केन्द्रीय संस्करण
कलाकारका कुरा

कलाकार निरु खड्काका १० रोचक स्मरण : गुन्डाले बाटोमा घेर्दाको त्यो क्षण

person explore access_timeअसार २०, २०७७ chat_bubble_outline0

काठमाडौँ । कलाकार निरु खड्कालाई मानिसले यो नामबाट भन्दा पनि अन्य दुई उपनामबाट चिन्दछन् । ती हुन् ‘निर्मली’ र ‘ठ्यास कुमारी’ । 

यी दुवै नाम उनले हास्यश्रृङ्खला ‘मेरी बास्सै’बाट पाएकी हुन् । यसै टेलिश्रृङ्खलाबाट सर्वत्र चर्चित बन्न सफल उनलाई ‘सानीमा मार्देऊ बरु बगाइदेऊ पानीमा’ गीतको म्युजिक भिडियोले भने निर्दयी सौतेनी आमाको रूपमा पनि चिनायो । 

फिल्मको कोरस डान्सरबाट कलायात्रा थालेकी निरुले थुप्रै म्युजिक भिडियो, सडक नाटक, स्टेज ड्रामा, विज्ञापन चलचित्र र चलचित्र अभिनय गरिसकेकी छन् ।

 क्यारिकेचरमा पनि माहिर उनले स्टेज कार्यक्रममा लागि स्ट्यान्डअप कमेडी, नृत्य समेत गर्ने गर्दछिन् । निरु कोरियोग्राफर पनि हुन् । 

उनको आगामी दिनमा भने फिल्म निर्माताका रूपमा पनि अगाडि आउने रहेको छ । जीवनको दुई दशकभन्दा बढी समय कलाकारितामा बिताएकी निरुले कला यात्रामा थुप्रै आरोह अवरोहको सामना गरेकी छन् । यिनै कलाकार निर्मली अर्थात् निरुको कलायात्राको १० रोचक स्मरण उनकै शब्दमा । 
     
सिकाउने खुट्टै भाँचियो
करिब १८, २० वर्ष अगाडि होला । खगेन्द्र सङ्ग्रौलाको निर्माणमा ‘जुनकिरीको सङ्गीत’ भन्ने टेलिश्रृङ्खला बन्दै थियो । त्यसको निर्देशक हुनुहुन्थ्यो केपी पाठक । उक्त शृङ्खलामा म उच्च ब्राह्मणकी छोरीको भूमिका थिए । जसको दलित युवासँग प्रेम बस्दथ्यो । 

विभिन्न कारणले प्रेमीले छोडेर गएपछि मैले घर अगाडिको सानो कान्लाबाट हामफाल्ने दृश्य काठमाडौँमा छायाङ्कन हुँदै गरेको थियो । उक्त दृश्य कसरी दिने भनेर निर्देशकसँग सोध्दै थिएँ । 

त्यही समय रवि नामका एक मेकअपम्यान दाइले सिकाउँछु यति पनि आउँदैन भनेर कान्लाबाट के हाम फाल्नुभएको थियो । उहाँको खुट्टा भाँचियो ।

खुट्टा भाँचिएपछि सुटिङ युनिटमा तनाव उत्पन्न भयो । सुटिङ पनि रोकियो । मलाई पनि खल्लो लाग्यो । मेरो कारणले उहाँ फस्नुभयो भन्ने लाग्यो । त्यो समय मैले रवि दाइलाई भेट्न जान पनि सकिनँ । भोलि पल्टदेखि नियमित सुटिङ त भयो, उक्त भने दृश्य खिचिएन । त्यो घटना अझै मेरो दिमागमा ताजै छ । 

यो टेलिश्रृङ्खला विभिन्न कारणले छायाङ्कनको बीचमै रोकियो । त्यो पूरा भएर प्रसारण भएको भए मेरो अहिलेको हाइट अझै धेरै माथि हुन्थ्यो ।

त्यहाँ स्वर्गीय आनन्द
विसं २०५८ तिरको कुरो हो । सो समय म फिल्ममा कोरस नृत्य गर्थें । अमृत लामाको फिल्म ‘ताल’को सुटिङ मुक्तिनाथमा हुँदै थियो । अभिनेता राजेश हमाल र अभिनेत्री करिष्मा मानन्धरलगायत फिल्मका मुख्य कलाकार थिए ।
फिल्मको सुटिङका लागि युनिटसँग म पनि १५ दिन मुक्तिनाथ क्षेत्र गएको थिए । त्यतिबेला त्यहाँ बस्दाको हरेक दिन, हरेक समय निकै रमाइलो, आनन्द फिल भएको थियो । 

त्यो बेलाको प्राकृतिक सौन्दर्य, वातावरण लगायतको अनुभूति अहिले म शब्दमा वर्णन गर्न सक्दिनँ । हाम्रो प्रोडक्सन टोली एकदमै राम्रो भएकाले त्यहाँको बसाइमा मैले स्वर्गीय आनन्दको अनुभूति गरे । अहिले पनि त्यो पल सम्झिँदा आनन्द लाग्छ ।

त्यो सुटिङ नगरी फर्किएँ
समय कहिले ठ्याक्कै याद भएन । टेलिश्रृङ्खला ‘हत्तेरिका’को सुटिङ जाउलाखेलमा भइरहेको थियो । निर्देशक थिए मोहन मिश्र । अभिनयका प्रस्तावसहित जावलाखेलमा मलाई बिहान ६ बजे बोलाइयो । मेरो मेकअप पनि भयो ।
उक्त समय म किताब बोकेर हिँड्थे । एक किताब पढेर सिध्याएँ । खाना, खाजा खाएर पनि बस्दाबस्दै साँझको ५ बजिसकेको थियो । तर पनि मेरो सुटिङ भए । मेकअप गरेको छु, ड्रेस लगाएर रेडी भएर बसेकी छु । तर सुटिङ हुँदैन ।
बेलुकाको करिब ८ बजेसम्म पनि सुटिङ नभएपछि मेरो धैर्यता टुट्यो । रिस धेरै उठ्यो । प्रोड्क्सन लगायत कसैलाई केही नभनी त्यो सुटिङ छोडेर घर फर्किए ।

सो समय मोबाइल र फोन सबैसँग हुँदैन थियो । त्यसैले खोजखबर भयो, भएन थाहा छैन । पछि  युनिटका एक व्यक्तिले भनेअनुसार मेरो सुटिङ १० बजे थियो रे । त्यसपछि उक्त टेलिश्रृङ्खला पनि गरिनँ ।

निर्मलाबाट निर्मली
टेलिश्रृङ्खला ‘मेरी बास्सै’ प्रसारणका लागि पहिले हाम्रो युनिटले डमी श्रृङ्खलाका लागि सहरको कथामा तयार पारेका थियौ । तर त्यो पास भएन । त्यसपछि गाउँले कथामा बनाउन काठमाडौँको बूढानीलकन्ठ गएका थियौँ ।

निर्देशक दमन रूपाखेती, कलाकार सुरवीर पण्डित लगायत हामी बूढानीलकण्ठमा गाउँले पहिरन लगाएर सुटिङ गर्दै थियौँ । सबै कलाकारको नाम टेलिश्रृङ्खलाभित्र गाउँले पारामै राखिएको थियो । मेरो बाँकी थियो । निर्देशक दमन दाइले ए निर्मला के नाम राख्ने तिम्रो भन्नुभयो । मैले सबैको नाम सुनेपछि मैले पनि मेरो वास्तविक नाम निर्मला हो । निर्मली भने हुन्छ भनेर भने । त्यही नामबाट सुटिङ गरे ।

‘मेरी बास्सै’ प्रसारण भएपछि मेरो नाम निर्मली नै रहन गयो । यो टेलिश्रृङ्खलाबाट पाएको चर्चा र सफलताले आजको दिनसम्म पनि धेरैले निरु खड्का भन्दा पनि निर्मला भनेर चिन्छन् मलाई । मेरो त परिचय नै फेरियो ।

दुःख सबै बिर्सिएँ
करिब ७ वर्ष अगाडि । उक्त समय म चेतनामूलक सडक नाटक धेरै गर्थें । त्यसको सिलसिलमा दुर्गम गाउँबस्ती पनि पुगिन्थ्यो ।

एकपटक सन्देशमूलक नाटक लिएर पाँचथरको एउटा गाउँ पुगेको थिए । मलाई देखेर मेरो त्यहाँका बूढाबूढीले हात छाप्ने, शरीर छुने गर्नुभयो । ‘मेरी बास्सै’ श्रृङ्खलामा उहाँहरूले मलाई टिभीमा देख्नु भएको थियो । टिभीमा देखेको निर्मली आफ्नो अगाडि पाउँदा उहाँहरूलाई विश्वास लागेन छ । निर्मली तिमी हौ भनेर पनि सोध्नुहुन्थ्यो ।

टिभीमा देखेको मानिस अगाडि देख्न पाइन्न । उनीहरू भगवान हुन् भन्ने सोच उहाँहरूमा रहेछ । त्यसैले पनि आँखाभरि आँसु पारेर उहाँहरूले मलाई घरमा लगेर चिया, खाजा खुवाउनुभयो ।

त्यो समय मलाई कलाकार भएर राम्रो गरेछु भन्ने लाग्यो । कलाकारितामा लाग्दा पाएको दुःख सबै बिर्सिएँ । कतिपय ठाउँमा भने मलाई हेर्नेको भीडले गर्दा नाटकको सो नै रद्धसमेत हुन्थ्यो ।

९९ टेक लाग्यो
केपी पाठकको निर्देशनमा ‘जुनकिरीको सन्देश’ भन्ने टेलिश्रृङ्खला छायाङ्कन हुँदै थियो । म त्यसको मुख्य अभिनेत्री थिए । एक नवकलाकार युवा मेरो अपोजिटमा थिएँ । जसको नाम मैले अहिले भुलेँ ।

टेलिश्रृङ्खलामा मेरो र नवकलाकारको प्रेममय दृश्य खिचिँदै थियो । प्रेमका कुराहरू समेटिएको लामो डाइलग मैले बोल्नुपर्ने थियो । उक्त डाइलक बोल्न नसकेर मैले ९९ टेक खाए ।

धेरै टेक खाएको कारण निर्देशक केपी पाठकको गाली कति हो कति । तर नन्भेज गाली भने गर्नु भएन । किनभने उहाँ मुख छाडेर गाली गर्नु हुँदैन थियो ।

उक्त समय आफूले गर्न नसकेर गाली खाएको भन्दा पनि मेरो कारणले प्राबिधिकले दुःख पाए भन्ने लागेर गिल्टी महसुस भयो । 

यो श्रृङ्खलाको अगाडि दिनका सुटिङ मैले राम्रोसँग गरेको थिए । त्यो समय भने के भो के । त्यो सुटिङ अहिले पनि भुल्न सक्दिनँ ।

गुन्डाले बाटोमा घेर्दाको त्यो क्षण 
मिति याद भएन । एक पटक सरकारले गाउँगाउँ शौचालय अभियान चलाएको थियो । त्यो अभिनयनको प्रचारका लागि धिताल चिरिच्याट्ट भन्ने एक भाइमार्फत हामी केही कलाकार नाटक लिएर सिन्धुपाल्चोक गएका थियाैँ ।
सो समय बाटोमा मोटर नजाने भएकाले हिँडेर गएका थियौँ । उकालो र ओरोलो धेरै भएको उक्तबाटो अब्ठ्यारो पनि थियो । लगातार तीन घण्टा हिँडिसक्दा पनि बाटोका पसल लगायत केही नभएकाले हामी जाँदा र फर्कदा खान नपाएर भोकभोकै हिँड्न बाध्य थियौँ । उक्त समय भोक लागेर म बाटोमै बसेर रोएको थिए ।

नाटकमा हामी ७, ८ जनाको टोली थियौँ । जेनतेन ठाउँमा पुगेर कार्यक्रम गरेर काठमाडौँ फर्किंदै थियौँ । बाटोमा सानो खोलाहरू पथ्र्यो । ती खोलामा पानी परेको समय ठूलो बाढी आउँदो रहेछ ।

म र सन्तोषी भन्ने एक बहिनी हिँड्न नसकेपछि हाम्रो युनिटका सदश्यले हामीलाई बाइक आए लिफ्ट लिनु भनेर मोटरबाटोबाट पठाएर । उहाँहरू हिँड्ने गोरेटोबाट काठमाडौँ लाग्नुभयो । 

हामी युनिटसँग अलग्गिएर बेग्लै बाटो बिस्तारै हिँड्दै थियौ । केही परपुगेपछि दुईजना गुन्डाजस्ता डरलाग्दा काला मानिस हाम्रो पछिलागे । उनीहरूले हामीलाई कहिले जिस्क्याउँथे, कहिले के भन्थे, कहिले नजिक आएर हामीलाई छुन खोज्थे । 

आज दुवैलाई लैजाऊ आज भनेरसमेत कुरा गर्थे । त्यो अवस्थामा हामी भगवान पुकारेर रुन थालिसकेका थियौँ । पानीसमेत पर्न थालेको थियो । हामी भिज्दै उनीहरूसँग भाग्ने प्रयासमा थियौँ । उनीहरू पच्छ्याइरहेका थिए । केही पर पुगेपछि भट्टी जस्तो एउटा छाप्रो आयो । हामी पानी छल्न ओत लाग्यौ । ती गुन्डाजस्ता मानिस पनि हामीसँग थिए ।

केही क्षणकमा अर्काे एक दाइ पनि ओत लाग्न त्यही आउनुभयो । पानी रोकिए पनि हामी त्यही दाइको आडमा हिँड्न थाल्यौँ । हामीले त्यो दाइको आडमा हिँड्न थालेपछि ती गुन्डाजस्ता मानिसबाट छुटकारा पायौँ । त्यो क्षण सम्झँदा अहिले पनि डर लाग्छ । अझै शरीर झसङ्ग हुन्छ ।

त्यो गीतको अभिनय हेरेर छोराले कुट्यो 
मैले अहिलेसम्म धेरै म्युजिक भिडियो अभिनय गरिसकेकी छु । तीमध्ये ‘सानीमा मार्देऊ बरु बगाइदेऊ पानीमा’ भन्ने लोक गीतको अभिनयले भने धेरैको मनमा छाप छोडेको छ । यो अभिनयबाट पाए जस्तो चर्चा अन्यबाट पाउन सकिनँ । 

त्यो भिडियोले अन्य अभिनयबाट मलाई नचिनेका दर्शकलाई समेत चिनायो । उक्त भिडियोमा मैले सानोबालकको सानीमा बनेर उसलाई टर्चर दिएको थिएँ । त्यो टर्चरले धेरैको मनमा मेरो बारेमा नराम्रो छाप परेको रहेछ । 

त्यो गीत हेर्ने धेरै मानिसले मलाई भेट्दा मानिस यस्तो नरम रहेछौ । त्यो गीतमा त किन छुच्ची बनेको बालकलाई टर्चर दिएको भन्थे ।

बाहिरको कुरो त परै जाओस् घरमा पनि छोरोले उक्त म्युजिक भिडियो हेरेर दादालाई तपाईंले किन पिट्नुभयो भनेर समेत पिटेको थियो ।

त्यतिखेर लाग्यो म भिडियोमा साँच्चिकै सानीआमा बन्न सफल भएँछु भनेर । गल्छीको एक घर र त्यही वरिपरि सुटिङ भएको गीतको भिडियोका निर्देशक प्रकाश भट्ट थिए ।

त्यो पल धेरै लाज लाग्यो
विसं २०५८ को कुरो हो । उक्त समय म कोरस डान्सर थिए । फिल्म ‘माइली’को गीतमा पनि मैले कोरस डान्सरका रूपमा काम गरेकी थिएँ ।

उक्त फिल्ममा काम गरेको कुरो मामाघरको माइजूले थाहा पाउनु भएछ । फिल्म रिलिजमा आयो । माइजूले मेरी भान्जीले खेलेको चलचित्र आयो भनेर पूरै गाउँनै उल्ट्याएर हलमा जानुभएछ ।

फिल्ममा मेरो गीतमा नाच्ने कोरस डान्सरहरूमा पनि अन्तिममा बसेर कम्बर हल्लाउने सिन मात्र थियो । माइजूले पूरै गाउँ उल्टाएर मेरा लागि फिल्म हेर्न गएको थाहा पाउँदा धेरै लाज लाग्यो । त्यो थाहा पाउँदा धेरै हाँसेको थियौँ । कलाकारितामा माइजूले सोचेको लेबलमा पुग्नुपर्छ र एक दिन पुग्छु भन्ने लाग्थ्यो । अहिले त्यो स्थानमा छु भन्ने लागेको छ ।

२०१५ को टुर विशेष 
कलाकारिताको यो दुई दशकभन्दा बढी यात्रामा धेरै दुःख भोगियो । कति भन्न मिल्ने भोगियो कति भन्न नमिल्ने । मनमा अझै राम्रो काम गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी छँदैछ । कलाकारिता यात्राको मैले बिर्सनै नहुने पलमध्ये २०१५ को अमेरिका टुर पनि हो ।

उक्त समय बुद्धिप्रसाद रेग्मी दाइको नेतृत्वमा म, जीतु नेपाल, बद्री पङ्गेनी र शिला आले लगायत अमेरिका गएका थियौँ । विदेशको अहिलेसम्म धेरै यात्रा गरियो । ती यात्राहरूमा २०१५ को अमेरिका यात्रा स्मरणीय लाग्छ मलाई । 
त्यो समय हामीले अमेरिकाको विभिन्न राज्यमा २०, २२ वटा सो गरेका थियौँ । मैले उक्त टुरमा स्ट्यान्ड अप कमेडी, डान्स प्रस्तुत गरेकी थिएँ । 

मेरो कमेडी, डान्समा त्यहाँका दर्शकले दिएको प्रतिक्रिया अहिलेसम्मको कलायात्राको टुरमध्ये यो स्मरणणीय हो । पैसा, चर्चा, गिफ्टका हिसाबले पनि विशेष छ । विदेशमा भएको समय देशप्रतिको माया धेरै लाग्दो रहेछ भन्ने मैले त्यहाँका नेपाली देखेर जान्न पाए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.