जग्गा बाँझो राखे सँधियारले खेती गर्न पाउने
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य बाँझो जमीनमा जग्गाधनी आफैँले खेती नगरे वा नगराए सँधियार वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेको छ ।
तीव्र शहरीकरण भइरहेको तिलोत्तमामा घडेरीका रुपमा विकास भएका धेरै जग्गा बाँझा छन् ।
त्यस्ता जग्गा लक्ष्य गरी नगरपालिकाले सो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी दिए ।
सो निर्णयसँगै आफ्नो घरवरिपरि भएका खाली जग्गामा मौसमी खेती गर्न बाटो खुलेको छ । यसबाट तरकारीलगायत कृषि उत्पादन बढ्ने नगरपालिकाको विश्वास छ ।
नगरपालिकाले शुक्रबार सूचना जारी गरी बाँझो जग्गामा जग्गाधनीले १५ दिनभित्र बाली लगाउन आवश्यक व्यवस्था नगरे सम्बन्धित टोल विकास संस्था र वडा कार्यालयमा जानकारी गराई व्यक्ति, कृषि फार्म, सहकारी, कृषक समूह, सञ्जालले खेती गर्न सक्ने जनाएको छ ।
यसरी खेती गर्दा जग्गाको साँध, सिमाना र बनावट भने बिगार्न नपाइने नगरपालिकाले स्पष्ट पारेको छ ।
सो निर्णयले वर्षौंसम्म जग्गा बाँझो राख्ने तर सँधियार वा छिमेकीले खेती गर्न नपाउने परिस्थितिलाई सहजीकरण गरेको नगर प्रमुख वासुदेव घिमिरेले बताए ।
यसरी खेती गरिने जग्गाको नियमानुसार लाग्ने कर जग्गाधनीले तिनुपर्ने र जग्गाधनीको अवरोधको कारणले भूमि बाँझो रहेमा नगरपालिकाले जरिवाना गर्ने सूचनामा उल्लेख छ । लकडाउनका कारण उत्पन्न परिस्थितिका कारण निकट भविष्यमा हुन सक्ने खाद्य संकटसँग जुध्न पनि जग्गा बाँझो नराख्नेगरी नीतिलाई कार्यान्वयन तहमा लैजानुपरेको नगरपालिकाले जनाएको छ ।
एक सय २६ वर्ग किलोमिटर रहेको तिलोत्तमामा वार्षिक धान २२ हजार ४६०, गहुँ आठ हजार एक सय, तरकारी ४१ हजार ४५० र मकै दुई हजार ४५० मेट्रिक टन उत्पादन हुने गरेको कृषि शाखाले जनाएको छ ।
कृषिको उत्पादकत्व बढाउन विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको तिलोत्तमाले यसअघि नै भारतीय तरकारी र फूलको प्रयोगमा रोक लगाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण