आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण सामाग्रीमा एकपछि अर्को मूल्यवृद्धि

सिमेन्ट, डन्डी र पीभीसी पाइपको मूल्य तिहारपछि बढ्ने
सोमबार, २४ कात्तिक २०७७, ०९ : ०९
सोमबार, २४ कात्तिक २०७७

काठमाडौं । निर्माण सामाग्रीमा एकपछि अर्को गर्दै मूल्य बढ्न थालेको छ । इँटा, गिटी र बालुवाको मूल्य वृद्धिपछि सिमेन्ट, डन्डी र पाइपको मूल्य बढाउने तयारी सुरु भएको छ । व्यवसायीहरुका अनुसार तिहारपछि अब धेरैजसो सामानको मूल्य लकडाउन अघिको अवस्थामा पुग्नेछ र केही सामानको मूल्य भने त्योभन्दा माथिसम्म पुग्नसक्छ । 

कोरोनाभाइरसको प्रभाव सुरु हुनुअघि अघिल्लो वर्ष माघमा उद्योगीहरुले निर्माण सामाग्रीको मूल्य बढाएका थिए । त्योबला सिमेन्टमा ५० रुपैयाँसम्म र डन्डीमा प्रतिकेजी ७/८ रुपैयाँसम्म मूल्य बढेको पाइएको थियो । त्यतिबेला मूल्य प्रतिस्पर्धाका कारण सिमेन्ट उत्पादनका लागि प्रयोग हुने क्लिंकरको मूल्य घटेको थियो । उता अन्तराष्ट्रिय फलामको मूल्य समेत केही घटेको थियो । बजारमा कच्चा पदार्थको मूल्य घट्दा पनि मूल्य बढाइएको भन्दै त्यतिबेला यो निर्णयको आलोचना भयो । वाणिज्य विभागले उद्योगीहरुलाई मूल्य वृद्धिबारे प्रष्टिकरण समेत सोधेको थियो । 

तर, त्यसलगत्तै कारोनाभाइरसको महामारी सुरु भएपछि त्यो प्रसंग यत्तिकै सेलाएको थियो । लकडाउन सुरु भएको केही समयसम्म निजी र सार्वजनिक निर्माण ठप्प हुँदा बजारमा माग निकै कम भयो । त्यही बीचमा उद्योगीहरुले बढेको मूल्य समायोजन गरे । उनीहरुले बढेको मूल्य घटाउने काम मात्रै गरेनन्,  बजारमा आफ्नो उपस्थिति देखाउनकै त्योभन्दा कम मूल्य राखेर आफ्ना उत्पादनहरु बिक्री गर्न थाले । त्यतिबेला उद्योगीबीच एक प्रकारको प्राइस–वार नै चलेको थियो । अब भने उचित नाफासहित व्यवसायिक ढंगले मूल्य निर्धारणको पक्षमा आफूहरु रहेको एक उद्योगीले बताए । 

‘लकडाउनको समयमा हामीले नाफा हेरेनौं । बजारमा उपस्थिति देखाइराख्नकै लागि हामीले घाटा सहेर सस्तो मूल्यमा सामान पठायौं । तर, सँधैं यसरी चल्दैन । उचित नाफा राखेर जानुपर्छ । यसो गर्दा मूल्य केही बढ्न सक्छ,’ ती उद्योगीले भने । 

अहिले बजारमा डन्डीको मूल्य ७०/७२ रुपैयाँदेखि ८२/८३ रुपैयाँसम्म छ । लकडाउन हुनुअघि अहिले ७०/७२ रुपैयाँमा पाइने डन्डीको मूल्य ८० रुपैयाँको हाराहामीमा पथ्र्यो । अहिले ८२/८३ रुपैयाँ पर्ने डन्डीको मूल्य ९० रुपैयाँसम्ममा बिक्री हुँदै आएको थियो । 

आन्तरिक प्रतिस्पर्धा र मागकै कारणले मूल्य घटेको भने होइन । यसरी मूल्य घट्नुमा अन्तर्राष्ट्रिय बजारको मूल्य प्रमुख कारण थियो । अघिल्लो वर्षको असोजसम्म भारतबाट ल्याइएका कच्चा फलामको मूल्य भन्सार बिन्दुमा लाग्ने करसहित प्रतिकेजी ७१ रुपैयाँ २२ पैसा थियो । यो अवधिमा करिब ८९ हजार १ सय ९७ मेट्रिकटन फलाम तथा स्टिल आयात भएको थियो । यो वर्षको असोजसम्म प्रतिकेजी औसत ६४ रुपैयाँ ४८ पैसामा आयात भएको छ । यो अवधिमा ८९ हजार ८ सय ८१ मेट्रिकटन फलाम तथा स्टिल आयात भएको छ । तर कात्तिक लागेपछि भने आयातीत कच्चा ब्लेडको मूल्य बढ्न थालेको बताइएको छ ।

त्यसो त लकडाउनपछि सिमेन्टको मूल्य समेत घटेको छ । पहिले ७ सय ५० रुपैयाँ पर्ने पीपीसी सिमेन्टलाई यो समयमा ६ सय ८० रुपैयाँदेखि ७ सय रुपैयाँसम्ममा बिक्री गरियो । पहिले एक हजार रुपैयाँ पर्ने सिमेन्टको मूल्य ९ सय रुपैयाँसम्ममा झर्यो । स्टक क्लियरिङ गर्न योभन्दा कम मूल्यमा समेत सिमेन्टको बिक्री गरिएको बिक्रेताहरुको भनाइ छ । तर घटेको मूल्य समायोजन भएर अब पूरानै अवस्थामा फर्कनसक्ने बताइएको छ । यसो गर्दा मूल्यमा १० प्रतिशतसम्म वृद्धि हुनसक्छ ।

पीभीसी पाइप २५ प्रतिशतसम्म महँगिने
सिमेन्ट र डन्डीमा सामान्य मूल्यवृद्धि हुने प्रक्षेपण गर्दा पीभीसी पाइप भने अघिल्लो वर्षभन्दा २५ प्रतिशतसम्म महँगो हुनसक्ने बताइएको छ । यसका लागि ५/६ वटा कम्पनीले नयाँ मूल्यसूची तयार समेत गरिसकेका छन् । 
पीभीसी पाइप यसरी महँगो हुनुमा कच्चा पदार्थको मूल्यवृद्धि प्रमुख कारण रहेको बताइएको छ । पीभीसी पाइपका लागि प्रयोग हुने कच्चा पदार्थको मूल्य अन्तराष्ट्रिय बजारमै १५ प्रतिशतले बढेको पञ्चकन्या ग्रुपका सेल्स म्यानेजर हर्कबहादुर थापाले जानकारी दिए । 

‘पीभीसी पाइपको कच्चा पदार्थको मूल्य एक्कासी महँगिएर आयो । कात्तिकमा मात्रै यो १५ प्रतिशत महँगो भएको छ । अझै १० प्रतिशत महँगो हुन्छ भनिएको छ । यो भयो भने हामीले पनि त्यही बराबरको मूल्य बढाउनुपर्ने हुनसक्छ । हामी महिनाको अन्तिम समयसम्म हेर्ने तयारीमा छौं’ थापाले भने । 

अहिले यो पदार्थको मूल्य बढ्नुलाई थापा अस्वाभाविक मान्छन् । उनले भने, ‘यो मूल्यवृद्धि स्वभाविक हुँदै होइन । यो पनि पेट्रोलियम प्रोडक्ट नै हो, अरु प्रोडक्टको मूल्य घट्दा यसको मूल्य चाहिँ बढ्दै गएको छ । घट्छ कि भन्ने आश गरेका छौं । घटेन भने मूल्यमा प्रत्यक्ष प्रभाव पर्ने अवस्था छ ।’ 

यस्तो सामाग्रीको उत्पादन गर्ने विश्वमा सीमित कम्पनी मात्रै छन् । नेपालले भने भारतीय व्यापारीसँग कच्चा पदार्थ किन्दै आएको छ । यो कच्चा पदार्थ पीभीसी पाइपका लागि मात्रै नभएर चप्पल, विद्युतीय केवल जस्ता वस्तुको लागि समेत प्रयोग गरिन्छ । दीर्घकालीन रुपमा मूल्य बढ्दा यी वस्तुको मूल्य समेत बढ्नसक्ने उनको अनुमान छ । 

इँटा, बालुवा र क्लिंकरको मूल्य बढ्यो
त्यसो त ठूला उद्योगीले मूल्यवृद्धिको निर्णय गर्नुभन्दा अघि नै साना तथा मझौला उद्योगीले भने आफ्नो सामानको मूल्य वृद्धि गरिसकेका छन् । बालुवा, क्लिङ्कर लगायत प्राकृतिक खानीबाट उत्पादन हुने पदार्थदेखि इँटा लगायत प्रशोधित वस्तुसम्मको मूल्य यो अवधिमा बढिसकेको छ । प्रत्येक इँटामा अहिले २/३ रुपैयाँ मूल्य बढाइएको छ । 

उता लकडाउनको अवधिमा प्रतिट्रिपर २३/२४ हजारसम्म झरेको क्लिङकरको मूल्य २७/२८ हजारभन्दा कममा पाउन छाडिएको छ । पहिले यसको मूल्य ३२ हजारसम्म पुगेको थियो । त्यस्तै २०/२१ हजारसम्म आउने बालुवाको मूल्य पनि २४/२५ हजार पुगेको बताइन्छ । यद्यपि ठाउँअनुसार ढुवानी खर्च घटबढ हुनसक्ने भएकोले यसमा केही तलमाथि हुनसक्ने उद्योगीहरुको भनाई छ । बिक्रेताको आधारमा पनि मूल्य केही घटबढ हुन सक्छ । 

सिजनको मौकामा छोप्दै उद्योगी
निर्माण क्षेत्रको सिजन मनसुन र चाडबाड सकिएपछि सुरु हुन्छ । निर्माण क्षेत्रको सिजन सुरु हुँदैगर्दा उद्योगीहरुले मूल्यवृद्धिको मौका छोप्न लागेका हुन् । यद्यपि कोभिड–१९ को महामारी नसकिएको अवस्थामा उल्लेखित मूल्यमा बजार माग कति हुन्छ भन्ने अनुमान गर्न सक्ने अवस्थामा उद्योगीहरु समेत छैनन् । 

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा अहिलेको अवस्थामा बजारमा कति माग हुन्छ भन्ने अनुमान गर्नै नसकिने बताउँछन् । ‘अघिल्लो वर्ष सिमेन्टको माग कति भयो भन्ने त सबैलाई थाहै छ । तर यो वर्ष कति हुन्छ भन्ने अवस्था छैन,’ अध्यक्ष थापा भन्छन्, ‘यो आर्थिक वर्ष सुरु भएपछि आजसम्मको अवस्था राम्रो छैन । तर मंसिर लागेपछि सुधार हुन्छ कि भन्ने आशा चाहिँ छ ।’ 

अघिल्लो वर्ष नेपालमा करिब १० लाख टन सिमेन्टको उत्पादन भएको थियो । नेपाल हाल सिमेन्ट उत्पादनमा आत्मनिर्भरउन्मुख छ । यद्यपि घरायसी निर्माणसँग सम्बन्धित धेरैजसो सामाग्री भने अहिले पनि आयात नै हुँदै आएका छन् । 

नेपाल जग्गा तथा आवास विकास संघका अनुसार आवास निर्माणले २ सय ४७ प्रकारका उत्पादनहरु सूचीकरण गरेको छ, जुन निर्माणसँग अगाडि वा पछाडि जोडिएका (ब्याकवार्ड र फरवार्ड लिङ्केज भएका) छन् । कोभिड–१९ द्वारा सिर्जित परिस्थितिका कारण माग पक्ष कमजोर हुँदा यीमध्ये धेरैजसो सामानको मूल्य घटेको अवस्था छ । यी सामानहरुमा पनि क्रमशः मूल्य समायोजन हुँदैजाने अवस्था देखिन्छ । माग पूरानो अवस्थामा नफर्केको अवस्थामा यसले मूल्यमा झनै दवाव पार्नसक्ने अबस्था रहेको समेत बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप