शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

श्रमको लागि युएई सबैभन्दा आकर्षक गन्तव्य, ‘विरासत फर्काउँदै’ मलेसिया

आइतबार, १८ साउन २०७७, ११ : १६
आइतबार, १८ साउन २०७७

काठमाडौं । वैदेशिक रोजगारीको खोजीमा एक वर्षमा पौने ४ लाख नेपाली विदेशिएका छन् । आर्थिक वर्ष २०७६/७७ मा कुल ३ लाख ६८ हजार ४ सय ३३ जना नेपालीले विदेश जानको निम्ति श्रम स्वीकृति लिएका हुन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार विदेश जान श्रम स्वीकृति लिनेमध्ये १ लाख ९० हजार ४ सय ५३ जना नयाँ हुन् भने बाँकी १ लाख ७७ हजार ४ सय ५३ जना विदेशबाट फर्केर पुनः विदेश जान चाहेका नागरिक हुन् । 

श्रम स्वीकृति लिन चाहने कुल जनसंख्या मध्ये करिब ८ प्रतिशत महिला छन् भने ९२ प्रतिशत पुरुष छन् । ३ लाख ६८ हजारको कुल जनसंख्या मध्ये ३ लाख ४० हजार पुरुष र बाँकी महिला रहेको विभागको तथ्यांक छ । नयाँ जनसंख्यातर्फ भने ९.५५ प्रतिशत हिस्सा महिलाको छ । यो वर्ष पहिलोपटक विदेश जान श्रम स्वीकृति लिएका १ लाख ९० हजार मध्ये १८ हजार २ सय जना महिला छन् ।

आर्थिक वर्ष २०७६/७७ मा म्यानपावरमार्फत् श्रम स्वीकृति लिनेको संख्या १ लाख ७२ हजार रहँदा व्यक्तिगत रुपमा श्रम स्वीकृति लिनेको संख्या १ लाख ९६ हजार रहेको छ । व्यक्तिगत रुपमा श्रम स्वीकृति लिनेमध्ये पहिलोपटक श्रम स्वीकृति लिने ९ हजार ६ सय, एकपटक अर्कै प्रयोजनमा विदेश गएकाको संख्या ८ हजार ५ सय तथा विदेशबाट फर्किएर आएकाको संख्या १ लाख ७७ हजार ९ सय रहेको छ ।  


सबैभन्दा आकर्षक युएई, फेरि अघि बढ्दै मलेसिया
गत आर्थिक वर्षमा युएई बढी आकर्षक रोजगार गन्तव्य बनेको छ । युएईमा लागि कुल ९३ हजार ४ सयले श्रम स्वीकृति लिएका छन् । त्यसमध्ये ५२ हजार जना नयाँ श्रमिक छन् । युएईमा महिला कामदारको आकर्षण समेत राम्रो देखिएको छ । सो देशको लागि श्रम स्वीकृति लिने ९२ हजारमध्ये महिला मात्रै करिब १२ हजार छन् । 

त्यस्तै, साउदी अरेबियाको लागि ८३ हजार १ सय जनाले श्रम स्वीकृति लिएकोमा ३९ हजार २ सय नयाँ श्रमिक छन् । श्रम स्वीकृति लिनेमध्ये महिलाको संख्या ६ सय मात्रै छ । 
आकर्षक श्रम गन्तव्यको तेस्रो नम्बरमा कतार रहेको छ । ८१ हजार ५ सयले सो देशको लागि श्रम स्वीकृति लिएकोमा पहिलोपटक स्वीकृति लिनेको संख्या २९ हजार ८ सय छ । यसरी स्वीकृति लिने महिलाको संख्या भने ३ हजार ५ सय छ । 

केही वर्ष अघिसम्म सबैभन्दा आकर्षक श्रम गन्तव्यको रुपमा रहेको मलेसिया यो वर्ष पनि चौथो नम्बरमा सीमित भएको छ । यो वर्ष ५९ हजार ७ सयले सो देशको लागि श्रम गर्ने स्वीकृति लिएकोमा ३९ हजार १ सय जना नयाँ छन् । यो संख्या युएई र साउदी अरेयिबा पछिको सबैभन्दा बढी हो । पहिलोपटक श्रम स्वीकृति लिनेमध्ये मलेसियाले कतारलाई भने जितेको छ । 

पाँचौं नम्बरमा रहेको कुवेतका लागि १६ हजार ८ सय जनाले स्वीकृति लिएकोमा ८ हजार ९ सय नयाँ छन् । कुल स्वीकृतिमध्ये महिलाको संख्या २ हजार २ सय छ । बाँकी देशहरुमा भने १० हजार भन्दा कम संख्यामा श्रम स्वीकृति प्रदान गरिएको छ । 

८ जिल्ला १० हजार भन्दा माथि, धनुषा पहिलो
सो आर्थिक वर्षमा विदेश जाने जनसंख्या मध्ये पूर्वी तथा मध्य तराईका जिल्लाहरु अघि छन् । यो वर्ष तराईका ८ जिल्लाबाट श्रम स्वीकृति लिनेको संख्या १० हजार भन्दा माथि छ ।  धनुषा जिल्लाका नागरिकहरुले गत वर्ष सबैभन्दा धेरै विदेश जान श्रम स्वीकृति पाएका छन् । यो जिल्लाका कुल २० हजार ३ सय जनाले श्रम स्वीकृति पाएकोमा १० हजार २ सय जना नयाँ छन् । २० हजारमध्ये महिलाको संख्या भने ८२ जना मात्रै छ । 

त्यस्तै, झापाबाट १८ हजार ५ सय, सिराहाबाट १६ हजार, मोरङबाट १५ हजार ३ सय, सुनसरीबाट ११ हजार ५ सय, महोत्तरीबाट १३ हजार ८ सय, नवपरासीबाट १२ हजार ६ सय, रुपन्देहीबाट १० हजार ६ सयले विदेश जाने स्वीकृति लिएको पाइएको छ । बाँकी जिल्लाबाट भने १० हजार भन्दा कमको संख्यामा स्वीकृति लिइएको छ ।

लकडाउनले घटायो स्वीकृति संख्या
आर्थिक वर्ष २०७६/७७ मा श्रम गर्न विदेशिनेको संख्यामा उल्लेख्य कमी आएको पाइएको छ । अघिल्लो वर्ष कुल ५ लाख ८ हजार जनाले श्रम स्वीकृति लिएकोमा यो वर्ष ३ लाख ६८ हजारमा यो संख्या सीमित भएको हो । यो करिब २५ प्रतिशतको गिरावट हो । 

यो अवधिमा पहिलोपटक विदेश जान चाहनेको संख्यामा भने करिब २० प्रतिशत कमी आएको छ । अघिल्लो वर्ष २ लाख ३६ हजार नयाँ व्यक्तिले श्रम स्वीकृति लिएकोमा यो वर्ष यो संख्या १ लाख ९० हजारमा सीमित भएको हो । 
यसरी विदेशिनेको संख्या कमी आउनुमा कोरोनाभाइरसको महामारी र लकडाउन प्रमुख कारण रहेको वैदेशिक रोजगार विभागको अनुमान छ । विभागका प्रवक्ता भोलानाथ गुरागाइँ सरकारले घोषणा गरेको लकडाउनपछि श्रम स्वीकृति स्थगित भएको र कोरोनाभाइरसको महामारीका कारण विश्व बजारमा श्रमिकको माग समेत कम भएका कारण यस्तो संख्या घटेको हुनसक्ने विभागको अनुमान रहेको बताउँछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप