बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेहरुको चीन भ्रमण र १९६२ को युद्ध, यस्तो छ भारत–चीन युद्धको नालीबेली

बुधबार, ०३ असार २०७७, १५ : ३७
बुधबार, ०३ असार २०७७

विश्वका दुई सर्वाधिक ठूलो जनसंख्या तथा आणविक शक्ति सम्पन्न छिमेकी भारत र चीनबीच सीमाक्षेत्रमा अविश्वास र द्वन्द्वको लामो इतिहास छ ।

 र, अहिले दुई देशका सेनाबीच फेरि सीमा क्षेत्रमा तनाव बढेको छ । रणनीति रुपले महत्त्वपूर्ण हिमालय क्षेत्रसहितको सीमानामा ‘लाइन अफ एक्चुअल’ कन्ट्रोल अर्थात् नियन्त्रण रेखालाई लिएर दुई देशबीच मतभेद छ । जसकारण, विवाद निम्तिरहन्छ । यही विवादका कारण दुई देशबीच १९६२ मा युद्ध नै भएको थियो । दुई देशीय सीमा विवादको नालीबेली यस्तो  छ– 

नेहरुको १९५९ को बेइजिङ भ्रमण 
भारतले आफ्ना ब्रिटीस शासकहरुबाटै सीमा विवादको उत्तराधिकार ग्रहण गरेको हो । १९१४ मा बेलायतीहरुले तिब्बती र चिनियाँ सरकारसँग सीमाबारे सम्मेलन गरेका थिए । तर, म्याकमहोन लाइन नाम दिइएको १९१४ को सीमानालाई बेइजिङले कहिल्यै स्वीकारेको  छैन । उसले ९० हजार वर्गकिलोमिटर क्षेत्रफलमा आफ्नो दाबी पेस गरेको छ– यो झन्डै भारतको अरुणान्चल प्रदेश बराबर हुन आउँछ । 

भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरु १९५९ मा बेइजिङ भ्रमण गएका बेला सीमा विवादले चर्को रुप लियो । आधिकारिक चिनियाँ नक्सामा देखाइएको सीमाबारे नेहरुले प्रश्न गरेपछि जवाफमा चिनियाँ प्रिमियर झोउ इन्लाईले आफ्नो सरकारलाई उपनिवेशकालको सीमा मान्य नहुने बताएका थिए । 

१९६२ (चीन– भारत युद्ध) 
१९६२ मा विवादित सीमा क्षेत्रमा भारत र चीनबीच १ महिना १ दिन युद्ध चल्यो । यस युद्धमा भारततर्फका १३ सय ८३ र चीनतर्फका ७ सय २२ सैनिकको मृत्यु भयो । 

चीनका ५ सय ४८ देखि १ हजार ४७ जना घाइते भए भने भारततर्फ १ हजार ४७ सैनिक घाइते तथा १६ सय ९६ जना बेपत्ता भए । त्यस्तै, चीनले भारतका ३ हजार ९ सय ६८ जनालाई बन्दी बनायो । युद्धमा विजयी भएको चीनले अक्साई चीनमा नियन्त्रण बनायो । यो रणनीतिक कोरिडोरले तिब्बतलाई पश्चिम चीनसँग जोड्छ । भारतले अझै पनि सबै अक्साइ चीन क्षेत्र र चीनको नियन्त्रण रहेको उत्तरी कश्मीरको साक्सजाम उपत्यका आफ्नो भएको दाबी गर्छ । 
१९६७ नथु ला विवाद 

भारत–चीनबीचको सीमा विवादको अर्को महत्वपूर्ण क्षण नथुला विवाद हो । यो सिक्किम राज्यस्थित भारतको उच्च हिमाली क्षेत्रमा पर्छ र भुटान, चीन र नेपालसँग जोडिएको छ । लामो समयको द्न्वन्द्व र गोलाबारीपछि यहाँ ८० भारतीय र ४ सय चिनियाँ सैनिक मारिएको नयाँ दिल्लीको दाबी छ । 

१९७५ तु लुङ ला एम्बुस 
औपचारिक रुपमा सीमामा गोली चलेको यो अन्तिम पटक हो । अरुणान्चल प्रदेशस्थित सीमा क्षेत्रमा चार भारतीय सैनिक एम्बुसमा परेर मरे । नयाँ दिल्लीले भारतीय सीमा क्षेत्रमा छिरेर बेइजिङले आफ्ना सैनिकलाई निशाना बनाएको दाबी ग-यो, तर चीनले यसलाई अस्वीकार गर्‍यो । 

२०१७ दोक्लाम 
दोक्लाम क्षेत्रमा एकपटक फेरि भारत र चीनका सैनिक आमने–सामने भए र महिनौंसम्म यो क्रम चल्यो । चीनले सडक बनाउँदा त्यसलाई रोक्नका लागि भारतले सेना पठाएको थियो । दोक्लामको विवादित भूभागलाई चीन र भारतको सहयोगी भुटान दुबैले आफ्नो दाबी गर्दै आएका थिए । यस समस्याको समाधान वार्तामार्फत निकालियो । 

४१ दिनदेखि विवाद
भारत र चीनबीच पछिल्लो ४१ दिनदेखि सीमा क्षेत्रमा विवाद छ । ५ मेइमा पहिलोपटक भारत र चीनका झन्डै २ सय सैनिक पूर्वी लद्दाखको पैंगोंग झिलमा आमने– सामने भएका थिए । रातभर टकरावको स्थिति बनेपछि भोलिपल्ट दुबै सैनिकबीच ढुंगा हानाहान भयो । 

तर, दुबैतर्फका अफिसरहरुले वार्तामार्फत शान्तिपूर्ण अवस्था सिर्जना गरे । भारतीय सञ्चारमाध्यम द हिन्दूका अनुसार ९ मेईमा उत्तरी सिक्किमस्थित १६ हजार फिट उचाईमा रहेको नाकू ला सेक्टरमा दुई देशका झन्डै १ सय ५० सैनिक आमने–सामने भए ।

 जहाँ, एक देशका सैनिकले अर्को देशका सैनिकमाथि मुक्का हानेका थिए । यस झडपमा १० सैनिक घाइते भए । यहाँ पनि असिफरस्तरमा वार्ता भएपछि झडप रोकियो । यही दिन चीनले लाईन अफ एक्चुअल कन्ट्रोलमा आफ्नो हेलिकोप्टर पठाएको थियो । जवाफमा भारतले पनि आफ्नो लडाकु विमान सीमा क्षेत्रमा पठाएको थियो । 

यही विवादबीच सोमबार राति लद्दाखको गालवन उपत्यकामा दुबै देशका सैनिकबीच मुडभेड हुँदा भारतका एक कर्नेलसहित २० जना मारिए । तर, चीनले आफ्ना कति सैनिक मारिए भन्ने विषय खुलाएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप