बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

ओलीविरुद्ध भैंसेपाटीमा अर्को मोर्चाबन्दी, यस्तो छ बैठकको निष्कर्ष

समग्र पार्टी र सरकारकोे मूल्यांकन गर्नुपर्ने नेताहरुको जोड
बिहीबार, ११ वैशाख २०७७, २१ : १२
बिहीबार, ११ वैशाख २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको बैठकले विवादित अध्यादेश तत्काल फिर्ता गर्नुको विकल्प नभएको निष्कर्ष निकालेका छन् ।

सो पार्टीको नौ सदस्यीय सचिवालयमध्येका ६ जना नेताहरु यस्तो निष्कर्षमा पुगेका हुन् । 

भैंसेपाटीस्थित उपाध्यक्ष बामदेव गौतमको निवासमा बिहीबार भएको छलफलमा नेताहरु उक्त निष्कर्षमा पुगेको उच्च स्रोतले जनाएको छ ।

छलफलमा सहभागी मध्येका एक नेताले छलफलमा जुटेको पुष्टि गर्दै भने, ‘पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा गम्भीर छलफल भयो । त्यसक्रममा अध्यक्ष प्रचण्डले आजै बिहान प्रधानमन्त्री केपी ओेलीसँग गरेको कुराकानीको ब्रिफिङ पनि गर्नुभयो ।’

ती नेताले थपे, ‘प्रधानमन्त्रीले अध्यादेश फिर्ता गर्नु भनेपनि कहिले गर्ने भन्ने अन्योल भयो । त्यसैले तत्काल फिर्ता गर्नुपर्छ भन्नेमा सवै नेताहरु एकमत हुनुभयो ।’ छलफलमा अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

महासचिव पौडेल भने अन्तिम समयमा पुगेका थिए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेका महसचिव पौडेल अध्यादेशका सम्बन्धमा सन्तुष्ट थिएनन् । आजको छलफलमा महासचिव पौडेलले समेत सरकारको यही रवैया रहे लोकतान्त्रिक प्रक्रियामाथि नै प्रश्न उठ्न पुग्ने भन्दै अध्यादेश फिर्ता लिनुको कुनै विकल्प नभएको बताएका थिए ।

बिहीबार बिहानै नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भेटमा ओलीले अध्यादेश फिर्ता लिन तयार रहेको बताएका थिए ।

नेताहरुको छलफलमा अध्यादेश बाहेक पर्टीका विषयमा पनि छलफल भएको थियो । पार्टीका २० जना स्थायी समिति सदस्यहरुले बुधबार मात्रै अध्यादेशले पार्टीलाई बलियो नबनाउने भन्दै छलफलका लागि तत्काल बैठक बोलाउन माग गर्दै अध्यक्षलाई पत्र पठाएका थिए ।

‘अध्यादेशबाहेक पार्टीका नेताहरुले बैठक बोलाउन माग गरेको विषयमा पनि छलफल हुने नै भयो । त्यस्तै सरकारका कामकारवाहीको मूल्यांकन र विश्लेषण गर्नुपर्ने आवश्यकता रहेकोमा नेताहरुको जोड रह्यो । सोही अनुसार प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग छलफल गर्नुपर्ने आवश्यकता देखियो,’ ती नेताले भने, ‘अव सरकारको मूल्यांकन पनि गर्नुपर्छ । विश्लेषण पनि गर्नुपर्छ । किनभने प्रश्न उठेपछि प्रष्ट पार्नु जरुरी छ ।’

सरकारले पछिल्लो पटक दुई अध्यादेश ल्याउदा पार्टीमा कुनै छलफल नर्गनुलाई नेताहरुले गम्भीर रुपमा लिएका छन् । ‘सरकारको काम गर्ने शैली ठीक भएन । राष्टिय महत्त्वका विषयमा निर्णय गर्दा समेत छलफल हुन छाड्यो । यसले समग्र पार्टीको पनि हित गर्दैन । मुलुकको पनि गर्दैन त्यसैले यसबारेमा गम्भीर छलफल गर्न जरुरी देखियो’, अर्का एक नेताले रातोपाटीसँग कुरा गर्दै भने,' विषम परिस्थितिमा नेकपा एक ढिक्का हुनुका साथै अन्य पाटीको समेत साथ र सहयोग लिएर अघि बढ्नु राम्रो हुन्छ ।'

नेताहरुकाअनुसार सरकारले अध्यादेश फिर्ता गरेपछि सचिवालय बैठक बोलाउन समेत प्रधानमन्त्री समेत रहेका ओलीलाई सुझाव दिने निष्कर्ष निकालेको छ । 

यसअघि पनि भैंसेपार्टीमा ओलीविरुद्ध मोर्चाबन्दी गर्दै सचिवालयका ५ नेताहरुको बैठक बसेको थियो । सो बैठकपछि नै ओली पार्टीमा एक्लिँदै गएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप