आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीका ‘आईटी विज्ञ’को कर्तुत : आफूविरुद्ध समाचार लेखेको वेबसाइटलाई अनधिकृत नियन्त्रण लिएर समाचार नै हटाए

समाचार हटाउन अस्गर अलीको कम्पनीबाट धम्की, नमानेपछि ‘ह्याक’
बुधबार, १९ चैत २०७६, १८ : ०९
बुधबार, १९ चैत २०७६

काठमाडौँ । प्रधानमन्त्रीको आइटी सल्लाहकार अस्गर अलीको समूहले काठमाडौँबाट सञ्चालित एक अनलाइन न्युज पोर्टल ‘ह्याक’ गरेको आरोप लागेको छ । आफ्नो विरुद्ध समाचार सार्वजनिक भएपछि अस्गर अलीको समूहले ‘काठमाडौँ प्रेस’ नामक समाचार पोर्टल ह्याक गर्दै समाचार नै डिलिट गराएको आरोप लागेको हो ।

काठमाडौँ प्रेसका प्रधान सम्पादक कसमस विश्वकर्माले अस्गर अलीको समूहले आफ्नो वेभसाइट ह्याक गर्दै उनी विरुद्ध आएको समाचार हटाएको आरोप लगाएका छन् । मङ्गलबार काठमाडौँ प्रेसले ‘महङ्गोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारको छोराको संलग्नता’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । उक्त समाचारमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अलीको समेत संलग्नता रहेको भन्दै समाचार सार्वजनिक भएको थियो ।

यसरी भयो वेभसाइटमाथि कब्जा !

कसमस विश्वकर्मा प्रधान सम्पादक रहेको काठमाडौँ प्रेसको वेभ डेभलपर सिरान टेक्नोलोजीज हो । सिरान टेक्नोलोजीजले नै यस वेभसाइटको डिजाइन तथा डेभलपमेण्टको काम गर्दै आएको छ ।

अस्गर अली

सिरान टेक्नोलोजी अस्गर अली सञ्चालक रहेको एफ वान सफ्टको भगिनी कम्पनी हो । यो कम्पनीमा अस्गर अली, विश्वास ढकाल लगायत ५ जनाको शेयर स्वामित्व रहेको छ । र, काठमाडौं प्रेसको एडमिन बनाउनेदेखि डेभलपमेण्टको सबै काम सिरान टेक्नोलोजीजले गरिरहेको छ ।

मंगलबार काठमाडौँ प्रेसले अस्गर अली समेतको नाम मुछेर समाचार प्रकाशन गरेपछि बुधबार सिरान टेक्नोलोजीज तथा मूल कम्पनी एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले फोन गर्दै समाचार हटाउन काठमाडौँ प्रेसका सम्पादकलाई दबाब दिएको काठमाडौं प्रेसले जनाएको छ । तर काठमाडौँ प्रेसले उक्त समाचार हटाउन नसकिने र समाचारमा चित्त नबुझे कानुनी उपचार खोज्न सुझाव दिएको थियो ।

विश्वास ढकाल

समाचार हटाउन नमिल्ने जवाफ दिएपछि बुधबार बिहान ११ बजेर २० मिनेटमा सिरान टेक्नोलोजीका व्यवस्थापनका प्रज्वल महर्जनले काठमाडौँ प्रेसका सम्पादकलाई फोन गरी समाचार हटाउन पुनः दबाब दिएका थिए । तर समाचार हटाउन नसकिने जवाफ दोहोर्याएपछि उनीहरुले करिब ११ः२५ बजे उक्त समाचार डिलिट गरेको काठमाडौँ प्रेसले रातोपाटीलाई बताएको छ ।

एडमिन क्रिएट गर्दै समाचार डिलिट

काठमाडौँ प्रेसका अनुसार समाचार डिलिट गर्न नसकिने जवाफ दिए लगत्तै सिरान टेक्नोलोजीले नयाँ एडमिन क्रियट गरेको हो । समाचारको सम्बन्धमा आपत्ति जनाउँदै डिलिट गर्न दबाब दिएपनि काठमाडौं प्रेसले ‘साइट नचलाउनुस्, कन्टेन्टमा जाने तपाईंको अधिकार छैन’ भन्दै फोन राखेका थिए । तर त्यसको २ मिनेटमा नै [email protected] नामबाट एडमिन क्रिएट गरी उक्त समाचार डिलिट गरिएको काठमाडौँ प्रेसले जनाएको छ ।

डेढ घण्टा एडमिनमाथि नियन्त्रण

सिरान टेक्नोलोजीजले आफ्नो अधिकारक्षेत्रमै नपर्ने समाचार डिलिट मात्र नगरेर डेढ घण्टा एडमिनमा समेत कब्जा जमाएको काठमाडौँ प्रेसले जनाएको छ । समाचार डिलिट भएको समय बिहान ११ः३० बजेदेखि अपरान्ह १ बजेसम्म न्युज पोष्ट गर्न समेत नमिल्ने गरी एडमिन कब्जा गरेको भन्दै यस्तो कार्य कदापि क्षम्य हुन नसक्ने काठमाडौँले प्रेसले बतायो ।

डेभलपरले कन्टेन्ट डिलिट गर्ने कुरा कदापि स्वीकार्य हुन सक्दैन : प्रधान सम्पादक विश्वकर्मा

यस सम्बन्धमा ‘के कसो भएको हो ?’ भन्दै हामीले काठमाडौँ प्रेसका प्रधान सम्पादक कसमस विश्वकर्मालाई सोधेका थियौँ । उनले आफ्नो साइट ह्याक गरी समाचार समेत डिलिट भएको भन्दै यसबारे थप अनुसन्धान भइरहेको बताए ।

‘समाचार कसरी डिलिट भयो त ?’ भन्ने रातोपाटीको प्रश्नमा प्रधान सम्पादक विश्वकर्माले यसमा साइट डेभलपरकै हात रहेको बताए । उनले भने, ‘उक्त समाचार हामीले डिलिट गरेका छैनौँ । समाचार डिलिट हुनुभन्दा अगाडि पटकपटक उनीहरुले समाचार हटाउन दबाब दिएका थिए । त्यसपछि उनीहरुले नै नयाँ एडमिन बनाएर समाचार डिलिट गरेका छन् । यो काम साइट डेभलपर सिरान टेक्नोलोजीज बाहेक अरु कसैले गर्न सक्दैन ।’

विश्वकर्माले थपे, ‘कुनै पनि साइट डेभलपरलाई कन्टेन्टमा छिर्ने अधिकार हुँदैन । कुन समाचार हाल्ने वा नहाल्ने भन्ने कुरा डेभलपरको नभएर सञ्चारगृहको अधिकारको कुरा हो । त्यसमाथि विवादमा परेका व्यक्ति र उनी सम्बन्ध साइट डेभलपरले समाचार नै डिलिट गर्ने कुरा कदापि स्वीकार्य हुन सक्दैन । यो नेपाली पत्रकारितामा अत्यन्तै गलत अभ्यास भयो ।’

समाचारको सम्बन्धमा चित्त नबुझे कानुनी प्रक्रियामा जान सक्ने बाटो हुँदाहुँदै पनि अनाधिकृतरुपमा समाचार नै डिलिट गराउने कुरा कदापि स्वीकार्य हुन नसक्ने भन्दै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको विश्वकर्माले बताए ।

काउन्सिल भन्छ, ‘उजुरी आए छानबिन हुन्छ’

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले हालसम्म यस प्रकरणमा कुनै पनि पक्षबाट उजुरी नपरेको बताए । ‘प्रकाशित समाचारका कारण कसैलाई अप्ठ्यारो परेको हो भने त्यो पक्ष उजुरी लिएर हाम्रोमा आउनुपर्छ । समाचार लेखेकै आधारमा कुनै सञ्चार गृहमाथि अन्याय भएको छ भने पत्रकार महासंघमा पनि उजुरी गर्न सकिन्छ,’ अध्यक्ष श्रेष्ठले रातोपाटीसँगको कुराकानीमा भने । ‘तर उजुरी नै नपरेको खण्डमा अहिले नै यस विषयमा प्रतिक्रिया दिन हतारो हुन्छ होला । तर, यदि कुनै पनि पक्ष उजुरी लिएर आउँछ भने बिना कुनै आग्रह–पूर्वाग्रह छानविन गरिनेछ र न्याय दिलाइनेछ,’ श्रेष्ठले भने ।

अस्गर अली र विश्वास ढकाल दुवै जना एफवान सफ्ट नामक आइटी कम्पनीका सञ्चालक हुन् । यही कम्पनीले नेपालको पहिलो पेमेण्ट गेटवे ई–सेवासमेत सञ्चालन गरिरहेको छ । प्रधानमन्त्रीका आइटी सल्लाहकारसमेत रहेका अस्गर अली पटकपटक विवादमा आइरहने व्यक्ति हुन् ।

अपडेट : यस विषयमा अस्गर अलीसँग पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्कमा नै आउन चाहेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप