कुनै समय चिया पसलमा जुठो भाँडा माझ्थे ओम पुरी, अभिनयको जादुले सबैलाई मोहित बनाए
भारतीय सिनेमामा यदि केही उत्कृष्ट अभिनेताको नाम लिनु पर्यो भने त्यसमा ओम पुरीको नाम पनि आउँछ । ओम पुरीले जीवनमा निकै संघर्ष गरेका छन् । उनको नीजि जीवन खासै राम्रो रहेन र अन्तिम सयमसम्म उनी विवादमा घेरिइरहे । तर उनको अभिनयमा कसैले पनि कहिले औंला उठाउन सकेन । ओम पुरीको जन्मदिनमा उनीबारे केही जानकारी लिऔं ।
मराठी फिल्मबाट गरेका थिए डेब्यूः
ओम पुरीले नेशनल स्कूल अफ ड्रामाबाट अभिनय सिकेपछि फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियामा तालिम लिएका थिए । उनले मराठी फिल्म ‘घासीराम कोतवाल’ बाट फिल्ममा डेब्यू गरेका थिए जुन यसै नामको एक नाटकमा आधारित थियो । त्यसपछि ओम पुरीले हिन्दीसहित अंग्रेजी, कन्नड, पंजाबीजस्ता थुप्रै भाषाको फिल्ममा काम गरे ।
नसीरुद्दीन शाहले सिकाए मासु खानः
ओम पुरी र नसीरुद्दीन शाह नेशनल स्कूल अफ ड्रामामा एउटै बेन्चमा पढ्दथे । दुबैको दोस्ती अन्तिम समयसम्म कायम रह्यो । ओम पुरी जब नेशनल स्कूल अफ ड्रामा गए तब उनी शाकाहारी थिए । ओम पुरीले एक अन्तरवार्तामा नसीरुद्दीन शाहले उनलाई मासु खान सिकाएको बताएका थिए ।
नसीरसँग गरेका थिए उत्कृष्ट फिल्ममा कामः
ओम पुरी र नसीरुद्दीन शाह सहपाठी मात्रै थिएनन्, उनीहरु निकै राम्रा साथी पनि थिए । साथै करियर सुरु गरेपछि यी दुईले केही उत्कृष्ट फिल्ममा सँगै काम पनि गरेका थिए जसमा ‘जाने भी दो यारों’, ‘आक्रोश’, ‘द्रोह काल’, ‘अर्ध सत्य’, ‘मंडी’, ‘पार’, ‘स्पर्श’, ‘मिर्च मसाला’ र ‘अल्बर्ट पिन्टोको गुस्सा क्यों आता हे’ जस्ता बलिउडका केही उत्कृष्ट फिल्म समावेश छन् ।
असाध्यै गरिब परिवारका हुन् ओम पुरीः
ओम पुरीले अनुपम खेरको कार्यक्रममा आफू निकै गरिब परिवारको बच्चा भएको जानकारी दिँदै बाल्यकालमा चियाको पसलमा जुठो भाँडा माझ्ने गरेको बताए । उनले भनेका थिए, ‘नेशनल स्कूल अफ ड्रामामा आएपछि मलाई मानिसहरुसँग घुलमिल हुन निकै समस्या हुन्थ्यो किनभने अन्य मानिसहरु मेरो जस्तो ब्याकग्राउन्डबाट आएका हुँदैनथे ।’
राम्रोसँग हिन्दी बोल्न सक्दैनथे र अंग्रेजी फिल्ममा जमाए धाकः
ओम पुरी नेशनल स्कूल अफ ड्रामामा जाँदा उनको भाषा निकै खराब थियो । उनी पंजाबी मात्रै बोल्थे र राम्रोसँग हिन्दी बोल्न जान्दैनथे । अभिनय सिक्ने क्रममा नै उनले आफ्नो भाषा सुधार्न पनि निकै मिहिनेत गरे र उनी बिस्तारै हिन्दीमात्रै होइन अंग्रेजी पनि राम्रोसँग बोल्न थाले । ओम पुरीले आफ्नो करियरमा अंग्रेजीका विभिन्न फिल्मा काम गरेका छन् जसको अहिले पनि प्रशंसा हुन्छ ।
जीवनभरी रहे स्पष्ट वक्ताः
ओम पुरी जीवनभर स्पष्ट वक्ता रहे । उनकी श्रीमती नन्दिता पुरीले उनको बायोग्राफी लेखेकी थिइन् जसमा उनले ओम पुरीबारे केही अत्यधिक आपत्तिजक कुरा पनि लेखेकी थिइन् । ओम पुरी र नन्दिता पुरी पछि अलग बस्न थालेका थिए । ओम पुरी थुप्रै पटक आफ्नो राजनीतिक बयानका कारण पनि विवादमा आएका थिए । यद्यपि, अन्तिम समयमा ओम पुरी एक्लै बस्न थालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर