‘पीसीआर प्रयोगशाला र अस्पतालहरुको उचित व्यवस्थापन हुन सकेन’
काठमाडौं । सांसदहरुले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि पीसीआर प्रयोगशाला र अस्पतालहरुको उचित व्यवस्थापन हुन नसकेको बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिद्धारा गठित कोभिड १९ अनुगमन उपसमितिको आइतबारको बैठकमा सांसदहरुले सरकारले कोभिड प्रयोगशाला र अस्पतालहरुको व्यवस्थापन उचित ढंगले गर्न नसक्दा समस्या देखिएका बताएका हुन् । उपसमितिले देशका विभिन्न कोभिड अस्पताल र पीसीआर प्रयोगशालाहरुको अनुगमन गरेपछि छलफललाई अगाडि बढाएको छ । उपसमितिका संयोजक सांसद जीवनराम श्रेष्ठले पीसीआर प्रयोगशालाले समयमै रिपोर्ट दिएपनि सम्बन्धित व्यक्तिसम्म पुर्याउने संयन्त्र भित्र ढिलाई हुँदा रिपोर्ट ढिलो आउने गरेको पाइएको बताए ।
त्यस्तै स्वाब संकलन भएपछि प्रयोगशालामा वितरण गर्ने संयन्त्र फितलो भएकाले पनि परीक्षण ढिलो हुने गरेको पाइएको श्रेष्ठले बताए । त्यसबाहेक कोभिड संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको जोखिम भत्ता सयममा प्राप्त नभएको, वीर अस्पताल लगायतका ठूला अस्पतालले कोभिडका बिरामीसँगसँगै अन्य बिरामीहरुलाई सेवा दिन नसकेको, आइसोलेसन र भेन्टिलेटरको संख्या बढाउन नसकेको लागायतको स्थिति पाइएको पनि बताए । त्यस्तै निजी अस्पतालमा कोभिड १९ संक्रमित बिरामीको उपचार खर्च अत्याधिक भएको पाइएको र पीसीआर परीक्षणको शुल्क फरक फरक पाइएकाले त्यसको नियमनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यान जानुपर्नेमा जोड दिए ।
सांसद सरिता न्यौपानेले पाटन अस्पताल र धुलिखेल अस्पतालले कोभिड र ननकोभिड बिरामीलाई बराबर उपचार गरिरहेको पाइएको तर अन्य अस्पतालमा त्यस्तो नदेखिएको बताइन् । उनले देशभरका सबै अस्पतालमा ती दुई अस्पतालले अपनाएको मोडल लागू गर्नुपर्नेमा जोड दिइन् ।
सांसद तिलबहादुर महत क्षेत्रीले जोखिम भत्ता सबै स्वास्थ्यकर्मीले पाउने भन्ने सन्देश गएकाले समस्या देखिएको बताए । त्यस्तै आइसोलेसनमा बसेको १४ दिनपछि पीसीआर परीक्षण गर्नुपर्दैन भन्ने संघीय सरकारको निर्णय गण्डकी प्रदेशले पालना नगरेको पाइएकाले कोभिड उपचारमा सबै प्रदेशको नीतिमा एकरुपता हुनुपर्नेमा जोड दिए । पीसीआर परीक्षणका कुन प्रयोगशालाको क्षमता कति छ भन्ने संयन्त्र निर्माण नहुँदा पनि समस्या देखिएको बताए ।
सांसद एकवाल मियाँले संक्रमितको संख्या बढी भएको क्षेत्रमा भन्दा कम भएको क्षेत्रमा पीसीआर मेसिन धेरै भएको बताए । संक्रमणको पहिचान बढाउन पनि बढी संक्रमित भएका क्षेत्रको ल्याबको क्षमता बढाउनुपर्नेमा उनले जोड दिए । त्यस्तै अस्पतालमा जोखिम भत्ताका लागि पठाएको रकम व्यवस्थापनमा, स्वास्थ्य सामग्री खरिदमा प्रयोग गरेको पाइएको बताए ।
सांसद नमिताकुमारी चौधारीले पीसीआर परीक्षणको रिपोर्ट आजको दिन सम्म पनि ढिलो गरी आउने गरेको बताइन् । रिपोर्ट छिटो दिन नसक्दा सम्म संक्रमण फैलनबाट रोक्न नसकिने उनको भनाई छ । बैठकमा उपस्थित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले स्थानीय सरकारबाट सानो कुरा पनि केन्द्र सरकारसँग माग्ने प्रवृतिले समस्या देखिएको बताए ।
उनले स्वास्थ्य प्रणालीलाई एकीकृत बाउन स्थानीय तह र प्रदेशलाई अझ बढी परिचालन गर्नुपर्ने देखिएको बताए । मन्त्रालयले बनाउने नीति र मापदण्डहरु कार्यान्वयनमा स्थानीय तहहरुले विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । स्वाब कलेक्सन सुरुसुरुमा धेरै संकलन हुँदा रिपोर्ट दिन ढिलाई भएपनि पछिल्लो समय कुनै समस्या नभएको बताए । उनले स्वास्थ्यकर्मीको समान परिचालनकालागि पनि मन्त्रालयले विशेष ध्यान दिएको बताए ।
उपसमितिले वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, दुवाकोटमा रहेको केएमसी अस्पताल, धुलिखेल अस्पताल लगायतका अस्पतालहरुको अनुगमन गरेको थियो । त्यस्तै टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला लगायतका प्रयोगशालाको पनि निरीक्षण गरेको थियो । त्यसबाहेक आइसेलेसन सेन्टरहरु र भेन्टिलेटर सेवाको अवस्थाको बारेमा पनि उपसमितिले अस्पतालहरुबाट जानकारी लिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोफाइनान्सबाट बैंकहरु बाहिरिएर एसएमई कर्जा बिस्तारमा जानुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा
-
सलमानको ‘सिकन्दर’ मा रश्मिका मन्डन्नाको इन्ट्री
-
कोशीमा आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, माओवादीका उप्रेती र एमालेका मगर मन्त्री
-
मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित
-
जेठ १९ मा गोपीकृष्ण राष्ट्रिय पुरस्कार बाँडिने
-
बाल मन्दिर जग्गा विवादमा राई स्कुलका प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी