शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भेनेजुएलाका राष्ट्रपति मदुरोले दिए १०० सांसदलाई माफी

मङ्गलबार, १६ भदौ २०७७, २२ : २९
मङ्गलबार, १६ भदौ २०७७

एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार विपक्षी नेता हुवाँ ग्वाइदोका सहयोगी सहित १०० सांसदलाई ‘राष्ट्रिय मेलमिलाप प्रवद्र्धनका लागि’ माफी दिएको घोषणा गरेका छन् । माफीको लागि सञ्चारमन्त्री जर्ज रोड्रिगेजले सरकारी टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा नाम पढिएकामध्ये ग्वाइदोका सहायक रोबर्टो मरेरो, सांसद गिल्बर कारो र रेन्जो प्रितोलगायत नेता तथा सांसद रहेका छन् । 

राष्ट्रपतीय आदेशसँगै घोषणा कार्यान्वयनमा गएको छ तर राष्ट्रपतिको विरुद्धमा लागेको अभियोगमा जेल परेका व्यक्तिलाई जेलमुक्त गर्न अदालतद्वारा तुरुन्त प्रक्रिया अघि बढाउनुपर्नेछ ।  मरेरो सन् २०१९ को मार्चमा पक्राउ परेका थिए । उनी तथा पक्राउ पर्ने अन्य नेता तथा सांसदहरूलाई मदुरो सरकारलाई अस्थिर बनाउन ‘आतंकवादी समूह’ को हमला गर्ने योजनाको हिस्सा भएको आरोप लगाइएको थियो । 

माफी दिइएका व्यक्तिहरूमध्ये विपक्षी नेता ग्वाइदो भने छैनन् । तर उनका धेरै मुद्दाहरूलाई केही खुकुलो गरिएको छ ।  माफीका लागि सार्वजनिक ११० व्यक्तिको सूचिमा विपक्षी सभासद् फ्रेडी ग्वेभेरा पनि रहेका छन् । उनी सन् २०१७ मा राष्ट्रपतिविरूद्ध गरिएको आन्दोलनमा १२५ नागरिकको मृत्यु भएपछि राजधानी काराकासस्थित भेनेजुयलाका लागि चिलीको दूतावासमा शरण लिन पुगेका थिए ।

ग्वेभेराले सत्ता विरोधी अभियानमा सम्लग्न भएको आभियोगमा सुनुवाईका क्रममा आफूले स्वतन्त्रताका लागि आन्दोलनको पक्षमा समर्थन गरेको तर देश छोडेर अन्यत्र शरण लिन नजाने बताएको सर्वोच्च अदालतले जनाएको छ ।  माफी पाउनेहरूमध्ये सबैभन्दा पुरानो ‘डेमोक्र्याटिक एक्शन पार्टी’का प्रमुख हेनरी रामोस अल्लप पनि रहेका छन् ।

यसबाहेक सजायँ मिनाहका लागि राष्ट्रपतिद्वारा सिफारिस व्यक्तिहरूमा निर्वासनमा रहेका विपक्षी सांसदहरूसहित जटिल प्रकृतिका न्यायिक मुद्दा लागेका व्यक्तिहरूसमेत समावेश भएको उल्लेख गरिएको छ ।  यसैबीच माफीबारे विपक्षी नेता ग्वाइदोको अभियानमा सहभागी भएका कारण निर्वासनमा रहेका एक सांसद अमेरिको दे ग्राजियाले ‘मदुरो न त राष्ट्रपति हुन्, न त आफू एक अपराधी’ भनी प्रतिक्रिया जनाएका छन् ।

उनले भने, “यदि तपाइँ (मदुरो) भेनेजुएलामा शान्तिको लागि योगदान गर्न चाहानुहुन्छ भने देशलाई शक्तिको कब्जाबाट स्वतन्त्र गर्नुहोस्, हाम्रो जनतामा त्रासदी आइपर्दाको व्यवहारलाई छोड्नुहोस् , अनि मात्र हामी तपाईंलाई धन्यवाद ज्ञापन गर्नेछौँ ।” विपक्षी समूहले मदुरोलाई सन् २०१८ को पुनः निर्वाचनमा सत्ताको बलमा आफूलाई विजय घोषणा गरेको आरोप लगाउने गरेका छन् । अमेरिकी एक सर्वेक्षणले निर्वाचनमा व्यापक धाँधली भएको रिपोर्ट दिएको थियो । 

सन् २०१९ को जनवरीमा ग्वाइदोले मदुरोलाई राष्ट्रपतिको जिम्मेवारीका लागि अख्तियार नभएको भन्दै आफूलाई कार्यबाहक राष्ट्रपति घोषणा गरेका थिए । यसलाई अमेरिका र अमेरिकाका सहयोगी करिब ५० राष्ट्रहरूले समर्थन जनाएका थिए भने रूस, चीनलगायतका देशहरूले मदुरोको समर्थन गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप