बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारको पुनर्निर्माण कात्तिकभित्र सम्पन्न गरिने

सोमबार, १२ साउन २०७७, १४ : ५६
सोमबार, १२ साउन २०७७

काठमाडौं । २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षति भएको देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार कात्तिक महिनाभित्र सम्पन्न गर्ने गरी पुनर्निर्माण भइराखेको छ । कोभिड १९ का कारण निर्माण कार्यमा असर पर्दा केही समय ढिलो हुने भएपनि मूख्य भवनको पुनर्निर्माण कात्तिक महिनाभित्र सम्पन्न गर्ने गरी काम भइराखेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ । 

सिंहदरबार देशको मूख्य प्रशासनिक निकाय हो । राणा प्रधानमन्त्री चन्द्रशमशेरले निजी निवासको रुपमा सन् १९०३ मा सिंहदरबार बनाउन लगाएका थिए । तर पछि सिंहदरबारलाई मूख्य प्रशासनिक केन्द्रको रुपमा परिणत गरियो । प्रधानमन्त्रीको कार्यलय तथा अन्य सरकारी मन्त्रालयका कार्यालयहरु सिंहदरबार भित्र छन् । ऐतिहासिक सिंहदरबारको मुख्य प्रशासनिक भवन २०७२ सालको भूकम्पले लगभग नष्ट हुने अवस्थामा पुर्यायो ।

त्यसपछि केही वर्ष सिंहदरबारको पुननिर्माण हुन सकेन । अहिले भने पुनर्निर्माणले गति लिएको छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनका आयोजना उपनिर्देशक झप्पर सिंह विश्वकर्माले सिंहदरबारमा क्षति भएका मूख्य दुई भवनहरु जसमा पूर्वपट्टिको सी आकारको भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने भवन) र पश्चिम पट्टिको मोहडाको प्रवलिकरण (रेक्टोफिटिङ) विधिबाट पुननिर्माणको कार्य भइराखेको बताए । मुख्य प्रशासनिक भवन जहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहनेछ, उक्त भवनको पुनर्निर्माण आगामी कात्तिक महिनाभित्रमा सम्पन्न गर्ने योजनाअनुसार काम भइरहेको छ ।

भदौ महिना भित्रमा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि कोरोना भाइरसका कारण काममा असर परेकाले कात्तिक महिनाभित्र सम्पन्न गर्ने योजनाअनुसार काम भइराखेको विश्वकर्माले बताए । पश्चिम पट्टिको मोहडा जटिल प्रकृतिको भएको र बहुमूल्य सामानहरु समेत रहेकाले त्यसलाई जोगाई राख्ने गरी काम भइरहेको उनले बताए । पश्चिम मोहोडाको पुनर्निर्माण २०७८ असोज मसान्त सम्म सक्ने समय सीमा रहेपनि चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइराखेको विश्वकर्माले बताए ।

सिंहदरबारको यो भवन युरोपेली शैलीमा बनेको छ । २०३० सालमा आगलागी भएपछि यो भवन सिमेन्ट, बालुवा, छड लगायतका वस्तु प्रयोग गरी जिर्णोद्धार गरिएको थियो । त्यसैले अहिले पनि सिमेन्ट, छड, गिट्टी फलाम लगायत कंक्रिटको प्रयोग गरी ज्याकेटिङ प्रविधिबाट पुनर्निर्माण गरिएको विश्वकर्माले बताए । पश्चिमपट्टिको मोहडामा सुर्खि, चुना, फलाम, सिसा, काठ प्रयोग गरि बनाइएकाले सोही अनुसारनै पुननिर्माणको काम अगाडि बढाइएको छ । राणा कालमा जुन वस्तु प्रयोग गरि जस्तो प्रविधिबाट बनाइएको थियो सोही प्रविधिअनुसार नै अहिले प्रवलिकरण भइराखेको विश्वकर्माले बताए । न्यूनतम क्षति र अधिकतम संरक्षण गर्ने सिद्धान्तअनुसार भवनको प्रवलिकरण गरिएको उनले बताए । 

आयोजनाका प्रजेक्ट म्यानेजर प्रल्हाद चापागाईंले भवनको फाउण्डेसनको काम भइरहेको बताए । उनले ब्रिक्स सोलिङ, पीसीसी, फर्मवर्क, स्टिल फ्रेमिङ र बिम पुरा गर्ने कम भइराखेको बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने पूर्वपट्टिको भवनको निर्माण ७५ करोड रुपैयाँ लागतमा सम्पन्न हुने छ । त्यस्तै पश्चिम पट्टिको मोहडाको भ्याट बाहेक ४० करोड रुपैयाँमा निर्माण सम्पन्न हुने विश्वकर्माले बताए ।

सिंहदरबारको पुनर्निर्माणको काम तीनवटा प्याकेजमा भएको उनले बताए । पहिलो प्याकेजको काम शर्मा न्यू टेक्निकल जेभि र डिभी मल्टी कन्सल्ट्यान्टबाट सम्पन्न भइसकेको छ । जस अन्तर्गतको सबै काम असार महिनामा सम्पन्न भएको थियो । दोस्रो प्याकेजमा इन्टेरियर, प्लम्बिङ लगायतका काम भइराखेको छ । यो काम कात्तिकको पहिलो साता भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको विश्वकर्माले बताए । त्यसको काम शर्मा न्यूटेक र माइक्रो टेक जे भिले गरिरहेको विश्वकर्माले बताए । तेस्रो प्याकेज अन्तर्गत पश्चिम पट्टिको मोहडाको कामलाई लिइएको छ । जसको काम शर्मा न्यू टेक्निकल जेभीले गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप