शलाहको जादू : पहिलो लेगमा लिभरपुललाई अग्रता
लिभरपुल । मोहमद शलाहको उत्कृष्ट खेलको मद्दतले लिभरपुलले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा इटालियन क्लब एएस रोमालाई पराजित गरेको छ । तर, रोमाले दुई अवे गोल गर्दै दोस्रो लेगमा पुनरागमनको आशा भने कायम राखेको छ ।
मंगलबार राती भएको खेलमा शलाहले दुई गोल गर्नका साथै दुईवटा गोलको अवसर सृजना गर्दा लिभरपुल ५–२ गोल अन्तरले विजयी बन्यो ।
पछिल्लो पटक सन् २००७ मा प्रतियोगिताको फाइनलमा पुगेको लिभरपुलले ६८ मिनेटभित्र पाँच गोल गरेको थियो ।
जसमा शलाहले पहिलो हाफमा दुई उत्कृष्ट गोल गरे । रोमाबाट लिभरपुल आए यता उनले ४३ गोल गरिसकेका छन् ।
खेलको दोस्रो हाफमा शलाहको पासमा साडियो मानेले लिभरपुलको तेस्रो गोल गरे । लगत्तै उनले रोबर्टो फर्मिन्होको लागि अर्को गोलको अवसर सृजना गरे ।
फर्मिन्होले जेम्स मिल्नरको पासमा अर्को गोल थपेपछि लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइलनमा ५ गोल गर्ने दोस्रो टोली बन्यो ।
यसअघि आयाक्सले सन् १९९५ मा बायर्न म्युनिखविरुद्ध ५ गोल गरेको थियो ।
५–० को अग्रता बनाएको लिभरपुलले खेलको अन्त्यतिर भने दुई गोल खान पुग्यो । एडिन जेकोले रोमाको लागि पहिलो गोल गरे भने मिल्नरले डि एरियामा बल हात छोएपछि पाएको पेनाल्टीलाई डिएगो पेरोटीले सजिलै जाली चुमाए ।
क्वाटरफाइनलमा रोमा बार्सिलोनाको घरेलु मैदानमा ४–१ गोलअन्तरले पराजित भएपनि दोस्रो लेगमा ३–० को अप्रत्यासित जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्न सफल भएको थियो ।
लिभरपुलका तीन खेलाडीले यो सिजन च्याम्पियन्स लिगमा ८ वा सोभन्दा बढी गोल गरेका छन् । जसमा शलाह १०, फर्मिन्हो १० र माने ८ रहेको छ ।
अब दोस्रो लेग बुधबार रोमाको घरेलु मैदानमा हुनेछ ।
दोस्रो सेमिफाइनलमा आज बायर्न म्युनिख र रियल म्याड्रिड आमनेसामने हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?