शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय सेना प्रमुखलाई भव्य स्वागत गर्ने तयारी : नेपाल र भारतका सेनाले सुरक्षा दिने

मङ्गलबार, १८ कात्तिक २०७७, १३ : १४
मङ्गलबार, १८ कात्तिक २०७७

नेपाल भ्रमणमा बुधवार नेपाल आउन लागेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेलाई यहाँ भव्य स्वागतको तयारी भइरहेको छ । सेनाअध्यक्ष नरवणेको नेपाल भ्रमण जनवरी २०२० मा नै हुने तय भएको थियो तर कोरोना महामारीका कारण ढिलाइ भएको भएको हो ।

नेपाली सेनाको मनार्थ सेनापतिको उपाधि लिनका लागि उनी नेपाल आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सेनाको मनार्थ सेनापति लिइसकेपछि उनले विभिनन उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । हुन त यसअघि पनि भारतीय सेनाध्यक्षहरु मनार्थ उपाधिका लागि नेपाल आउँथे । उनीहरुको भ्रमणको त्यति चर्चा हुँदैन्थ्यो तर यसपटक भने नरवणेको भ्रमणको विशेष चर्चा भइरहेको छ ।

यसअघि भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त गोयल नेपाल आएर प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई भेटेर गएपछि नरवणेको भ्रमण हुन लागेको हो । त्यसले गर्दा यो भ्रमणलाई विशेष रुपमा लिइएको छ । नेपालको राजनीति अवस्था पनि विशेष परिस्थितिमा रहेको बेला उनको यो भ्रमण हुन लागेको हो । त्यसले गर्दा टिकाटिप्पणी पनि त्यसरी नै हुन थालेको छ ।

सेनाध्यक्ष नरवणेको भ्रमण रोकिनुपर्छ भनि केही दल तथा संगठनहरु माग पनि गरेका छन् । नरवणेको भ्रमण विशेष चर्चामा रहेको हुनाले उनको सुरक्षा अवस्थालाई पनि कडा बनाइएको भारतीय दूतावास स्रोतले जनाएको छ । उनको सुरक्षा अवस्थाको बारेमा सुक्ष्म अध्ययन गरी सुरक्षा रणनीति बनाइरहेको बताइएको छ । उनको सुरक्षा नेपाली सेना र भारतीय सेना दुवैले दिने बताइएको छ ।

उनको सुरक्षाको रणनीति नेपालस्थित भारतीय दूतावासमा रहेका डिफेन्स विंग्सले बनाइरहेको छ । उनको कार्यक्रमको सम्पूर्ण कार्यसूची सोही विङ्ग्सले हेरिरहेको बताइएको छ ।

हालसम्मको प्राप्त सूचना अनुसार तीन दिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग उनले भेटवार्ता गर्नेछन् । तर स्रोतले भन्छ, यो कार्यसूचीमा हेरफेर पनि हुनसक्छ । 

भारतीय स्थल सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणलाई दुई देशबीचका नेतृत्व तहमा देखिएको हार्दिकतापूर्ण संवादको गतिरोध हटाउने सुरुआती बिन्दु बनाउन रणनीति र आवश्यक पूर्वतयारी गर्नुपर्ने आवश्यकता देखिएको भन्दै विश्लेषण हुन थालेको छ ।

सेनाध्यक्ष नरवणेको भ्रमण तयारीलाई गर्नुपर्ने सुरक्षालगायतका सबै आवश्यक तयारी सुक्ष्म ढंगले गरिएको र उनीसँगको छलफल दुई सैनिकबीचको सम्बन्ध र सहयोगका विविध आयाममा केन्द्रित रहने सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । 

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी पदवीले सम्मान गर्नेछिन् । यो दुई मुलुकबीचको सात दशक लामो परम्परा पनि रहेको छ । एकअर्का मुलुकको सेना प्रमुखलाई सम्मान गर्ने परम्पराले दुई मुलुकबीचको सैन्य सम्बन्ध र नेपाल–भारतबीचको पृथक सम्बन्धलाई परिभाषित गर्दछ ।

दुवै मुलुकको सैन्य सम्बन्ध बहुआयामिक छ । हाल पनि करिब ३० हजार गोर्खा सैनिकहरु भारतीय सेनामा भर्ती भएका छन् । भारतीय सेनाले नेपाली सेनालाई आधुनिकीकरण, प्रशिक्षण, क्षमता अभिवृद्धि, मानवीय साहयता र विपद्‌ व्यवस्थापन, सैन्य अभ्यासलगायतका कुराहरुमा दशकौंदेखि सहयोग गर्दै आएको छ ।

पछिल्लो सयम अप्रेसन मैत्रीअन्तर्गत भारतीय सेनाले सहयोग पुर्‍याइरहेको छ । भारतीय सेनाले ०७२ को भूकम्पपछि अप्रेसन मैत्री सुरु गरेको छ । भारतीय सेनाले उद्धार र राहत कार्यक्रम तत्काली अघि बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्देशन दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप