शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

मेरो देश र युवा

मङ्गलबार, ०२ भदौ २०७७, १६ : ०६
मङ्गलबार, ०२ भदौ २०७७

-मणिकुमार श्रेष्ठ ‘सिजन’

बिहानीको भालेको डाकसँगै 
हिँड्नु छ क्षितिज पारिको 
यात्रामा । 
यात्रासँगै मौलाएका
ती सङ्गीन मोडहरुमा 
फेरि पनि विद्रोहको
राँको बल्न सक्छ 
लोकतन्त्र, समाजवाद
अनि 
साम्यवादका नाराहरु 
गुञ्जयमान हुँदै यहाँ । 

आज योद्धाहरु 
न त लोकतन्त्र भन्छन्
न त समाजवाद ।
खै कहाँ छन् साम्यवाद
निराशै–निराशाको राजनीतिक
आन्दोलनमा खटिएका
ती सहिदहरुको 
आस्था मेटिँदैछ यहाँ । 

आशाको किरण छर्ने 
युवाहरु 
राजनीतिक बन्दी जस्तै भएका छन् 
साम्यवादी आन्दोलन –जिन्दावाद
समाजवाद –जिन्दावाद
लोकतन्त्र –जिन्दावाद
नाराका पछि लाग्दा लाग्दै 
कैयौँ 
पुस्ता वितिसक्यो यहाँ । 

लोकतन्त्रको नारा लगाउने
राजनीतिक दलहरु 
जहानियाभन्दा कडा 
हुँदैछन् ।
राजनीतिक विचार जे भए नि 
यहाँ ।
फरक पर्दैन युवाहरुलाई
न त देश हाँक्न दिन्छन्
न त पार्टी नै हाँक्न
केवल युवालाई 
भ¥याङ बनाइरहेछन् यहाँ । 

राजनीतिक परिवर्तनका लागि 
कर्मठ युवाहरुलाई 
कलिलै छन् भन्दै 
नेतृत्व दिन आनाकानी हुन्छ यहाँ 
केवल पुस्ता फेरिन्छ 
विचार फेरिँदैन यहाँ 
आमूल परिवर्तनको खातिर 
युवा मैत्री बनाउ 
राजनीति 
अनि बन्छ देश यहाँ । 

दार्शनिकहरु भन्छन् 
जुझारु विचार भएका 
सबै युवा हुन 
तर मेरो देशमा 
न त विचारै जुझारु छ 
न त शरीर नै मजबुत 
युवाको परिभाषा नै फरक
फरक छ यहाँ 
बीपीको समाजवाद र 
पुष्पलालको जनवाद
मिलाउँदै
देश हाँक्न सक्ने 
दुनियाँ बदल्न सक्ने 
युवाको खाँचो छ यहाँ । 

परिवर्तनको दौरानमा रहेको 
मेरो देशमा
अन्याय र अत्याचारको 
विरुद्धमा लड्न सक्ने 
पूर्व मेचीदेखि पश्चिम 
महाकालीसम्म जोड्न सक्ने 
हिमाल, पहाड तराई
आपसमा मिलाउन सक्ने 
एक लौह पुरुषको आवश्यकता छ 
मेरो देशमा । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा