शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

इस्तियाक राइ र प्रधानमन्त्री ओलीको दोस्तीलाई किन बुझ्न सकेनन् उपेन्द्रले ?

सोमबार, १४ पुस २०७६, ०९ : १६
सोमबार, १४ पुस २०७६

काठमाडौँ । समाजवादी पार्टीले मन्त्रीको राजीनामा र सरकारबाट समर्थन फिर्ता लिएसँगै सो पार्टीका सचिव एवम् पूर्वमन्त्री मोहम्मद इस्तियाक राइको चर्चा शुरु भएको छ ।

समाजवादी पार्टीबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा दुईजना मन्त्री सहभागी थिए । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वयम् उपप्रधान तथा स्वास्थ्य मन्त्री (पछि कानुन मन्त्रीमा सरुवा) थिए भने पार्टीका सचिव राइ शहरी विकास मन्त्री थिए । दुवैजनाले जेठ १८ गते मन्त्री पदको सपथग्रहण लिएका थिए ।

शुरुवाती ४–५ महिनासम्म प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री यादवको राम्रै सम्बन्ध थियो । तर विस्तारै दुवैजनाको सम्बन्धमा दरार आउन थाल्यो । यसको उत्कर्षमा प्रधानमन्त्री ओलीले यादवलाई नसोधी उनको मन्त्रालय नै परिवर्तन गरिदिए । अझ समाजवादीका अध्यक्ष यादवले कानुनमन्त्रीको हैसियतमा संविधान संशोधनको विषयमा छलफल गर्न विज्ञ समूह गठन गर्नुपर्ने प्रस्ताव मन्त्रीपरिषद्मा लाँदा प्रधानमन्त्री ओलीले अपमानपूर्ण तरिकाले सो प्रस्ताव अस्वीकार गरेका थिए । अन्ततः समाजवादी पार्टीले सरकार छाड्ने अवस्था नै सृजना भयो ।

तर, यो राजनीतिक घटनाक्रममा इस्तियाक राइको भूमिकाप्रति पार्टीभित्र शङ्का उपशङ्का पैदा छ । कतिपय नेताले उपेन्द्र यादव र प्रधानमन्त्री ओलीबीच दुरी बढाउने काम राइले नै गरको आरोप लगाएका छन् । यादवसँगको सम्बन्धमा चिसोपना बढी रहँदा प्रधानमन्त्री ओली र राइबीच राम्रो दोस्ती रहेको थियो । यही कुराले गर्दा पार्टीभित्रका थुप्रै नेताहरुले उनलाई शंकाको घेरमा राखेका छन् ।

समाजवादी पार्टीकी नेतृ विणा सिन्हाले इस्तियाक राइको बारेमा पार्टीमा ‘चर्चा’ भएको कुरा आफूले पनि सुनेको बताइन् । मनोमानी ढङ्गले मन्त्रालय चलाएको, पार्टीको निर्देशन नमानेको, आफ्नो पार्टीभन्दा पनि प्रधानमन्त्री ओलीको इशारामा चलेको कुरा पार्टीभित्र चर्चा भएको कुरा आफूले पनि सुनेको उनले बताइन् । ‘तर त्यो कुरामा कतिको सत्यता छ, मलाई थाहा भएन,’ उनले भनिन् ।

ओलीसँग राम्रो सम्बन्ध भएकै कारण उपेन्द्र यादवको मन्त्रालय फेरबदल गरिँदा राइको मन्त्रालय फेरबदल गरिएन । यहाँसम्म कि सरकारबाट उपेन्द्र यादवलाई हटाए पनि राइलाई निरन्तरता दिने सोचमा प्रम ओली रहेको पार्टीका नेताहरु बताउँछन् ।

यता, उपेन्द्र यादव मन्त्री पदबाट हटे पनि आफू सरकारमा रहने कुरामा ढुक्क थिए राइ । स्रोत भन्छ, पुस ८ गते उपेन्द्र यादवले राजीनामा नदिएको भए उनलाई त्यही दिन साँझसम्म बर्खास्त गर्ने तयारीमा थिए प्रधानमन्त्री ओली । यसबारे सूचना समाजवादी पार्टी पदाधिकारीको बैठक चलिरहकै बेलामा त्यहाँ पुगेको थियो ।  यो सूचना थाह पाएपछि यादवले हतार हतार सादा कागजमा राजीनामा लेखेर प्रधानमन्त्री कार्यालय पठाएका थिए ।

यता, पदाधिकारी बैठकमा राइ उपस्थित थिएनन् । उनी यी कुराबारे बेखबर थिए । आफूले मन्त्री पद छाड्नै नपर्ने सोचमा उनी सिंहदरवारको संसदीय दलको कार्यालयमा ढुक्क साथ बसेका थिए ।

आफूले राजीनामा दिने तयारी गरेपछि यादवले राइले फोन गरेर राजीनामा दिन निर्देशन दिएका थिए । केही समय राइले उक्त निर्देशनलाई वेवास्ता गर्दै सिंहदरवारमा नै बसेका थिए । उपेन्द्र यादवले मन्त्री पदबाट राजीनामा दिएको समाचार आउन थालेपछि मात्र राइले पनि त्यही छेउमा रहेको शहरी विकास मन्त्रालयका आफ्ना निजी सचिवालयका कर्मचारीलाई लेटरप्याडमा राजीनामा लेखेर ल्याउन भनेका थिए । मन्त्रालयका कर्मचारीले लेटरप्याडमा लेखिएको राजिनामापत्र संसदीय दलको कार्यालयमा ल्याइदिएपछि उनले हस्ताक्षर गरेर प्रधानमन्त्री कार्यालय पठाएका थिए ।

राजीनामा पत्रमा राइले के कारणले र किन राजीनमा दिएको भन्ने खुलाएका छैनन् । उनले प्रधानमन्त्री समक्ष दिएका राजिनामा पत्रमा लेखिएको छ,–‘उपरोक्त सम्बन्धमा मलाई नेपाल सरकार शहरी विकास मन्त्रालयको मन्त्री पदमा नियुक्त गर्नु भई कामकाजको जिम्मेवारी दिनुभएकोमा नेपालको संविधानको धारा ७७ को उपधारा २ (क) बमोजिम मैले उक्त मन्त्री पदबाट राजीनमा दिएको छु । सहकार्य गर्ने अवसर दिनु भएकोमा विशेष धन्यवाद व्यक्त गर्दछु ।’

यता, उपेन्द्र यादवले भने राजीनामा पत्रमा मन्त्री पद छाड्नुपर्ने कारण स्पष्टरुपमा खुलाएका छन्  । यादवले दुई बुँदे सम्झौता गरि सरकारमा सहभागी भएको तर त्यस सहमतिको बारेमा पटक–पटक जानकारी गराएको, स्मरणपत्र दिएको तथा पुस ७ गतेको मन्त्रीपरिषद्को बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्यका लागी संविधान विज्ञ सुझाव समिति गठन गर्न प्रस्ताव गर्दा त्यसलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरी दुई बुँदे सम्झौता कार्यान्वयनबाट पछाडी हटेको तथा सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएको कारण नैतिका आधारमा मन्त्री पदबाट राजीनामा दिएको आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

उता, राइले भने उल्टै प्रधानमन्त्री ओलीलाई सहकार्य गर्ने अवसर दिएकोमा विशेष धन्यवाद ज्ञापन गरेका छन् । पार्टीमा यी दुई राजीनामा पत्रको बारेमा पनि चर्चा भइरहेको छ । ‘पार्टीका अध्यक्ष र पार्टीलाई प्रधानमन्त्री ओलीले अपमान गरिरहँदा आखिर प्रधानमन्त्री ओलीप्रति राइको यत्रो माया किन ?,’ पार्टीका नेताहरुले प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री ओलीसँग आफ्ना राम्रो सम्बन्ध रहेको कुरा राइ पनि स्वीकार गर्छन् । उनले भने, ‘प्रधानमन्त्री ओलीसँग एउटा मन्त्रीको रुपमा मेरो राम्रो सम्बन्ध थियो, काम गर्नमा उहाँले मलाई राम्रो सहयोग गर्नुभएको थियो ।’ प्रधानमन्त्री ओलीलाई राजीनामा पत्रमार्फत धन्यवाद दिएको बताउँदै उनले पार्टीभित्र आफ्नो बारेमा टिकाटिप्पणी हुने कुरा आफूले पनि सुनेको बताए ।

उनले राजनीतिक कुरामा पार्टीका अध्यक्ष उपेन्द्र्र यादव र प्रधानमन्त्री ओलीबीच कहाँ कुरा नमिलेको आफूलाई थाहा नभएको बताउँदै व्यक्तिगत रुपमा प्रधानमन्त्रीसँग आफ्नो राम्रो सम्बन्ध रहेको राइले बताए । ‘मेरो प्रधानमन्त्री ओलीसँग राजनीतिक कुराकानी कहिल्यै हुँदैन थियो । आर्थिक विकास र समृद्धिको विषयमा मात्र हाम्रो कुराकानी केन्द्रीत हुन्थ्यो,’ उनले पार्टीले निर्देशन दिएको कारण आफूले राजीनामा दिएको बताए ।

सरकारबाट मन्त्रीले दिएको राजीनामाको बारेमा संसदीय दलको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा राइ अनुपस्थित थिए । भोलिपल्ट पुस ९ गते सरकारबाट समर्थन फिर्ता लिएको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पनि राइ देखिएनन् । दुवै सम्मेलनमा राइको खोजी भइरहेको थियो । पुस १० गते मन्त्रालयमा आयोजना गरेको बिदाइ कार्यक्रममा भने राइ सहभागी भएका थिए । त्यो कार्यक्रममा पनि उनले प्रधानमन्त्री ओलीको प्रशंसा गरेका थिए ।

पार्टीको कार्यक्रममा राइको अनुपस्थिति र पार्टी अध्यक्षको अपमान गर्ने सरकार र त्यसको नेतृत्वकर्ताको गुणगान गाउनु पार्टीमा चर्चाको विषय बनेको छ ।

यहाँसम्म कि पार्टीका एक नेताले राइ नेकपामै प्रवेश गर्नका लागि पनि तयार भइसकेको आरोप लगाए । तर, संसद पद गुम्ने भएपछि उनी ब्याक भएको ती नेताको आरोप छ । समाजवादी पार्टी छाडेर नेकपामा जानेसल्लाह भइरहेको कुरा पार्टीका अध्यक्ष यादव र प्रदेश २ का मुख्यमन्त्री एवम् पार्टीका उपाध्यक्ष लालबाबु राउतको कानसम्म पुगेको थियो । यो कुरा थाह पाउने वित्तिकै मुख्यमन्त्री राउतले तत्कालै राइलाई फोन गरेर यस विषयमा सोध्दा उनले नेकपामा जाने त्यस्तो कुनै कुरा नरहेको जवाफ दिएका थिए ।

राइबाट मन्त्री यादव पनि आजित रहेको बताइन्छ । पार्टीबाट मन्त्री भएपनि यादवलाई नै उनले नटेरेको गुनासो पार्टीभित्र रहेको थियो । राइ मन्त्री हुँदा उनको बारेमा थुप्रै गुनासोहरु अध्यक्ष समक्ष जान्थ्यो । राइ मन्त्री हुँदा आफ्नो जिल्ला र क्षेत्रबाहेक मधेशका अन्य जिल्लामा कुनै पनि कार्यक्रम नदिएको तथा सचिवालयमा पनि पार्टीले सिफारिस गरेको भन्दा बाहिरका व्यक्तिलाई राखेको पार्टीमा गुनासो छ ।

समाजवादी पार्टीका एक नेताले भने, ‘इस्तियाक राइ उपेन्द्र यादवभन्दा बढी केपी शर्मा ओलीको कुरा मान्नुहुन्थ्यो । मन्त्रालय पनि ओलीकै सल्लाहमा चलाउनु हुन्थ्यो । मन्त्रालयमा पार्टीका नेता तथा कार्यकर्ताहरु भेट्न जाँदा पनि वास्ता गर्नुहुन्थेन ।’

पार्टीका नेता तथा कार्यकर्ताको कुरा सुन्न र बुझ्न दुवैजना मन्त्री पार्टी कार्यालय जाने समयसमेत विभाजन गरिएको थियो । यादव आफ्नो निर्धारित समयमा सधैँ पार्टी कार्यालय जान्थे । पार्टीका नेता तथा कार्यकर्ताको कुरा सुन्नुको साथै भेटघाट गर्थे । तर, राइ भने पार्टीले तोकेको समयमा कहिले पार्टी कार्यालय नगएको पार्टीभित्र गुनासो रहेको छ । पार्टीका धेरैजसो बैठकहरुमा पनि उनी अनुपस्थित हुन्थे ।

पार्टीभित्र हुने छलफल कुरा पनि राइले प्रधानमन्त्री ओलीलाई गएर सुनाउने काम गरेको पार्टीका नेताहरुको आरोप छ । एक नेता भन्छन्, ‘समाजवादी पार्टीमा सरकार तथा प्रधानमन्त्री अ‍ोलीको बारेमा कसैले के टिप्पणी ग¥यो कि बालुवाटर पुगिहाल्थ्यो । सरकारमा पार्टीको नीति कस्तो हुने छलफलको बारेमा प्रधानमन्त्री ओलीले जस्ताको त्यस्तै थाह पाउँथे ।’ बैठकमा सरकार र आफ्नै बारेमा भएको टिप्पणीले गर्दा प्रधानमन्त्री ओली उपेन्द्र यादवमाथि झनै क्रुद्ध हुँदै गइरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप