एकीकृत समाजवादीका भ्रातृ संगठनमा किन बल्झिरहन्छ विवाद ?

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठनमा एकपछि अर्को विवादले भाँडभैलो मच्चिएको छ । पछिल्ला केही दिनयता युवासंघ, अनेरास्ववियु र पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठनमा देखिएको असन्तुष्टि र विवादसँगै संगठन छाड्ने र निष्क्रिय बस्नेहरू बढ्न पुगेका हुन् ।
पार्टी नेतृत्वले असन्तुष्ट पक्षका माग सम्बोधन गर्न समयमै पहल नगरे ती संगठनहरूमा सामूहिक विद्रोह नै गर्नुपर्ने अवस्था आउन सक्ने समेतको चेतावनी दिन थालिएको छ ।
पछिल्लो समय युवा संघका इन्चार्ज समेत रहेका पार्टी पोलिटब्युरो सदस्य लक्ष्मण केसीले युवासंघ नेपालको नवौँ महाधिवेशन आगामी भदौ अन्तिम साता काठमाडौँमा सम्पन्न गर्न त्यसका लागि महाधिवेशन आयोजक कमिटीको संयोजक तोकेपछि युवा संघका नेताहरूले केसीको निर्णय नमान्ने भन्दै निर्णय नसच्चाए कडा कदम चालन बाध्य हुने चुनौती दिएका छन् ।
इन्चार्ज केसीले युवासंघको महाधिवेशन आयोजक कमिटी संयोजकको जिम्मेवारी रोशन थापा तथा सहसंयोजकमा धर्म शाही र सञ्जीव राईलाई प्रदान गरेको जनाएका थिए । साथै थापा नेतृत्वको सुझाव कार्यदल बनाएर संघका इन्चार्जलाई एक साताको समयमा सुझाव दिन कार्यदल गठन गरेका थिए । सुझाव दिन बनाएको कार्यदलमा थापा, शाही र राईको अलावा नरेश गिरी, प्रेम प्रधान र फइन्द्र तामाङ सदस्य रहेका छन् । तर उक्त निर्णय नमान्ने भन्दै युवासंघका उपमहासचिवद्वय सञ्जीप राई, निर्भीक खनाल तथा सचिवहरू भेषराज शाह र अनिल बोगटीले पार्टी अध्यक्ष माधव नेपाल, नेताहरू झलनाथ खनाल, बेदुराम भुसाल, राजेन्द्र पाण्डे तथा महासचिव घनश्याम भुसाललाई निर्णय सच्चाउन ध्यानाकर्षण गराएका छन् ।
त्यसअघि सो पार्टीको भ्रातृ संगठन अनेरास्ववियुमा पनि यस्तै विवाद सिर्जना भएको थियो । गत माघमा अनेरास्ववियुको नेतृत्व चयनप्रति असन्तुष्टि जनाउँदै पदाधिकारी र प्रदेश अध्यक्षहरूले आपत्ति जनाएका थिए ।
- छोटो समयमा विवादै विवाद
एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘व्यक्तिवादी अहंकारवादविरुद्धको विद्रोह’ भन्दै माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताले २०७८ भदौमा एमालेमा विद्रोह गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरेका थिए ।
तर, नेतृत्वको व्यक्तिवादी र अहङ्कारी व्यवहारमा परेर नवगठित एकीकृत समाजवादीकै थुप्रै नेता, कार्यकर्ता पाखा परेको गुनासो बढ्दै जान थालेको छ । विद्यार्थी, युवा र पत्रकारहरूको संगठनमा मात्र होइन पार्टी कमिटीहरूमै पनि असन्तुष्टि घट्नुको साटो बढ्दै गइरहेको छ ।
कोशी प्रदेश कमिटीको अध्यक्ष हुनबाट जबरजस्ती रोकिएका पोलिटब्युरो सदस्य धर्मराज निरौलादेखि अनेरास्ववियूकी अध्यक्ष आरती लामा हुँदै युवा संघ नेपालका अध्यक्ष कृष्णकुमार विकसम्म पाखा परेको उदाहरण मानिन्छन् । उनीहरूभन्दा पहिल्यै लुम्बिनी प्रदेश कमिटीको जिम्मेवारीमा रहेका राजु गुरुङ पार्टीभित्र त्यसरी नै प्रताडित बनेका थिए । तर एकीकृत समाजवादीभित्रको पेलान र हेपाहा प्रवृत्ति सहन नसकेर गुरुङ नेकपा (एमाले) मा फर्किसकेका छन् ।
निरौला, लामा र केसीहरू एमालेसँगको विद्रोहमा साथ दिएर माधव नेपालको पक्षमा लागे पनि पछिल्ला दिनमा उनीनिकट नभएकै कारण दुःख पाउनु परेको बताइन्छ । जो राजनीतिक र वैचारिक रूपमा झलनाथ खनाल र घनश्याम भुसालसँग नजिक मानिएका छन्, उनीहरूलाई छानिछानी जिम्मेवारीबाट पाखा लगाइएको चर्चा पार्टीभित्रै चलेको छ ।
त्यतिमात्र होइन समाजवादी प्रेस संगठनका तत्कालीन अध्यक्ष विश्वमणि सुवेदीले माधव नेपालले भनेका एकजना पत्रकार नेतालाई महासंघको निर्वाचनमा आधिकारिक उम्मेदवार नबनाएको निहुँमा झण्डै कारबाही भोग्नुपर्यो । संगठनबाट निकाल्ने तयारी बुझेर सुवेदी कारबाही अघि नै संगठनबाट अलग भए ।
सुवेदीले लेखेको एउटा लेखको विषयलाई लिएर २४ घण्टे स्पष्टीकरण सोध्दै जिम्मेवारी खोस्ने तयारी थियो । तर, सुवेदीले त्यसअघि नै पार्टी र संगठन परित्याग गरे । प्रेस चौतारी विभाजन गरी समाजवादी प्रेस संगठन निर्माणमा जुटेका धेरै पत्रकार सुवेदीसँगै चौतारीमा फर्किन बाध्य भए ।
युवा संघमा बिनासल्लाह संयोजक तोकेको घटनापछि माधवपक्षको मनोमानीको विरोध गर्दै झलनाथका छोरा निर्भीक चित्रकार खनालसहितका युवा संगठनका नेताहरूले आइतबारमात्रै प्रेस विज्ञप्तिमार्फत नै आफूलाई मैदानमा उभ्याए ।
सुनसरीका धर्मराज निरौला केपी ओलीपक्षको नभएकै कारण एमालेको १० औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्नबाट बञ्चित भए । त्यसपछि एमाले छोडेर एकीकृत समाजवादीमा प्रवेश गरे ।
एमाले हुँदैदेखि झलनाथसँग नजिक रहेका निरौला एसमा प्रवेश गरेपछि फेरि उनकै नजिक भए । २०७९ को निर्वाचनमा कांग्रेससँग तालमेल गर्दै प्राप्त भएको २० सिटभित्र सुनसरी– २ निरौलाका लागि भनिएको थियो । तर, उनले टिकट पाएनन् । उनी पहिलो संविधानसभामा एमाले तेस्रो हुँदा प्रत्यक्षतर्फ चुनाव जित्ने कोशीका एक्ला नेता थिए ।
सुदूरपश्चिमका नेता तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य उर्वादत्त पन्तले पार्टी निर्माणका क्रममा पार्टीभित्रका नेताहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग बारम्बार उठाए । तर उनको आवाज कार्यान्वयन गर्न नेतृत्वले कुनै ध्यान दिएन ।
बरु पन्तले पार्टी छोडेर गए हुन्थ्यो भन्ने व्यवहार भोग्नुपरेको सुदूरपश्चिमका नेता कार्यकर्ताहरू बताउँछन् । सोही कारण पछिल्लो समय पन्त स्वास्थ्य अवस्थालाई देखाउँदै पार्टी काममा क्रियाशील हुन समेत छाडेका छन् । पन्तले आफूले नेताहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्छ भनेर पार्टीमा उठाएको सत्य भएको बताए । तर पछिल्ला दिनमा आफू पार्टीका अन्य विषय र प्रक्रियाहरूमा सहभागी नभएको भन्दै केही थाहा नभएको प्रतिक्रिया दिए ।
‘म स्वास्थ्यका कारणले पनि पार्टीका गतिविधिप्रति खासै सक्रिय छैन,त्यसैले केके भइरहेको छ भन्ने खासै जानकारी छैन’, पन्तको भनाइ छ ।