केन्द्रीय संस्करण
गोपीनाथ मैनालीको जीवन

‘मन्त्रीको अभद्र व्यवहारका कारण सुब्बा पदबाट राजीनामा दिएको थिएँ'

जागिरे भएपछि सङ्गीतको पाटो छुट्यो

person explore access_timeसाउन ३१, २०७७ chat_bubble_outline0
फोटो : कृष्ण खड्का

साहित्यकारका रूपमा समेत परिचित गोपीनाथ मैनाली हाल नेपाल सरकारका महालेखा नियन्त्रक हुन् । साहित्य र प्रशासनका बेग्लाबेग्लै धार लिएर हिँड्ने व्यक्तित्वका रूपमा परिचित उनी प्रशासकीय संरचनामा दक्षता र सिद्धान्तनिष्ठता व्यक्तित्व पनि हुन् । एउटै घरका ४ जना नेपाल सरकारको सचिव रहेकोमा मैनाली एक हुन् । मैनाली विधि, पद्धति, नीति, सिद्धान्त र आदर्शमा सम्झौता नगर्ने प्रशासकको रूपमा समेत परिचित छन् । साहित्यको फाँटमा उनको अत्यन्त संवेदनशील, सरल, विनम्र, मृदुभाषी व्यक्तित्व परिचय बनेको छ । उनै मैनालीका जीवनका विभिन्न पाटाहरू रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमाः
मेरो खाना 
मेरो स्पेसल खाना यही भन्ने छैन । ताजा र सफा सबै प्रकारको मनपराउँछु । पहिले पहिले सानोमा चाहिँ रेस्टुरेन्ट जानपाए हुन्थ्यो जस्तो फिलिङ्स हुन्थ्यो । अहिले जान मनपर्दैन । किनभने रेस्टुरेन्टको खाना मलाई मनपर्दैन । रेस्टुरेन्टका म कफी, ब्वाइल मकै र भेजिटेबल आइटमहरू लिन्छु ।
आफैले खाना बनाउनु परेको बेला, पहिले बच्चाहरूलाई मम खुवाउनुपरेको अवस्था र महिनाको २, ४ चोटि रेस्टुरेन्ट पुग्थेँ । अहिले फर्मल कार्यक्रममा समेत रेस्टुरेन्टको खाना खान पर्यो भने मन पर्दैन । सानोमा अध्ययन गर्दाको समय पकाएको सबै परिकार मीठो पकाउन सक्छु । तर अहिले खाना बनाउन झर्काे लाग्न थालेको छ ।

मेरो फिट्नेस 
फिट्नेसमा खासै ख्यालै गरेको छैन । सानोमा गाउँतिर काम गर्दा फिट्नेस हुथ्यो । अहिले फिट्नेसका लागि फुर्सद मिलाउनै गाह्रो छ । प्रत्येक दिन सवा ५ बजेबाट मेरो दिनचर्या सुरु हुन्छ । 
जिम भन्ने चिज सोचेकै छैन । त्यसैकारणले होला भुँडी अलि बढी बढेको छ । नभ्याउने भएकाले कुनै एक्सरसाइज गर्दिनँ र घरमा एक्सरसाइजका समान पनि राखेको छैन ।
  
मेरो पोसाक
सुकिलो, अलिअलि धर्का भएको सेतो पहिरन मलाई बढी मनपर्छ । कार्यालयमा सधैँ अफिसको ड्रेसमै जान्छु । घरमा टिसर्ट, धर्के सर्टहरू बढी प्रयोग गर्छु । औपचारिक कार्यक्रमका लागि सरकारले जुन ड्रेस कोड गरेका छन् । यस्तै लगाउँछु । सामान्य औपचारिक कार्यक्रममा दौरा, सुरुवाल, कोट लगाउँछु ।

जुत्ता र भेस्ट म जहिले पनि ब्रान्डेड किन्छु । अन्य पोसाका सबै प्रकारको लिन्छु । पोसाकमा धेरै खर्च पनि छैन । सहसचिवको बेलादेखि अहिलेसम्म दुई जोर दौरासुरुवाल र कोटले अफिसको ड्रेसे पुगेको छ । 
नियमित सपिङ गर्ने बानी छैन । कहिलेकाहीँ विदेश घुम्न गएको बेला पनि सपिङ गर्छु । त्यसैले पहिरन खर्च यति भनेर भन्न सकिन्न । ढाकाको टोपी र भादगाउँले टोपी पनि लगाउँछु ।

मेरो अध्ययन 
अध्ययन त मेरो रुचिको विषय हो । जेजति कुरा मैले जानेको छु त्यो अध्ययनबाटै सिकेको हुँ । जागिर खानुभन्दा अगाडि साहित्य खुबै पढ्थेँ । अहिले साहित्य पढ्न समय हुँदैन । कार्यालयसँग रिलेटेड कुराहरू, अर्थ, व्यवस्थापनसँग सम्बन्धित कुराहरू, अर्थशास्त्र, योजना, प्लानिङ र समसामयिक विषयहरू अध्यायन गर्छु ।

पढ्ने समय यही भन्ने छैन । समय उपलब्ध हुँदा र कामबाट खाली समय अध्ययन गर्छु । बिहान घरमा पत्रिका पढ्छु । करिब साढे ६ बजेभन्दा अगाडि मैले ५, ६ वटा पत्रिका पढिसकेको हुन्छु ।
बिहान ९ बजेभन्दा अगाडिको समय र रातमा ९ बजे पछाडिको समय मेरो धेरैजसो पढ्न सदुपयोग हुन्छ । मेरो घरमा धेरै पुस्तकहरू छन् । ती सबै सजाएर राखेको छु ।

मेरो फुर्सद
अहिलेसम्म फुर्सदको समय यो हो भनेर भन्न पाएको छैन । वर्षका ३ दिन दसैँको टीका, तिहारको लक्ष्मीपूजा र नववर्षको दिन फुर्सद हुन्छ ।
यी दिनबाहेक कुनै दिन मैले फुर्सदको रूपमा पाएको छैन । आफै पढ्ने, अरूलाई पढाउने र लेख्ने बानीले होला मलाई फुर्सद पनि कहिल्यै भएन ।

मेरो खेलकुद 
सानोमा गाउँमा डन्डिबियो, अलिअलि पौडी खेलियो । रोसी खोलमा हामी सबै दाजुभाइहरू पौडी खेल्थ्यौँ । अलि पछि फुटबल खेलहरू खेलियो । अहिले खेलमा मेरो त्यति चाख छैन । कहिलेकाहीँ फुर्सद भयो भने बच्चाहरूले खेल्ने कम्प्युटरमा गेमहरू खेल्छु ।
अहिले गेमहरू हेर्न मनपर्छ । ओलम्पिक र वर्ल्डकप चाहिँ सुरुको दिन र फाइनल हेर्न छुटाउँदिन । आफूले टेलिभिजन हेर्न पाएको दिनदेखि अहिलेसम्म ओलम्पिकको सुरुको र अन्तिम दिनको खेल र कार्यक्रम हेरेकै छु । 

मेरो मोबाइल
मसँग अहिले सामसुन नोट १० प्लस ब्रान्डको एउटा मोबाइल छ । मैले जति पनि मोबाइल प्रयोग गरेँ यही  ब्रान्डकै प्रयोग गरेँ । एक पटक मात्र मैले एलजी ब्रान्डको प्रयोग गरेँ ।
मोबाइलबाट मेरो धेरै काम हुने गरेको छ । एफएमका समाचार सुन्ने, अनलाइनका समाचारहरू हेर्ने, इमेल पठाउने र पछिल्लो समय जुम अनलाइन कक्षाहरू समेत लिने । मोबाइल बहुउद्देश्य साधनको रूपमा समेत लिएको छु ।

मेरो टिभी
टिभीमा म समसामयिक, राजनीतिक, आर्थिक विश्लेषणका अन्तरवार्ता र समाचारहरू हेर्छु । केही साहित्यिक कार्यक्रम पनि हेर्छु ।
 रियालिटी सोहरू, आइडल सोहरू पनि हेर्न मनपर्छ । पछिल्लो समय धेरै कुरा ल्यापटपबाट हुने भएकाले टिभी कमै हेर्न थालेको छु ।

मेरो चलचित्र
पहिले कलेज पढ्दा धेरै फिल्म हेर्थें । त्यतिबेला महिनाको २४, २५ वटासम्म फिल्म हेरेँ । अचेल चर्चा भएका र मनपर्ने फिल्मबाहेक अरू हेर्ने गरेको छैन ।
पछिल्लो समय हेरेको मध्ये मेरो मनपरेको फिल्म ‘पशुपति प्रसाद’ हो । त्यो फिल्मका तीनवटै हिरो भेट्ने मन छ । तर पाएको छैन ।

कोरोनाको कहर भएयता मैले आर्ट, सोसियल र राजनीतिक विषयवस्तुका करिब एक सय फिल्महरू हेरे होला । कोरोनाको कहरयता म दैनिक एउटा फिल्म हेर्छु । आमिर खान, सुशान्त सिंह, नरसुद्धिन लगायतका सामाजिक फिल्महरू हेर्ने गरेको छु ।

हिन्दी, नेपाली, अङ्ग्रेजी सबै प्रकारका फिल्म हेर्न मनपर्छ । क्याराभान, टाइटानिक, प्यारासाइट लगायत धेरै फिल्म हेरेको छु । राम्रो लागेका छन् ।

मेरो गीत सङ्गीत 
गीत सङ्गीत साहित्य र कलाकै एउटा पाटो हो । कलेज पढ्दा म शास्त्रीय सङ्गीतको विद्यार्थी पनि थिएँ । कलाकार साथीहरूसँग मेरो उठबस पनि थियो । ओमविक्रम विष्ट, हरिवंश आचार्य लगायत धेरैसँग नजिक भएर काम समेत गरेको थिएँ ।

त्यसबेला म गीत पनि गाउन अगाडि बढेको थिएँ । तर जागिरको सिलसिलाले पर्याप्त रियाज पनि गर्न पाइनँ । अहिले गीत सङ्गीत सुन्छु । नारायण गोपाल, अरुणा लामा, दुर्गा खरेलका गीत खुबै सुन्थेँ पहिले । उदित नारायण झाका गीतहरू पनि मलाई मनपर्यो ।

हिन्दी गीत सङ्गीतमा लता मङ्गेस्कर, मोहम्मद रफिक, उषा उथुकका गीतहरू सुन्छु म । ओमविक्रम विष्टका गीतहरूले छुन्छ मलाई । नेपाली, हिन्दी, अङ्ग्रेजी अहिले सबै प्रकारको गीत सुन्छु । लोकगीतमा सुनिता दुलाल लगायत केही गायक गायिकाको सुन्छु । सानोमा म सङ्गीतका राँगहरू गाउँथे । त्यसैले स्वर परीक्षा दिन खोजेको थिएँ । जागिरे भएपछि सङ्गीतको पाटो छुट्यो ।

मेरो रोग 
भगवानको कृपाले अहिलेसम्म त्यस्तो ठूलो रोग केही छैन । आफूले थाहा पाएदेखि दम छ । ग्यास्टिक सामान्य भइगयो । प्रेसर सुगर केही छैन । दमका लागि केही वर्ष नियमित अक्सिजन समेत लिएँ ।
अहिले खानेकुरामा समेत ध्यान दिन्छु । मैले सधैँभरि गलामा टाई लगाउनुको उद्देश्य दम कन्ट्रोलका लागि छाती सुरक्षित राख्न हो ।

मेरो सपना
अबको एक वर्षपछि म राष्ट्र सेवाबाट रिटायर्ड हुन्छु । मैले धेरै समय राष्ट्र सेवामा बिताएको छु । अहिले पनि सरकारले अन्य केही जिम्मेवारी दियो भने गर्ने हो ।
मेरो व्यक्तिगत सपना केही छैनन् । मैले सधैँ भन्ने गरेको छु राष्ट्र सेवामा निष्ठा, व्यावसायिकता र आदर्श स्थापित गर्न पाए हुन्थ्यो भनेर । 
निजामती सेवाको अहिले गरिमा गिरेर गएको छ । निष्ठा, व्यावसायिकता र निस्पक्षताको दृष्टिकोणबाट । यी तीन कुरा निजामती सेवामा स्थापित गर्ने मेरो सपना हो ।


मेरो पेसा
पेसा, जागिर जे भने पनि मेरो एउटै हो । १८ वर्षको उमेरदेखि म निजामती सेवामा छु ।
२०३८ सालदेखि खरिदारबाट निजामती सेवा सुरु गरेकोमा अहिलेसम्म सेवामै छु । सुब्बा पदमा हुँदा एक पटक राजीनामा समेत दिएको थिएँ । तत्कालीन पर्यटन राज्यमन्त्री रमेशनाथ पाण्डेको अभद्र व्यवहारका कारण ।
यसको केही वर्षपछि परराष्ट्र, प्रशासन र नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) गरेर ३ तिर अफिसरमा नाम निकालेँ । सो समय मेरो रोजाइ प्रशासनको शाखा अधिकृत रह्यो ।
२०४५ देखि ०५३ सालसम्म शाखा अधिकृत, ०५३ देखि ०६३ सम्म उपसचिव र ८, ९ वर्षजति सहसचिव भएको म त्यसपछि सचिव भएँ । म खुला प्रतिस्पर्धामा भिडेरै यहाँसम्म आइपुगेको हुँ । अहिले म महालेखा नियन्त्रक हुँ ।

मेरो साहित्य
अध्ययनका लागि सबै प्रकारको साहित्य ठिकै लाग्छ । अलि नयाँ प्रयोग भएका भूपि शेरचनका कविताहरू, महाकवि देवकोटाका निबन्धहरू, यस्तै यस्तै पढ्न मैले खुब रुचाएँ । पारिजातका रचना, मञ्जुलका रचना मलाई राम्रो लाग्छन् । 
विशेषतः अहिले म निबन्ध र समालोचना लेख्न बढी मनपराउँछु । मैले कथा, नियात्रा र कविता पनि लेखेको छु । निबन्धमा स्वतन्त्र रूपमा बहकिन पाउने भएको हुनाले गर्दा असाध्यै लेख्न मनपर्ने विधा हो ।
शङ्कर लामिछानेको एब्स्ट्र्याक्ट चिन्तन र प्याज र लक्ष्मी निबन्ध सङ्ग्रहबाट म खुबै प्रभावित छु । समालोचनातर्फ चाहिँ कृष्णचन्द्रसिंह प्रधान र इन्द्रबहादुर राईबाट ममा प्रभाव परेको छ ।

मेरो प्रेम
मैले २०४९ सालमा प्रेम विवाह गरेको हो । म जागिरको सिलसिलमा बुटवलमा गएको थिएँ । उनी बुटवल क्याम्पसमा पढ्थिन् । त्यही क्रममा चिनजान भयो र प्रेम पनि बस्यो ।  करिब ४, ५ वर्षको प्रेमपछि हामीले विवाह गर्यौँ । मेरो घर डेमोक्रेटिक घर हो । 
म आमाले धेरै माया गर्ने छोरो हुँ । बुबा राजनीति र समाज सेवामा हुनुहुन्थ्यो । घरपरिवारबाट तलाई ठीक हुन्छ भने फरक पर्दैन भन्ने कुरा भयो । 
उनको बुबाआमा र मेरो परिवारको सहमतीमा हामीले विवाह गर्यौँ । अहिले जीवनको आधा मोड पार गरिसक्यौँ । हाम्रो प्रेम अझै जारी छ । उनी अहिले गृहणी हुन् ।

मेरो दुःख
दुःख नपरेका त मान्छे नै हुँदैनन् । दुःख त धेरैलाई पर्छ । फेरि हामी त गाउँका मानिस । गाउँमा अलिकति अभाव हुन्छ । गाउँमा धेरै श्रम गर्नुपर्ने हुन्छ । फेरि हामी त धेरै सन्तान भएको घरको मानिस । मेरी आमाका १२ सन्तान ।  सामान्य खेतीकिसानी गर्ने भएकाले दुःख नपर्ने त कुरै आउँदैन । हामी मेलापात गथ्र्यौं, कामहरू गथ्र्यौं । भारी बोक्थ्यौँ । तर यी कुरालाई मैले कहिल्यै दुःख मानिनँ । 

मैले साँच्चै फिल गरेको दुःख यो हो कि म कक्षा ६ पछि आमासँग कहिल्यै बस्न पाइनँ । त्यसपछि मैले काठमाडौँ आएर पढ्न सुरु गरेँ । आमासँग त्यही बेलादेखि सँगै बस्न पाइएनँ । यतै पढेँ । जागिरको सिलसिलामा धेरै जिल्ला पुगेँ । आमासँग वर्षमा मुस्किलले २, ३ दिन मात्र चाडबाडमा भेट हुने गरेको छ ।

अचानक आमालाई क्यान्सर लाग्यो । त्यतिबेला भर्खरै मेरो विवाह भएको थियो । अफिसरको रूपमा म राजविराजमा थिएँ । आमालाई क्यान्सर भएपछि मैले आमालाई काठमाडौँ ल्याएर उपचार गराएँ । त्यो समय आमाको एउटा चाहना थियो र भन्नुहुन्थ्यो–तँसँग धेरै गफ गर्ने मन थियो । त्यो दिन कहिल्यै आएन ।
म कामको सिलसिलामा बिजी भएको बेला आमा बित्नुभयो । सबैभन्दा ठूलो दुःख चाहिँ त्यही हो मेरो । आज पनि लाग्छ मैले आमासँग मन खोलेर गफ गर्नै पाइनँ । 

मेरो मापसे 
म मापसे गर्दिनँ । तर मैले केही पटक बियर खाएको छु । मेरो मुखमा वाइन पनि परेको छ । अहिले चिया बाहेकको मेरो लत छैन ।
घरमा सजाएर राखेको छैन । साथीभाइले कहिलेकाहीँ दिएको, विदेश जाँदा ल्याएको मापसे गर्ने मानिसलाई दिन्छु  ।

मेरो भुल 
मैले जीवनमा भूल त धेरै गरेको छु । करिअर च्वाइसमा पनि मेरो भूल छ । मैले पढ्दा जहिले पनि प्रोफेसर बन्न पाए हुन्थ्यो वा ठूलो साहित्यकार वा कलाकार बन्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।  मैले त्यही सोचबाट पढेँ । तर त्यो नभइकन जागिर खानुपर्ने अवस्था भयो । जागिरले कला र साहित्यलाई डिस्टब गर्यो । साहित्यले जागिरलाई डिस्टप गर्यो । यो चपेटाबाट गुज्रिएँ म ।

मलाई हरिवंशले भन्ने गर्थें, म जागिरमा लागेँ भने तिमीजस्तो बन्न सक्दिनँ । तिमी कलाकारितामा लाग्यौ भने म जस्तो बन्न सक्दैनौँ । त्यस कारणले तिमी कलाकारितामा नलाग्नु भन्नुहुन्थ्यो । 
जब जागिर सुरु गरेँ त्यसपछि अरू भुलहरूको कुरा भए । पढाइ एकातिर, जागिर अर्कोतिर । जागिरभित्र पनि मेरो दक्षता एकातिर र जागिर अर्कोतिर पथ्र्यो । मेरो जीवन वृत्तिको रेखा सरल नभईकन जिकज्याकखाले भएर गयो जहिले पनि । ती प्रत्येक जिकज्याकहरूमा भुल गरेँ कि जस्तो लाग्छ अहिले । 

मेरो राशि 
राशिको विषयमा म कन्फ्युज छु । तुला हो कि कुम्भ  । तर मलाई चिना हेर्दा सानोमा एक पटक कुम्भ रैछ भन्थे पछि फेरि होइन तुला रैछ समेत भने । म यो राशि र ज्योतिषमा त्यति विश्वास पनि गर्दिनँ ।

मेरो मृत्यु 
मृत्यु एक अन्तिम सत्य हो । मृत्यु यस्तै होस् भन्ने त हुँन्दैन । तर उमेर ढल्किँदै गएपछि जीवनको मोह बढ्दै जाँदो रहेछ । मृत्यु यस्तो होस् जसमा धेरै पीडा नहोस् भन्ने चाहना छ । जुन दिन र जुन समयमा मर्ने हो, तत्कालै मृत्यु आओस् । कुँजिएर, लामो समय बिमार परेर मर्नु नपरोस् भन्ने एउटै चाहना पनि ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.