शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ

शुक्रबार, २२ जेठ २०८३, १९ : ०२
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • झापाको दमकमा रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारत घर भई दमक बस्दै आएका राकेश कुमार पण्डित पक्राउ परेका छन् ।
  • टायल्स मिस्त्रीको रूपमा कार्यरत पण्डितले जेठ १३ मा रमाको हत्या गरी रतुवा खोलामा शव फालेको प्रहरीले जनाएको छ ।
  • पैसाको विवाद र धम्कीका कारण हत्या गरेको आरोपीले स्वीकार गरेका छन् ।

काठमाडौँ । झापाको दमक नगरपालिका–१० स्थित रतुवा खोला किनारमा मृत भेटिएकी रोमा भनिने रमा तिवारीको हत्यामा संलग्न आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारतको बिहार घर भएर दमक बस्दै आएका ३४ वर्षीय राकेश कुमार पण्डित छन् । कोशी प्रदेश प्रहरी कार्यालयको सहयोगमा दमकका डीएसपी हरि बहादुर बस्नेत नेतृत्वका टोलीले जेठ २१ मा उनलाई पक्राउ गरेको हो ।

स्थानिय रतुवा खोलामा जेठ १६ मा रमाको शव भेटिएको थियो । टायल्स मिस्त्रीको रूपमा कार्यरत पण्डितले जेठ १३ मा साँझ रमाका हत्या गरेर खोलामा फालेको झापाकी एसपी बसुन्धरा खड्काले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिइन् । मृतकको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि परिवारले बुझेर दाहसंस्कार गरेका छन् ।

हत्यापछि आरोपी जेठ १६ मा भारत गएका थिए । मृतकको ‘प्रेमी पक्राउ’ शीर्षकको समाचार पढेपछि उनी आफू पक्राउ नपर्ने ढुक्क भएर नेपाल फर्केका थिए । नेपाल आएको प्राविधिक विश्लेषणको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दमक नगरपालिका–८ वसन्त टोल बस्दै आएका नारायण तिवारीकी २० वर्षीया छोरी रमा १३ गते हराएकी थिइन् । बाटोमा भेटेका पण्डितले रमालाई मूल सडकबाट भित्र बाँसघारीमा लगेर हत्या गरेको थाहा भएको छ ।

रमासँग पैसाको विवाद भएपछि झगडा हुँदा हत्या गरेको आरोपीले स्वीकार गरेको एसपी खड्काले बताइन् । विवाद भएपछि रमाले ‘थ्रेट’ गरेको र सो कुरा बाहिर आउने डरले उनले घाँटी थिचेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि बोरा ल्याएका उनले सँगै टायलको काम गर्दा लेभल मिलाउने पाइप पनि ल्याएर घाँटीमा सो पाइपले कसेका थिए ।

हत्या गरेपछि आत्मग्लानि गर्दै उनले दमक स्थित पशुपति मन्दिरमा गएर आफूले पाप गरेको भन्दै माफी मागेका थिए । त्यसपछि उनी भारत भागेका हुन् । रमाले ८ कक्षा सम्म पढेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप