शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

किम जोंग उनले विश्वास गर्ने यी ९ व्यक्ति

शुक्रबार, १४ वैशाख २०७५, १२ : २६
शुक्रबार, १४ वैशाख २०७५

दक्षिण कोरियाली जमिनमा त्यहाँका राष्ट्रपति मून जे–इनसँगको भेटवार्ताका लागि उत्तर कोरियाली नेता एक विशेष प्रतिनिधी मण्डलसहित पुगेका छन् ।

प्रतिनिधी मण्डलमा जो व्यक्ति समावेश छन् उनीहरु किम जोंग उनका विश्वासिला भएको बताइन्छ । उत्तर कोरियाका यस्ता वरिष्ठ प्रतिनिधी मण्डललाई आफ्नो देशमा पहिलो पटक स्वागत गर्ने मौका पाएको दक्षिण कोरियाले बताएको छ ।

यो महत्वपूर्ण भेटघाटले किम र ट्रम्पबिचको भेटवार्ताको मार्ग प्रशस्त गर्ने अनुमान गरिएको छ ।

को– को छन् किम जोंग उनको प्रतिनिधी मण्डलमा ?

किमकी बहिनीः किम यो –जोंग

किम यो–जोंग उत्तर कोरियाली पूर्व शासक किम जोंग इलकी कान्छी छोरी हुन् । किम यो–जोंग र किम जोंग उन एकै आमाका सन्तान हुन् । उनी आफ्ना दाइभन्दा चार वर्ष कान्छी छिन् र दुबैले स्विट्जरल्याण्डमा सँगै पढेका हुन् ।

उनले केही वर्षयता आफ्नो दाइको छवी सुधार्नका लागि काम गरिरहेको बताइन्छ र पार्टी प्रोपगान्डा विभागमा उनले महत्वपूर्ण भूमिका निभाउँदै आएकी छिन् । गत वर्ष उनको राजनीतिक भूमिकामा बढोत्तरी गर्दै उनलाई पोलिटब्यूरोमा समावेश गरिएको थियो ।

यसअघि किम जोंग उनकी बहिनी किम यो–जोंग यसैवर्ष प्योंगचांगमा भएको विन्टर ओलम्पिक खेलमा समावेश हुनका लागि दक्षिण कोरिया गएकी थिइन् ।

उनी उत्तर कोरियाको निकै महत्वपूर्ण नेतामा गनिन्छिन् । जानकारका अनुसार किमले जुन कडा निर्णय लिन्छन् त्यसमध्ये थुप्रै निर्णयमा उनकी बहिनीको हात हुन्छ ।

किम योंग– नम

९० वर्षीय किम योंग नमले आफ्नो लामो कार्यकालमा देशका तीन शासकको शासन देखे । उनले थुप्रै पटक विदेश भ्रमण पनि गरिसकेका छन् ।

गत वर्ष उनी इरानका राष्ट्रपति हसन रुहानीको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा भाग लिन पुगेका थिए । सुप्रिम नेतृत्वप्रति उनको निष्ठामाथि कहिले पनि प्रश्न उठाइएको छैन ।

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले एक उत्तर कोरियाली व्यक्तिलाई उद्धृत गर्दै लेख्यो, ‘उनले कहिले पनि गल्ती गर्दैनन् । त्यसैले देशको विभिन्न पदमा नेतृत्व परिवर्तन भइरहँदा उनले भने आफ्नो ओहदा बनाइराख्न सफल भएका छन् ।’

चोई ह्वीः

चोई ह्वी उत्तर कोरियाका खेलमन्त्री हुन् र सरकारी टेलिभिजनमा आफ्नो सहज छवीका लागि परिचित छन् ।

उत्तर कोरिया लिडरशीप वाच ब्लगका अनुसार सन् १९८० को दशकमा सी अफ ब्लड ओपेरा समूहका प्रबन्धकको रुपमा उनले महत्वपूर्ण भूमिका निभाएका थिए ।

उनले आफ्नो करियरको अधिकांस समय देशको कला क्षेत्रमा बिताएका छन् र देशको पहिलो महिला पप ग्रुप मोरनबन्ग ब्यान्डको स्थापनामा उनको महत्वपूर्ण भूमिका थियो ।

किम योंग–चोलः

जनरल किम योंग–चोल उत्तर कोरियाका विवादित नेतामध्येका एक हुन् । उनी देशका सैन्य गुप्तचर विभागका प्रमुख थिए । सन् २०१० मा योनपियोंग द्वीपमा भएको हमला र दक्षिण कोरियाली युद्धपोत चेओनानमाथि गरिएको हमलामा उनकै रणनीति भएको बताइन्छ ।

लिडरशीप वाच रिपोर्टका अनुसार किम व्यंग्य गर्ने प्रवृत्तिका छन् र उनीसँग काम गर्न निकै गाह्रो छ ।

सन् २००७ मा दक्षिण कोरियासँग चलिरहेको वार्ताको क्रममा उनले कथित रुपमा दक्षिण कोरियाको एक प्रस्ताव खारेज गरेका थिए । उनले भनेका थिए, ‘सायद तपाईंसँग प्रस्तावले भरिएको अन्य कुनै ब्रिफकेस पनि हुनसक्छ ।’

री सू–योंगः

री सू–योंगलाई री चोलको नामले पनि चिनिन्छ । उनको किम जोंग उनको परिवारसँग निकै पुरानो सम्बन्ध पनि छ । उनी किम जोंग–इलका स्कूलका साथी हुन् र पछि स्विटजरल्याण्डमा पढाईको क्रममा उनका दुई सन्तानका अभिभावक पनि रहे ।

उत्तर कोरियाली लिडरशीप वाचका अनुसार किम जोंग उनले उनलाई आफ्नै ‘बुवा सरह’ मान्दछन् ।

उनले विदेशमा थुप्रै पटक उत्तर कोरियाको प्रतिनिधित्व गरेका छन् । सन् २०१४ मा उनलाई विदेशमन्त्री बनाइएको थियो । अहिले उनी अन्तर्राष्ट्रिय मामलाका विभाग प्रमुख हुन् र विदेशी राजनीतिकसँगको कुराकानीमा आफ्नो महत्वपूर्ण भूमिका निभाउँछन् ।

उत्तर कोरियाली लिडरशीप वाचका अनुसार संयुक्त राष्ट्रमा एक राजदूतको रुपमा पनि उनको सम्मान गरिन्छ ।

री म्योंग–सूः

री म्योंग–सूले सन् २०१६ मा देशको सेना प्रमुखको रुपमा पदभार सम्हाले । किम जोंग उनको शासनकालमा उनी अघि दुई सेना प्रमुखमध्ये एकको हत्या र अर्कालाई देश निकाला गरेको बताइन्छ ।

उनले कोरियाली युद्धमा भाग लिसकेका छन् । उनलाई एक प्रमुख सैन्य रणनीतिकारको रुपमा हेरिन्छ । उत्तर कोरिया लिडरशीप वाचका अनुसार उनले किम जोंग उनलाई देशको नेतृत्व लिनका लागि तयार बनाएका थिए ।

किम जोंग–इलको मृत्यु भएको केही वर्षसम्म उनी गायब थिए तर अब उनी पुनः एकपटक देशका चर्चित नेतामा सम्मिलत छन् ।

पाक योंग–सिकः

पाक योंग–सिक सन् २०१५ देखि उत्तर कोरियाका रक्षामन्त्री (मिनिस्ट्री अफ पिपल्स आर्म्ड फोर्सेस) हुन् । उनले मन्त्रालय सेनाको प्रशासनिक र अन्य गतिविधीका साथै विदेशी सेना र राजदूतसँग भेटवार्ता र कुराकानी गर्छन् ।

देशको सेनाको पुनर्गठनको कामको उनकै निगरानीमा हुने गर्छ ।

री योंग–होः

उत्तर कोरियाका लागि बेलायतलगायतका थुप्रै देशका राजदूत भइसकेका री योंग–हो परमाणु कार्यक्रमका मुख्य मध्यस्थकर्ता हुन् । सन् २०१६ मा उनलाई विदेशमन्त्री बनाइएको थियो । उनी धेरै बोल्नुपर्ने नेतामा गनिन्छन् ।

गत वर्ष उनले अमेरिकामाथि उत्तर कोरियाविरुद्ध युद्ध सुरु गरेको आरोप लगाएका थिए र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको धम्की ‘कुकुर भुके सरह’ बताएका थिए ।

री सोन–ग्वोनः

री सोन–ग्वोन दक्षिण कोरियासँग उत्तर कोरियाको सम्बन्धमा निगरानी राख्ने समूह पिसफुल रियुनिफिकेशन अफ द कन्ट्री समितिका प्रमुख हुन् ।

केही समय अघि भएको ओलम्पिक खेलमा उत्तर कोरियाको संलग्नता सम्बन्धि कुराकानीमा उनको महत्वपूर्ण भूमिका रहेको थियो ।

उनले दक्षिण कोरियाको सैन्य अभ्यास विरुद्ध चेतावनी दिने गर्दछन् । उनले सन् २०१० मा भएको युद्धपोत हमलामा आफ्नो सरकारको संलग्नतालाई खारेज गरेका थिए ।

बीबीसी हिन्दीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप