अठोटमा अडिन नसक्नु नै विफलता वा अपूर्ण सफलताको कारक हो । त्यसैले अठोट भनेको एक पटक लिएर पुग्दैन, त्यसलाई पुनः नवीकरण गरिरहनुपर्छ, नयाँ ऊर्जा थपिरहनुपर्छ । विभिन्न परिस्थितिमा अठोट जोगाइराख्ने तरिका र तयारी हुनुपर्छ । महानभन्दा महान मानिस पनि यात्राको दौरानमा पटक पटक निराशाको शिकार हुने गर्छन् । तर तिनीहरू गन्तव्यसम्म पुग्न सक्नुको कारण हो, क्षणिक निराशाले घेरिए पनि आफ्नो मनलाई सम्हाल्दै पुनः अठोटमा दृढ हुँदै अघि बढ्नसक्नु ।


हरेक मानिसले जीवनमा कुनै न कुनै बेला कुनै राम्रो लक्ष्य सोचेको हुन्छ र त्यो पूरा गर्ने अठोट पनि लिएको हुन्छ । तर धेरै मानिस बीच बाटोमै लक्ष्य बिर्सने वा छोड्ने हुन्छन् । खास कुरा के हो भने जति ठूलो अठोट लिएर अघि बढिन्छ, त्यति नै धेरै बाधा, अवरोध, कठिनाइहरूको सामना गर्नुपर्ने हुन्छ । अठोटमा अडिन नसक्नु नै विफलता वा अपूर्ण सफलताको कारक हो ।


अठोट लिएर हिँड्नेमध्ये कसैलाई यात्रा सुरु नगर्दै बाधा अड्चन आउँछ भने कसैलाई बीच बाटोमा त कसैलाई लक्ष्यमा पुग्नै आँट्दा अन्तिममा आउने पनि हुनसक्छ । तर यो पक्का हो कि आजसम्म बिना कुनै चुनौती कोही पनि लक्ष्यमा पुगेका छैनन् । अनि यो पनि पक्का हो कि लक्ष्य जति ठूलो लिइन्छ, त्यति नै ठूला चुनौतीहरू कुरेर बसेका हुन्छन् । त्यसैले सुरुमै ती चुनौतीविरुद्ध तयारी हुनु आवश्यक छ । यस आलेखमा लक्ष्यतिरको यात्राको दौरानमा आउनसक्ने परिस्थितिहरू र तीसँग सामना गर्ने तरिकाहरू प्रस्तुत गरिन्छ ।

लक्ष्यबाट विचलित गर्ने चार किसिमका चुनौतीहरू हुन्छन्—

१. कमजोर मनस्थिति

२. प्रलोभन र सफलता

३. दुःख, पीडा र असफलता

४. भय

१. कमजोर मनस्थिति

बुद्धको शिक्षाको सारपूर्ण ग्रन्थ ‘धम्मपद’को पहिलो श्लोक ‘मन’बाट सुरु हुन्छ— मनोपुब्बं गमाधम्मा... अर्थात मन नै प्रमुख हो । उदाहरण दिइएको छ, जसरी गोरुको पछिपछि गोरुगाडा गुड्छ त्यसरी नै खराब सोच भएको मनको पछिपछि दुःख आउँछ । असल सोच भएको मनलाई भने छायाँले झैँ सुखले पछ्याउँछ ।

हाम्रो मनमा खेल्ने अनेक किसिमका विचार र भावनाले हाम्रो मनस्थिति निर्माण गर्छ । कुनै विचारले मनलाई सुदृढ पार्छ भने कुनैले कमजोर । मन सुदृढ भए सङ्कल्प पनि सुदृढ हुन्छ; मन कमजोर भए सङ्कल्प पनि कमजोर । मनस्थिति धेरै कमजोर भएको मानिसले त ठीकसित सङ्कल्प नै लिन सक्दैन । त्यसैले हामीले कस्तो विचारले सङ्कल्पलाई बलियो बनाउँछ र कस्तो विचारले कमजोर बनाउँछ जान्नुपर्छ ।

यदिहोइन बाबजुद

आफैलाई कमजोर बनाउने एउटा प्रमुख विचार हो– यदि यस्तो भइदिएको भए... धेरै मानिसहरू कसरी सोच्छन् भने :

*        यदि मसित प्रशस्त पैसा भइदिएको भए म निर्धक्क भएर आफ्नो लक्ष्यमा लाग्थेँ ।

*        यदि म सम्पन्न परिवारमा जन्मेको भए मेरो जीवन अर्कै हुन्थ्यो ।

*        यदि मेरी हजुरआमा समझदार भइदिएको भए म यो अवस्थामा हुने थिइनँ ।

*        यदि मेरो पनि कोही आफ्नो मान्छे भइदिएको भए मैले पनि अवसर पाउँथेँ ।

*        यदि म अमेरिकामा जन्मेको भए मेरो प्रतिभाको कदर हुन्थ्यो आदि आदि ।

सफल हुने मानिसले ‘यदि’ भनेर सोच्दैन । उसले ‘तापनि’ वा ‘बाबजुद’ भनेर सोच्छ । त्यही सोचले उसलाई आत्मबल दिन्छ । त्यसैले उसलाई सामान्य मानिसभन्दा फरक बनाउँछ । उसले सोच्छ–

*        म विपन्न परिवारमा जन्मेको भए पनि म कमाएर सम्पन्न बन्छु ।

*        मेरो परिवारिक पृष्ठभूमि खराब भए पनि मैले उन्नति गर्ने छु ।

*        मेरो शिक्षादीक्षा राम्रो हुनसकेन तर त्यसको बाबजुद म केही बनेर देखाउँछु ।

*        मेरो स्थिति मेरा साथीहरूको जस्तो राम्रो छैन तर पनि म आफ्नो क्षेत्रमा प्रगति गर्नेछु ।

*        म नेपालमै भए पनि म आफूलाई प्रमाणित गरेर देखाउँछु ।

दूरदृष्टि र सङ्कल्प मनले लिने हो तर अष्टाङ्गिक मार्गको वर्गीकरणमा सम्यक दृष्टि र सम्यक सङ्कल्पलाई विवेकद्वारा गरिने कार्यमा राखिएको छ । किनभने यी कार्य मनले मात्रै गरेर पुग्दैन । बिना विवेक लिएको दूरदृष्टि र सङ्कल्प धेरै दिन टिक्दैन । त्यसैले त्यसले फल पनि दिँदैन ।

उदाहरणका लागि ‘यदि’ भनेर सोच्नु नै विवेकपूर्ण कार्य होइन, न यथार्थपरक नै छ । कसैले न आफ्नो बुबा, हजुरआमा परिवर्तन गर्नसक्छ, न परिवार वा जन्मेको देश ! यी त हास्यास्पद कुरा भए । तर मानिसहरू यसरी नै सोच्दै दुखित भएर बस्छन् ।


बुद्धको दर्शनमा सबभन्दा ठूलो भूमिका नै ‘मन’ले पाएको छ– मन नै सबभन्दा बलवान् । किनभने मन जहाँ केन्द्रित हुन्छ, त्यहीँ शक्ति प्रवाह हुन्छ । ‘यदि म सम्पन्न परिवारमा जन्मेको भए मेरो जीवन अर्कै हुन्थ्यो’ भनेर सोच्नुभन्दा ‘यदि मैले आज राम्रो मिहिनेत गरेँ भने भोलि म सुखी बन्ने छु’ भनेर सोच्दा मनमा राम्रो ऊर्जा सञ्चार हुन्छ ।


बुद्धको दर्शनमा सबभन्दा ठूलो भूमिका नै ‘मन’ले पाएको छ– मन नै सबभन्दा बलवान् । किनभने मन जहाँ केन्द्रित हुन्छ, त्यहीँ शक्ति प्रवाह हुन्छ । ‘यदि म सम्पन्न परिवारमा जन्मेको भए मेरो जीवन अर्कै हुन्थ्यो’ भनेर सोच्नुभन्दा ‘यदि मैले आज राम्रो मिहिनेत गरेँ भने भोलि म सुखी बन्ने छु’ भनेर सोच्दा मनमा राम्रो ऊर्जा सञ्चार हुन्छ । ‘यदि’ शब्द पनि बितेका कुराको गुनासोको लागि नभएर भविष्यका लागि प्रयोग भएको छ भने त राम्रै हो । हामी अघि बढ्न चाहन्छौँ भने हामीले आफ्नो मनमा खेल्ने विचारको सतत निगरानी राख्नुपर्छ– मेरो मनमा खेलिरहेको विचारले मलाई शक्ति दिँदैछ कि कमजोर बनाउँदैछ ?

२. प्रलोभन र सफलता

अब बाँकी तीन व्यवधानका बारेमा स्पष्ट पार्न बुद्धकै जीवनबाट उदाहरण दिन्छु–

सिद्धार्थ गौतम एक राजकुमार थिए । संसारमा अनगिन्ति राजकुमारहरू भइसके तर हामी सिद्धार्थलाई सम्झन्छौँ, बुद्धलाई सम्झन्छौँ किनभने उनले आफ्नो लक्ष्य प्राप्तिका लागि दरबार त्यागे । मनमा ठूलो सङ्कल्प नभई त्यो सम्भव थिएन । त्यो उनको पहिलो साहसिक कदम थियो । यसैले नै उनलाई सामान्य मानिसभन्दा फरक बनायो । आफ्नो निर्णय र कार्यले नै मानिस फरक बन्ने हो, असाधारण बन्ने हो ।


सिद्धार्थ गौतमद्वारा गृहत्याग https://www.dhammatalks.net

वास्तवमा सिक्न र उन्नति गर्न चाहने मानिसका लागि बुद्ध जीवनीको गृहत्याग र बुद्धत्व प्राप्तिबीचको खण्ड निक्कै शिक्षाप्रद र प्रेरणादायी हुनसक्छ । त्यस बेला सिद्धार्थ गौतम न त घरपरिवारमा रमाउने साधारण मानिस थिए न त ज्ञान प्राप्त सम्बुद्ध नै । उनी सत्यको खोजमा लागेका एक प्रतिबद्ध अन्वेषी थिए । आफैँलाई प्रयोगशाला बनाई मुक्तिको सफल–असफल प्रयोग गर्दैथिए ।


सिद्धार्थ गौतमलाई गृहत्यागदेखि बुद्धत्व प्राप्तिसम्मको यात्रा सङ्कल्पकै यात्रा हो । उनको जीवनको यस खण्डबाट लक्ष्योन्मुख मानिसले धेरै ज्ञान लिनसक्छन् तर बुद्धको जीवनीमा यो खण्ड अलि उपेक्षित छ । वास्तवमा सिक्न र उन्नति गर्न चाहने मानिसका लागि बुद्ध जीवनीको गृहत्याग र बुद्धत्व प्राप्तिबीचको खण्ड निक्कै शिक्षाप्रद र प्रेरणादायी हुनसक्छ । त्यस बेला सिद्धार्थ गौतम न त घरपरिवारमा रमाउने साधारण मानिस थिए न त ज्ञान प्राप्त सम्बुद्ध नै । उनी सत्यको खोजमा लागेका एक प्रतिबद्ध अन्वेषी थिए । आफैँलाई प्रयोगशाला बनाई मुक्तिको सफल–असफल प्रयोग गर्दैथिए । सिद्धार्थबाट बुद्ध बन्ने प्रक्रियाको सूक्ष्म अध्ययन र विश्लेषणबाट हामीले धेरै ज्ञान प्राप्त गर्नसक्छौँ । यहाँ सम्यक सङ्कल्पको सन्दर्भमा सो प्रसङ्ग छोटकारीमा मात्र जोड्न चाहन्छु ।

सिद्धार्थका गुरूहरू

सिद्धार्थ गौतमले दरबार त्याग्नासाथ तपस्या सुरु गरेका थिएनन् । पहिला उनी सद्गुरूहरूको खोजीमा लागे । उनको पहिलो गुरू भए– आराड कालाम, जो वैशाली नगरमा गङ्गाको किनारमा तीन सय शिष्यका गुरू भई बसेका थिए । सिद्धार्थले आराड कालामलाई गुरू थापी थोरै समयमा नै तृतीय ध्यान अर्थात ‘आकिञ्चन्यायतन’ ध्यान प्राप्त गरे । यसमा साधकलाई केही पनि छैन भनेजस्तो निर्विकल्प महाशून्यको अनुभव भइरहन्छ । यसलाई हिन्दु साधनामा तुरियावस्था भनिन्छ ।

त्यसपछि आराड कालामले सिद्धार्थलाई उनले जानेजति सबै कुरा सिकाइसकेको बताए र साथै उनकै आश्रममा उनीसँगै गुरू भई बस्न अनुरोध गरे । तर सिद्धार्थलाई चित्त बुझेको थिएन किनभने उनलाई थाहा थियो त्यो मुक्तिको अनुभव थिएन । सिद्धार्थले अझै ठूलो ज्ञानको चाहनामा रहेको बताएपछि कालामले आफूभन्दा ठूलो गुरू रुद्रक रामपुत्रको आश्रममा जान सुझाए । कालाम र रामपुत्र दुवै त्यसबेलाका साङ्ख्य दर्शनका धुरन्धर पण्डित थिए ।


आराड कालामले सिद्धार्थलाई उनले जानेजति सबै कुरा सिकाइसकेको बताए र साथै उनकै आश्रममा उनीसँगै गुरू भई बस्न अनुरोध गरे । तर सिद्धार्थलाई चित्त बुझेको थिएन किनभने उनलाई थाहा थियो त्यो मुक्तिको अनुभव थिएन । सिद्धार्थले अझै ठूलो ज्ञानको चाहनामा रहेको बताएपछि कालामले आफूभन्दा ठूलो गुरू रुद्रक रामपुत्रको आश्रममा जान सुझाए ।


मुक्तिको खोजीमा रहेका सिद्धार्थ रुद्रक रामपुत्रको आश्रमतिर सोझिए । उनको आश्रममा बसी सिद्धार्थले उनीबाट चौथो ध्यान अर्थात ‘नैवसंज्ञानासंज्ञायतन’ ध्यान प्राप्त गरे । यस ध्यानमा साधक हो वा होइन, भित्री वा बाहिरी, छ वा छैन भन्न नसकिने निर्विकल्प अवस्थामा स्थित रहन्छ । सिद्धार्थले त्यसभन्दा माथिको ज्ञानबारे जिज्ञासा राखे । रामपुत्रले सिद्धार्थलाई आफूले जानेजति सबै सिकाइसकेको बताए । कालामले जस्तै रामपुत्रले पनि उनलाई सोही आश्रममा आफूसरह गुरू भई बस्न अनुरोध गरे । तर सिद्धार्थले त्यो उच्च तहको ध्यानको अनुभव भए पनि मुक्ति नै नभएको ठम्याए । त्यसैले उनले रामपुत्रलाई उनको गुरूको बारे सोधे । तर रामपुत्रले आफ्नो कोही गुरू नभएको र आफ्नै साधनाबाट सिकेको बताए ।

सफलताजस्तो विफलता कुनै छैन

यहाँ सङ्कल्पको सन्दर्भमा एउटा कुरा मननीय देखिन्छ । कठिनाइ नै  मात्र सङ्कल्पको दुस्मन होइन, सफलता पनि सङ्कल्पको दुस्मन हुनसक्छ । प्रलोभनले सङ्कल्पबाट विमुख गराउँछ । सिद्धार्थलाई दुवै गुरूबाट उनीहरू सरह गुरू भई बस्ने प्रस्ताव आएका थिए तर उनी मानेनन् । उनी प्रलोभनमा फसेनन् । ध्यानमा उनले सहजै सफलता प्राप्त गरेका थिए । तर उनी प्रारम्भिक सफलताबाट मात्तिएनन्, तिनमा अल्झिएनन् । उनको सङ्कल्प अर्कै थियो । उनी त्यहाँ गुरू भई बसेको भए जीवन त सजिलो हुँदो हो तर बुद्ध बन्दैनथे ।

 


कठिनाइ नै  मात्र सङ्कल्पको दुस्मन होइन, सफलता पनि सङ्कल्पको दुस्मन हुनसक्छ । प्रलोभनले सङ्कल्पबाट विमुख गराउँछ । सिद्धार्थलाई दुवै गुरूबाट उनीहरू सरह गुरू भई बस्ने प्रस्ताव आएका थिए तर उनी मानेनन् । उनी प्रलोभनमा फसेनन् । ध्यानमा उनले सहजै सफलता प्राप्त गरेका थिए । तर उनी प्रारम्भिक सफलताबाट मात्तिएनन्, तिनमा अल्झिएनन् । उनको सङ्कल्प अर्कै थियो । उनी त्यहाँ गुरू भई बसेको भए जीवन त सजिलो हुँदो हो तर बुद्ध बन्दैनथे ।


हुन त सिद्धार्थ गौतमलाई जन्मैबाट बुद्धत्वको बदलामा ठूलो प्रलोभन थियो । उनी जन्मिँदै ब्राह्मण र ऋषिहरूले उनी दरबारमा बसे चक्रवर्ती सम्राट बन्छन् भन्ने भविष्यवाणी गरेका थिए तर दरबार छोडेर हिँडे बुद्ध बन्छन् । सिद्धार्थलाई बुद्ध बन्नुअघि मारले यो कुरा धेरै पटक सम्झाएका थिए, “सारा संसारको सम्राटको बन्नसक्ने हुँदाहुँदै किन जोगी बन्दै हिँडेको ?” यो कुरा बुद्धको जीवनमा मात्र होइन, ठूलो उद्देश्य लिएर हिँडेका हरेक मानिसमा लागू हुन्छ । जिससलाई पनि सैतानले आफूलाई माने संसारको राजा बनाइदिने लगायत अनेकन प्रलोभन देखाएको कुरा बाइबलमा उल्लेख छ ।

सांसारिक सफलताको यात्रामा होस् वा आध्यात्मिक यात्रामा जब हामी सानातिना सफलता वा प्रलोभनमा फस्छौँ तब हामी मूल लक्ष्यबाट विचलित हुने धेरै सम्भावना हुन्छ । त्यसैले पनि भनिन्छ, ‘सफलताजस्तो विफलता कुनै छैन’ (There is no failure like success.)  सानोतिनो सफलतामा दङ्ग परेर मूल लक्ष्य भुल्ने धेरै हुन्छन् ।

अब यहाँबाट बुद्धको असफलताको कथा सुरु गर्छु ।

३. दुःख,पीडा र असफलता

सिद्धार्थ गौतमले बुद्धत्वको खोजीमा गुरू छोडी आफ्नै बलबुतामा अभ्यासमा लागेपछि सबै खालका कठोरभन्दा कठोर प्रयास गरेका थिए । यसैलाई बुद्ध जीवनीमा दुष्कर चर्या भनिन्छ । सूत्रहरूमा उल्लेख भएअनुसार रामपुत्रको आश्रम छोडेर हिँडेपछि सिद्धार्थले हठयोगका कठोर अभ्यासहरू गरेका देखिन्छन् । त्यसले उनलाई असह्य पीडा हुन्थ्यो । त्यसपछि उनी अल्पाहारताको अभ्यासमा लागे । उनले लामो  लामो अवधिसम्म नखाइकन बसेका थिए । कहिले बस्दै नबसी उभिने मात्रै गरेका थिए । कहिले उठ्दै नउठी टुक्रुक्क बस्ने मात्रै गरेका थिए । डरलाग्दा मसानघाटमा बस्ने गरेका थिए । मुर्दाको हाडको सिरानी राखेर सुत्ने गरेका थिए । साधनारत उनको शरीर हाड र छाला मात्र भएको थियो । उनको शरीरको रङ कालो, हरियो वा नीलो कस्तो हो भन्नै नसकिने किसिमले नराम्रो भएको थियो । अन्तिममा त उनी मुर्छा परेर ढलेका थिए । उनको दुष्कर चर्याका अभ्यासको सूची योभन्दा धेरै लामो छ । जे भए पनि एक सत्यको अन्वेषकले आफूले जानेका सुनेका सबै किसिमका अभ्यासमा प्रयास गरेका देखिन्छन् । तैपनि उनलाई बुद्धत्व प्राप्त भएको थिएन । हरेक प्रयासबाट उनलाई पीडा र असफलता मात्र हात लागेको थियो । तैपनि उनी हारेनन् । यसबाट हामीले उनमा मोक्षको चाहना कति तीव्र छ भन्ने बुझाउँछ ।

आध्यात्मिक अभ्यासमा मात्र होइन, सांसारिक सफलताको यात्रामा पनि कहिले सफलता त कहिले असफलता हात लाग्छ नै । असफल नभईकनै सफल भएका यहाँ कोही छैनन् । जति ठूलो लक्ष्य लिइन्छ, प्रक्रियामा त्यति नै धेरै दुःख, पीडा, असफलताहरू झेल्नुपर्ने हुन्छ । तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले पनि पहिलो पल्टमै सगरमाथा उक्लिन सकेका थिएनन् । कहिले उनीहरूले आरोहणका लागि अनुमति नै पाएनन् त कहिले चुचुरोमा टेक्न थोरै दूरी बाँकी रहँदा खराब मौसमको कारण फर्कनु परेको थियो ।

गौतम बुद्धले पनि मुक्तिका लागि अनेकन असफल प्रयास गरेका थिए । सफलताका लागि परिपक्व हुनु जरुरी छ । मानिसमा परिपक्वता कठिनाइहरू सामना गरेर नै आउने हो । जसरी इँटा भट्टीको आगोमा पाक्छ, त्यस्तै मानिसलाई पकाउने आगो कठिन परिस्थिति हो । उदाहरणहरू धेरै छन्, तोरी पेलिएरै त्यसबाट तेल निस्किन्छ वा पत्थरमा पिसिएपछि नै हीनाबाट रङ निस्किन्छ । सफलताले योग्यताको परीक्षा लिन्छ । त्यो परीक्षा भनेको तपाईंको सङ्कल्पकै परीक्षा हो ।

४. भय

कठोरभन्दा कठोर खालका अभ्यास गर्दा पनि सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्न सकेका थिएनन् । त्यसबेला उनी निराश भएका थिए– कतै बुद्ध बन्न नसकिने नै हो कि ? त्यसको अर्थ हुन्थ्यो, दरबार त्यागेर, जङ्गल पसेर गरेका सबै कठोर तपस्याहरू खेर जानु । तर उनले सो निराशालाई जितेर पीपलको बोटमुनि बस्दै एउटा अन्तिम र अत्यन्तै दृढ प्रतीज्ञा लिए– ‘चाहे म कंकाल मात्र बाँकी किन नहोऊन् तर जबसम्म बुद्धत्व प्राप्त हुँदैन म यहाँबाट उठ्नेछैन’ । सङ्कल्पको पनि तह तह हुन्छ । लक्ष्य निश्चय गर्दा त सङ्कल्प बलियै हुन्छ । तर यात्रामा उही टिक्छ जसले परीक्षाका घडीहरूमा त्यो सङ्कल्पलाई अझै दरिलो बनाउँदै लानसक्छ । अनि अन्तिम सङ्कल्पमा उही उत्तीर्ण हुन्छ, जसले लक्ष्यको लागि ज्यानकै बाजी थाप्नसक्छ ।

बुद्धलाई मारले दु:ख दिएकाे चित्र

जब सिद्धार्थले यो अन्तिम अठोट (प्रतीज्ञा) लिए तब उनीविरुद्ध सबभन्दा डरलाग्दो मार आउनथाल्यो । सशस्त्र फौजसहित मार आएर उनलाई त्यहाँबाट भगाउन खोजे । मारले उनलाई “यहाँबाट उठ । यो तिम्रो ठाउँ होइन । यो ठाउँमा तिम्रो के अधिकार छ ?” भन्दै तर्साउन थाल्यो ।


जब सिद्धार्थले यो अन्तिम अठोट (प्रतीज्ञा) लिए तब उनीविरुद्ध सबभन्दा डरलाग्दो मार आउनथाल्यो । सशस्त्र फौजसहित मार आएर उनलाई त्यहाँबाट भगाउन खोजे । मारले उनलाई “यहाँबाट उठ । यो तिम्रो ठाउँ होइन । यो ठाउँमा तिम्रो के अधिकार छ ?” भन्दै तर्साउन थाल्यो । त्यसबेला सिद्धार्थले मारलाई केही जवाफ दिएनन्, बरु भूमिमा छोएर धर्तीमातालाई पुकारे । यसलाई बुद्धको भूमिस्पर्श मुद्रा भनिन्छ । अनि धरर्तीमाताले मारको फौजमाथि यस्तो आँधीबेहरी सिर्जना गरिदिइन् कि मारका सेना फर्केरसम्म पनि नहेरी भागाभाग भए । मार गएपछि सिद्धार्थले एकचित्त भएर ध्यान गर्नथाले । त्यही राति उनी ध्यानका तहहरूमा प्रगति गर्दै गए । झिसिमिसे बिहानसम्ममा उनले बुद्धत्व प्राप्त गरिसकेका थिए ।

बुद्धको भूमिस्पर्श मुद्रा

हुन त यो कथा कतिलाई अपत्यारिलो लाग्नसक्छ । तर हामीले यसबाट के शिक्षा लिनसक्छौँ भने जबसम्म हाम्रो अठोटले पूर्णता प्राप्त गर्दैन तबसम्म अन्तिम लक्ष्य प्राप्ति सम्भव हुँदैन । अठोट व्यक्त गर्ने धेरै हुन्छन् तर जसले अठोटलाई समयसँगै अझ नयाँ उचाइमा पुर्‍याउन सक्छ, जित उसको मात्र हुने हो । सिद्धार्थले दरबार छोड्दै पनि अठोट लिएका थिए । त्यसपछि गुरू छोडेर एक्लै साधनामा लाग्दा त्यस अठोटलाई अझ दृढ पारेका थिए । तर तबसम्म उनलाई लक्ष्य हासिल भएन जबसम्म उनी सम्पूर्ण रूपले सङ्कल्पित भएनन् । त्यो भनेको लक्ष्यप्रति सम्पूर्ण तनमनले समर्पित हुनु हो, विकल्परहित हुनु हो ।

यहाँनेर डब्ल्यू.एच. मुर्रेको एउटा प्रसिद्ध उद्धरण, जुन कवितात्मक छ, प्रस्तुत गर्न चाहन्छु । डब्ल्यू. एच. मुर्रे स्कटल्यान्डका साहसिक पर्वतारोही र ख्याति प्राप्त लेखक हुन् । उनी १९५१ को सगरमाथा आरोहण दलका उपनेता थिए । साथै उनले अपी हिमालमा पनि अन्वेषण गरेका थिए । उनको पुस्तक ‘द स्कटिस हिमालयन एक्सपेडिसन’ मा लेखिएको छ—

जबसम्म प्रतिबद्ध भइन्न
तबसम्म दुविधा रहन्छ,
पछाडि हट्नसक्ने सम्भावना रहिरहन्छ ।
हरेक अग्रसरता र सिर्जनाको प्रयासमा
एउटा गहिरो सत्य भेटिन्छ ।
त्यो सत्य हो :
जुन क्षण हामी पूर्ण रूपले कटिबद्ध हुन्छौँ,
त्यसबेला विधाता पनि त्यसमा सरिक हुन बाध्य हुन्छन् ।
यही सत्य नबुझ्दा अनगिन्ती सोच र
उत्कृष्ट योजनाहरूको समेत मृत्यु भइरहेको हुन्छ ।
जब कोही प्रतिबद्ध हुन्छ, त्यसबेला अन्यथा प्राप्त नहुने
सारा साधनहरू जुट्न थाल्दछ;
सबै प्रकारका सहयोगको भण्डार पनि
उसैको लागि खुल्न थाल्दछ ।
जसै मानिसले प्रतिबद्धताको निर्णय गर्छ,
सपनामा पनि नचिताएका
अपूर्व घटना एवं भेटघाटका शृङ्खलाहरू
उसैका लागि भनेर लाम लागेर पर्खिरहेका हुन्छन् ।

(आर. मानन्धर दर्शनशास्त्रमा अध्येता हुन् । बाल्यकालमा उनी पाँच वर्ष बौद्ध विद्यार्थी भई थाइल्याण्डमा अध्ययन गरेका थिए । हाल उनी नेतृत्वसीप, व्यवस्थापन र माइन्डफुलनेशका प्रशिक्षक हुन् । उनले अन्तर्राष्ट्रिय संस्थाहरूमा व्यवस्थापनको उच्च पदमा दुइ दशक बिताइसकेका छन् ।)

 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.