शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कुमाल बालबालिकालाई विद्यालय ल्याउन दिवा खाजा

शुक्रबार, १४ वैशाख २०७५, ०८ : ५६
शुक्रबार, १४ वैशाख २०७५

पाल्पा - रिब्दीकोट गाउँपालिका–१, जोगिथुमस्थित कालिका आधारभूत विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन हुने भएको छ । 

कुमाल समुदायका बालबालिकालाई नियमितरुपमा विद्यालय ल्याउने उद्देश्यका साथ गाउँपालिकाले दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । 

आर्थिकरुपमा अतिविपन्न कुमाल समुदायका बालबालिका कक्षा छाडेर श्रम गर्न जान थालेपछि विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरी बालबालिकालाई विद्यालयमा टिकाउन खोजिएको हो । 

नयाँ शैक्षिकसत्रमा बाल कक्षादेखि कक्षा ८ सम्म १२९ बालबालिका विद्यालयमा भर्ना भएका छन् । बालकक्षामा २०, कक्षा १ मा १६, कक्षा २ मा १०, कक्षा ३ मा १८, कक्षा ४ मा १४, कक्षा ५ मा १३, कक्षा ६ मा १३ कक्षा ७ मा १० र कक्षा १६ जना बालबालिका विद्यालयमा नयाँ शैक्षिक सत्रमा भर्ना भई अध्ययन गर्दै आएका छन् । 

ज्येष्ठ १ गतेदेखि यहाँको कालिका आधारभूत विद्यालयमा दिवा खाजा सञ्चालन हुनेछ । विद्यालयको भर्ना अभियानका क्रममा समेत तीनजना बालबालिका भर्ना गरिएको छ । गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले दिगो विकासको लक्ष्यसहित सन् २०३० सम्म कुपोषण अन्त्य गर्न दिवा खाजा कार्यक्रम सञ्चालन हुने बताए । 

गाउँपालिकाले प्रतिविद्यार्थी प्रतिदिन रु २० बराबरको आर्थिक सहयोग दिने प्रशासकीय अधिकृत अनिल पौडेलले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठगबहादुर कुमालले दिवा खाजा कार्यक्रमपछि कक्षा छाड्ने बालबालिकाको संख्यामा कमी आउने बताए । स्थानीय तह र विद्यालयबीच दिवा खाजा कार्यक्रम सम्झौता भएको छ । 

मनकारी जनप्रतिनिधि 

कुमाल बालबालिकाले अध्ययन गर्ने कालिका आधारभूत विद्यालयको समग्र विकासका लागि सबै क्षेत्रबाट सहयोग जुटेको छ । गाउँपालिका अध्यक्ष जिसीले रु १२ हजार आर्थिक सहयोग गरेपछि ठूलो मात्रामा आर्थिक सहयोग जुटेको हो । 

विद्यालयमा तीनजना मात्र शिक्षकको दरबन्दी रहेको विद्यालयमा चारजना निजी स्रोतका शिक्षकले पढाउँछन् । एकजना राहत शिक्षक र एकजना कार्यालय सहयोगी छन् । विद्यालयले निजी स्रोतबाट सञ्चालित शिक्षकलाई तलब खुवाउन समस्या हुँदै आएको छ । सहयोगदाताबाट प्राप्त भएको आर्थिक सहयोग विद्यालयको नाममा रहनेछ । 

रिब्दीकोट गाउँपालिका–१ का वडाध्यक्ष विष्णुप्रसाद गैरैले रु २० हजार आर्थिक सहयोग गर्नुभयो । स्थानीय राजनीतिक दलका अगुवाले पनि विद्यालयको सुधारका लागि तन, मन, धनले सहयोग गरेका छन् । स्थानीय नेकपा ९एमाले०का भीमलाल पाण्डेयले रु दुई हजार ४००, काँग्रेसका लक्ष्मी गैरेले रु दुई हजार ४००, नेकपा ९माओवादी केन्द्र०का नेता भीमबहादुर रानाले रु दुई हजार आर्थिक सहयोग गरे । 
नेपाल पत्रकार महासंघ, पाल्पा शाखाले रु पाँच हजार सहयोग ग¥यो । सामाजिक स्रोत विकास केन्द्र, पाल्पाबाट रु १० हजार, रिब्दीकोट गाउँपालिकाका कर्मचारीबाट रु १६ हजार, स्थानीय चिरञ्जीवी पोखरेलबाट रु छ हजार, गीता पाण्डेयबाट रु छ हजार, स्रोतव्यक्ति लक्ष्मी ढुंगानाबाट रु पाँच हजार, ख्याहा, पाल्पा काठमाडौँ समाजबाट रु १० हजार बराबरको स्टेशनरी समान सहयोग गरी कूल रु ९९ हजार संकलन भएको स्रोत व्यक्ति लक्ष्मी ढुंगानाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप