मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

दुई पूर्व सभासद्लाई पछार्दै मुन्टुले बाजी मारे, महिला पत्रकार भइन् उपमेयर

शनिबार, ०७ असोज २०७४, १८ : ५६
शनिबार, ०७ असोज २०७४

वीरगन्ज–  दुई जना पूर्वसभासदलाई पछार्दै पर्साका २८ वर्षीय युवा दीपनारायण रौनियार मन्टुले बाजी मारेका छन् । 
पर्साको दोश्रो सदरमुकामका रुपमा परिचित पोखरीया नगरपालिकामा दुई बलियो पार्टीका बलियो नेतालाई माथ गर्दै मुन्टु मेयरमा निर्वाचित भएका छन् । 

पोखरीया नगरपालिकाको चुनावी मैदनमा उत्रिएका पूर्वसभासद एंव संघीय समाजवादी फोरम नेपालका उम्मेदवार प्रधुमन चौहान र पूर्वसभासद एंव नेपाली काँग्रेसका उम्मेदवार रामेश्वर रौनीयार मुन्टुको प्रतिष्पर्धी थिए । फोरम र कांग्रेसका पूर्व सभासद्लाई पराजित गर्दै नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार मन्टु मेयरमा विजयी भए । 

मन्टु ३०२६ मतका साथ मेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका उम्मेदवार चौहानले भने २७६७ मत मात्रै पाए । मेयरका अर्का प्रत्यासी रौनियारले भने १ हजार ६ सय ६४ मतमा चित्त बुझाए । मुन्टुको रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी पार्टीले जनता दलको चुनाव चिन्ह पाङ्ग्राबाट चुनाव लडेको थियो ।  

फोरम नेपालका मेयरका उम्मेदवार चौहान २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा एमालेबाट पर्साको क्षेत्र नम्बर ४ मा निर्वाचित भएका थिए । उनी पाँच महिनाअघि मात्रै एमाले मधेसविरोधी भन्दै पार्टी छाडेका थिए । 

यस्तै मेयरमा पराजित काँग्रेसका उम्मेदवार रौनीयार पनि २०६४ सालको पहिलो संविधानसभाको सदस्य थिए । समानुपातिकबाट काँग्रेसको सभासद बनेका रौनियार २०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविकको पोखरीया गाविसको अध्यक्ष भएका थिए । 

पहिलो मधेश आन्दोलनका समयमा तत्कालीन मधेसी जनअधिकार फोरमको विद्यार्थी संगठनबाट राजनीति यात्रा शुरु गरेका मन्टुले पोखरीयामा आन्दोलन अवधीभर पार्टीको मोर्चा सम्हालेका थिए। फोरमसँग पनि रुष्ट भएप्छि उनी पार्टी छाडेर निश्क्रिय बसेका थिए । 

पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीले नेपाल संघीय समाजवादी पार्टी गठन गरे लगत्तै मुन्टु पनि रिजवानसँगै जोडिएका थिए । 

महिला पत्रकार खातुन भइन् उपमेयरमा 

पत्रकारीता पेशा छाडेर भर्खरै राजनीतिमा प्रवेश गरेकी मुस्लिम समुदायकी ३० वर्षीया महिला सलमा खातुन पोखरीया नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् । उनी पत्रकारीता पेशा छाडेर भर्खरै राजनीतिमा प्रवेश गरेकी हुन् । वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएममा कार्यरत खातुन उम्मेदवार मनोनयन दर्ता अघि मात्रै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी थिइन् ।

उनी २७०४ मतका साथ पोखरीया नगरपालिकाको उपमेयरमा विजयी भइन् । उनकी निटकतम प्रतिद्वन्द्वी नेपाल संघीय समाजवादी पार्टीकी उम्मेदवार विणा देवीले २४९५ मत पाइन् ।  १० वटा वडा रहेको पोखरीया नगरपालिकाको पाँच वटा वडामा काँग्रेस विजयी भएको छ भने तीन वटा वडामा फोरम र दुई वटा वडामा नेपाल संघीय समाजवादी पार्टीले जित हात पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप