शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

किन चीन तस्कर भइरहेका छन् ‘पाकिस्तानी दुलही’ ?

बिहीबार, ०२ जेठ २०७६, १० : ०५
बिहीबार, ०२ जेठ २०७६

साहेर बलोच, बीबीसी

६ महिना अघि पाकिस्तानको पूर्वी सहर फैसलावादमा एक स्थानीय क्रिश्चियन महिला र एक किश्चियन पुरुषबीच विवाह भयो । पुरुष चिनियाँ थिए । विवाह बन्धनमा बाँधिएकी युवती १९ वर्षकी थिइन् भने युवक २१ थिए ।

युवती एक तालिम प्राप्त सिंगारकर्मी थिइन् । युवक कस्मेटिक सामान बेच्ने व्यवसायी थिए । लगभग उस्तै क्षेत्रमा रहेका दुईबीचको जोडिलाई एकदम सुहाउने जोडी मानिएको थियो ।

दुलहीको परिवार विवाह खर्च तिर्न सक्ने अवस्थामा पनि थिएन, त्यसैले विवाहको ठूलो खर्च दुलाहा आफैले तिरे । अझ विवाह पाकिस्तानी परम्परा अनुसार सम्पन्न भएको थियो ।

सुरुमा केटा केटीको हात माग्न गए, केटीले मानेपछि दुलाह जन्ती लिएर दुलहीको घर आएका थिए । यसरी विवाह भएकाले दुलहीका अभिभावक पनि छोरीलाई लिएर ढुक्क थिए । विवाहपछि युवती आफ्नो श्रीमानसँगै चीन गइन् ।

तर त्यसको एक महिनापछि युवती दुःखी हुँदै उनको अभिभावकको घर फर्किइन् । आफ्नो असली नामको साटो सोफिया भनेर चिनाउने युवतीले आफू चिनियाँ तस्करको फेला परेको बताइन् ।

चीनमा ‘यौन दासत्व’ बाट उम्केको बताउने सोफिया चीन तस्करी भइरहेका पाकिस्तानी दुलहीको एक उदाहरण मात्र हुन् ।

यस्तो विवाहलाई पछ्याइरहेकी सलीम इक्वाल एक क्रिश्चियन मानव अधिकार अभियानकर्मी हुन् । उनका अनुसार गत वर्ष मात्र कम्तिमा ७०० पाकिस्तानी महिलाले चिनियाँ पुरुषसँग विवाह गरे ।

तिनमा अधिकांश क्रिश्चियन रहेको इक्वालको अवलोकनले देखाएको छ । यी मध्ये अधिकाशंको अवस्था अज्ञात रहे पनि ह्युमन राइट वाचले ती ‘यौन दासत्वको जोखिम’ मा रहेको बताएको छ ।

पछिल्ला केही हप्तामा, पाकिस्तानमा दुई दर्जनभन्दा बढी चिनियाँ नागरिक र केही स्थानीय दलाल झुटो विवाहको आशंकामा पक्राउ परेका छन् ।

यस प्रकरणबारे बोल्दै पाकिस्तानको संघीय अनुसन्धान एजेन्सीले भनेको छ, ‘केही चिनियाँ आपराधिक समूहले विवाहको आवरणमा पाकिस्तानी महिलालाई यौन व्यापारका लागि तस्करी गरिरहेका छन् ।’

यी तस्करको प्रमुख निशानामा पाकिस्तान गरिब र सीमान्तकृत क्रिश्चियन समुदायका महिला पर्ने गरेको देखिएको छ । क्रिश्चियन समुदायका अभिभावकलाई लाखौँ तिरेर तिनले महिलालाई चीन लाने गरेको अनुसन्धानबाट देखिएको छ ।

चीनले भने पाकिस्तानी महिला देश व्यापारको लागि चीनमा तस्करी भइरहेको आरोप खण्डन गरेको छ । उसले कयैन मिडिया रिपोर्टले झुटो र बनावटी हल्ला फैलाएको प्रतिक्रिया दिएको छ ।

यद्यपि, उसले यो वर्ष चीनको भिषाको लागि आवेदन दिने पाकिस्तानी दुलहीको संख्यामा भने वृद्धि भएको स्वीकार गरेको छ ।

चीनमा दुलहीको अभावको प्रभाव ?

पाकिस्तानमा सञ्चालन भइरहेको ‘चीन–पाकिस्तान आर्थिक परियोजना’ अन्तर्गत चीनले अर्बौं डलर लगानी गरिरहेको छ । उक्त परियोजनामा काम गर्नको लागि दशौँ हजारा चिनियाँ नागरिक पाकिस्तानमा छन् ।

दुई देशबीचको मित्रता पछिल्लो समय निक्कै सुमधुर बनेको छ । यही आत्मियताको कारण पाकिस्तानमा हाल चिनियाँ नागरिक एयरपोर्टमा झरेपछि भिषा दिने सहुलियत छ । यसले पाकिस्तानमा आउने चिनियाँ नागरिकको संख्या बढेको देखिन्छ ।

अनुसन्धानकर्ताका अनुसार चीनको दशकौँ लामो ‘एक बच्चा नीति’ र त्यस अन्तर्गत छोरालाई प्राथमिकता दिइँदा हाल चीनमा दुलही पाउनै कठिन छ ।

यस अघिनै चीनका अन्य गरिब छिमेकी भियतनाम, म्यानमार र कम्बोडियाका महिलालाई रोजगारीको लागि भनेर चीन लाने र त्यहाँ विवाह गर्न इच्छुक पुरुषलाई बेच्ने गरेको घटना बाहिर आएका थिए ।

सुधारिएको सम्बन्ध र सहज आगमनको कारण पाकिस्तान चीनको अर्को ‘विवाह व्यवसाय’को गन्तव्य बनेको देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप