सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

आलु अघिल्लो वर्षभन्दा ५० प्रतिशत महँगो, हिँउदे तरकारी भने सस्तिन थाले

प्याजको मूल्य अपेक्षित रुपमा घट्न सकेन
मङ्गलबार, २३ मङ्सिर २०७७, १५ : ४१
मङ्गलबार, २३ मङ्सिर २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा तरकारीको भाउ वर्षमा २ पटक महँगिन्छ । एउटा असोज–कात्तिकमा, र अर्को चैत–वैशाखमा । वर्षे तरकारीको स्टक सकिँदै जाँदा र हिउँदे तरकारी आइनपुग्दा असोज–कात्तिकमा तरकारीको बजारमूल्य निकै माथि पुग्छ । हिउँदे तरकारी रित्तिदा र वर्षे तरकारी पर्याप्त रुपमा उत्पादन नहुँदा चैत–वैशाखमा पनि तरकारी महँगो हुन्छ । अरु सिजनमा भने मौसम अनुसारका सस्तो हुन्छ । 

आलु र प्याजमा भने यो अवस्था अलिक फरक छ । दुई सिजनमा उत्पादन हुने र तत्कालै उपभोग गर्न नपर्ने भएकोले यी तरकारीको मूल्य वर्षमा एकपटक मात्रै महँगिन्छ । यो मूल्य साउनपछि विस्तारै उकालो लाग्दै जान्छ भने कात्तिक अन्तिमदेखि विस्तारै घट्दै जान्छ । 

तर, यसपालि यस्तो भएन । मंसिर महिना सकिनै लाग्दा समेत आलु र प्याजको भाउ घट्ने सुरसार देखिएको छैन । आलुको भाउ त अघिल्लो वर्षभन्दा ५० प्रतिशतसम्म महँगो भएको छ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको सर्भेक्षण अनुसार मंगलबार होलसेल बजारमा आलु रातोको भाउ प्रतिकेजी ६८ रुपैयाँ छ । त्यस्तै, भारतीय आलु रातोको र आलु सेतो प्रतिकेजी ६३÷६३ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्यले होलसेल बजारमै आलुको मूल्य एक धार्नीको १ सय ५० रुपैयाँ भन्दा बढी पर्न आउँछ । खुद्रा बजारमा मूल्य योभन्दा पनि बढी छ । 

उता मंगलबार सुकेको भारतीय प्याजको होलसेल मूल्य १ सय ५ रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा कम भए पनि सामान्य अवस्थामा भन्दा यो मूल्य दोब्बरभन्दा बढी हो । 

किन सस्तिएन आलु–प्याज ?  
यो वर्ष आलु नसस्तिनुमा भारतबाट आउने आलु प्रमुख कारण रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । अहिले नेपाली र भारतीय दुवै प्रकारको आलु बजारमा आपूर्ति हुन्छ । तर नेपाली आलुको मूल्य निर्धारण भारतीय आलुको मूल्यका आधारमा हुँदै आएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले भारतीय आलुभन्दा नेपाली आलु केही महँगो राखेर व्यापारीहरुले मूल्य निर्धारण गर्ने गरेको बताए । 

‘नेपाली आलु सामान्यतया भारतीय आलुभन्दा महँगो हुन्छ । उपभोक्ताले एउटै मूल्यमा पाएसम्म नेपाली आलु नै किन्ने भएकोले भारतीय आलु सस्तो हुन गएको हो,’ श्रेष्ठले भने, ‘नेपाली उत्पादनले मात्रै बजार नधान्ने भएकोले नेपालीको भन्दा कम मूल्यमा भारतीय आलुको आपूर्ति हुने गरेको छ ।’

तर, यो वर्ष भारतीय आलुको मूल्य घटेर आएन । भारतमै आलु महँगो भएका कारण यो वर्ष मूल्य सस्तो हुन नसकेको श्रेष्ठले बताए । यसैको प्रभावले नेपाली आलुको मूल्य समेत घट्न नसकेको उनको भनाइ छ । 
योमात्रै प्रमुख कारण भने होइन । पछिल्लो समय आलुको उत्पादन र वितरण प्रणालीमा समेत परिवर्तन भएको कारणले पनि मूल्य घट्न नसकेको प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार अहिले आलु खेती हुने क्षेत्र टनेल खेतीले भरिएको छ । त्यसैले पछिल्लो समय आलु उत्पादन हुने क्षेत्रफल समेत घट्दै गएको छ ।

आलुमा भन्दा अरु खेतमा बढी नाफा देखेर किसानहरु यस्तो खेतीमा लाग्न थालेका छन् । उत्पादन क्षेत्र नै कम हुँदा नेपाली आलुको उत्पादनमै कमी आउन समेत थालेको छ । यतिबेला काठमाडौं उपत्यकामा आपूर्ति हुने नेपाली आलुमध्ये पाँचखाल, साँखु, मुडे, नुवाकोट लगायत क्षेत्रमा उत्पादन हुन्छ । ती क्षेत्रमा अहिले टनेल खेती गर्ने प्रवृत्ति बढ्दै गएको छ । 

त्यसो त, अहिले उत्पादन हुने आलु अरु बजारमा समेत जान थालेको छ । अहिले काठमाडौं उपत्यकालाई मात्रै केन्द्रित गर्नुभन्दा भरतपुर, हेटौंडा, बीरगञ्ज, पोखरा जस्ता बजारहरुमा समेत पहाडी क्षेत्रको आलुको प्रशस्त आपूर्ति हुन थालेको छ । यसले गर्दा पनि काठमाडौं उपत्यकामा आपूर्ति हुने यस्ता तरकारीहरु महँगो भएका हुन् ।

उता, प्याजमा भने नेपाली बजार अधिकांश भारतीय र चिनियाँ बजारमै निर्भर छ । तर, भारतले अहिलेसम्म पनि प्याजको निकासी प्रतिबन्ध लगाइराखेको छ । भारतीय बजारबाट सहज रुपमा प्याजको आपूर्ति हुन नसक्दा नेपाली र चिनियाँ बजारको माग धान्नुपर्ने अवस्था छ । सोही कारण यो प्याजको मूल्य पनि अपेक्षित रुपमा घट्न सकेको छैन । यद्यपि अहिले कारोबार भइरहेको मूल्य अघिल्लो वर्षको भन्दा निकै कम रहेको समितिको तथ्यांक छ ।  

हिउँदे तरकारी सस्तिँदै
बजारमा हिउँदे तरकारी भने दिनप्रतिदिन सस्तो हुँदै गएको छ । अहिले काउली स्थानीय ३० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै काउली तराई २५ रुपैयाँ, लोकल बन्द ३५ रुपैयाँ, मूला १२ रुपैयाँमा कारोबार भइरहेको छ । यी मूल्यहरु अघिल्लो वर्षको सोही अवधिको तुलनामा सस्तो हो । 

यो वर्ष कालीमाटी बजारबाट बिक्री हुने तरकारीको परिमाण घटेको छ । अघिल्लो वर्ष ८ सय ५० टनको हाराहारीमा बिक्री हुने तरकारी यो वर्ष ६ सय टनमा सीमित रहेको बताइएको छ । उपत्यकामा अन्य बजारहरु व्यवस्थित हुँदै जाँदा र किसानले समेत सीधै तिनै बजारमा बिक्री गर्ने प्रवृत्ति बढ्दै जाँदा कालीमाटीमाथिको निर्भरता घट्दै गएको हुनसक्ने समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप