मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सस्तियो भाइ मसला, कुन मसलाको मूल्य कति  छ ?

बिहीबार, २० कात्तिक २०७७, १३ : ५९
बिहीबार, २० कात्तिक २०७७

यस पटकको तिहारमा आम उपभोक्ताले मसलाको मूल्यमा ढाड सेकाउनुपर्ने छैन । गत वर्षभन्दा यसपटक मसलाको मूल्य सस्तो भएको छ । कोरोनाले गर्दा लामो समयसम्म व्यापार  व्यवसाय बन्द हुँदा थन्किएर बसेको मसला बिग्रिने डरले व्यवसायीहरुले कम नाफामै बिक्री गरेको पाइएको छ । यद्यपि यसपटक गत वर्षको जस्तो व्यापार नहुँदा अझै स्टक रहने हो कि भन्ने डरले व्यवसायीलाई सताउन थालेको छ । 

कृष्णभक्त श्रेष्ठले असनमा मसलाको व्यापार गर्न थालेको २० वर्ष भयो । अन्य दिनभन्दा तिहारको समयमा उनलाई व्यापार गर्न भ्याइ नभ्याइ हुन्थ्यो । उनले त्यही मसलाको व्यापार गर्दागर्दै आफ्नो युवा अवस्था पार गरिसके । तर यसपटकको तिहारको समयमा जस्तो फुर्सदिलो कहिले भएनन् । तिहार आउन अब एक साता बाँकी छ, श्रेष्ठको व्यापार फाट्ट फुट्ट मात्र भएको छ । उनी तिहारको बेलामा पनि यसरी खाली बस्नुपर्दा अचम्ममा परेका छन् । श्रेष्ठ भन्छन्, ‘व्यापार हुन सकेको छैन । यतिबेला त मेरो हात खाली कहाँ हुन्थ्यो, हेर्नुस् त अहिले त निदाएर बस्नुपरेको  छ ।’

उनी मात्र होइन अन्य मसला पसलमा पनि त्यस्तै छ तर केही केहीमा भने मनिसहरुको भिड देखिन्छ । 
खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठ यसपटक मसलाको मूल्य सस्तिनुमा पहिलेको स्टक क्लियरका लागि व्यवासायीले कम माजिर्न राखेर धमाधम बिक्री गरिरहेको बताउँछन् । अहिले बिक्री नगर्दा महँगो मसला बिग्रने डरले सस्तोमा बेचेको उनको तर्क छ । सामान्यतया मसला बिक्री हुने भनेको होटल, रेस्टुरेन्ट, मिठाई पसल लगायत खुलेको अवस्थामा हो । यसपटक होटल व्यवसाय बन्द भए जसले मसलाको माग नै नभएको र पुरानै मसला थन्किएर बसेको श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘आठ महिना बन्द भइसक्यो । पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट, मिठाइ पसल लगायतमा बढी माग  हुने भाइमसला लकडाउनका कारण व्यवसायीको गोदाममै थन्कियो । अहिले सो मसला बिग्रने डरले पनि व्यापारीले सस्तोमा दिन थालेका छन् । महँगो चिज फ्याँक्न सक्ने अवस्था छैन ।’

कुन मसलाको मूल्य कति सस्तो ? 
झिलिमिलीको चाड तिहारको पाँचौँ दिनमा भाइटीका पर्छ । जसमा हिन्दु परम्पराअनुसार भाइमसला अनिवार्य मानिन्छ । भाइ मसलामा काजु, किसमिस, ओखर, नरिवल, बदाम, पेस्ता, अञ्जिर, मखना, छोकडा, ल्वाङ सुकुमेल लगायत पर्छन् । 

यस वर्ष यी मसलाको मूल्य गत वर्षको तुलनामा सस्तिएको छ । मसलाको गुणस्तरअनुसार मूल्य तलमाथि छ । तर सबै पसलमा एकै खालको मूल्य भने देखिँदैन । काजु  टुक्रा नभएको तुलनात्मक रुपमा बढी रकम छ भने टुक्रा भएको कम मूल्य छ । यता सुपारीको मूल्य भने यसपटक बढेको छ । सुपारी विशेषगरी इन्डियन र सिङ्गापुरका छन् । इन्डियन सुपारी सिङ्गापुरको सुपारीको तुलनामा केही महँगो छ । 

काजु प्रतिकेजी १०० रुपैयाँदेखि २ सय रुपैयाँसम्मले घटेको छ भने किसमिस सय रुपैयाँसम्म घटेको छ । यता पेस्ता, नरिवल ५० रुपैयाँले घटेको छ भने छोकडा प्रतिकेजी २० रुपैयाँका दरले घटेको छ । सुकुमेल केजीमा ५ सय रुपैयाँसम्मले घटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप