सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री राउत

राजविराज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरभुलामा शनिबार नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको १० औँ साधारणसभामा उनले देशमा सङ्कट आएको समयमा पत्रकारले खेल्ने भूमिका महत्वपूर्ण भएको बताए ।
कुनै पनि अधिकार प्राप्तिको आन्दोलन होस् या देशलाई सङ्कट परेको खण्डमा पत्रकारले गरेको योगदान महत्वपूर्ण हुने उनले बताए । सञ्चार क्षेत्रको विकासबिना देशमा सुशासन र समृद्धिको कल्पनासमेत गर्न कठिन रहेको बताउँदै मुख्यमन्त्री राउतले सञ्चारगृहको विकास हुनुपर्नेमा जोड दिए ।
प्रदेश सरकारले सञ्चार क्षेत्रको विकासका लागि छिट्टै सञ्चार प्राधिकरण गठन र मिडिया काउन्सिलसम्बन्धी कार्य अगाडि बढाउन लागेको जानकारी दिँदै उनले प्रदेश सरकार सञ्चार क्षेत्र र पत्रकारको हकहित र उनीहरूको स्तरवृद्धि र समस्याप्रति गम्भीर रहेको उल्लेख गरे ।
सप्तरी जिल्ला आन्दोलनको ऐतिहासिक भूमि रहेको भन्दै मुख्यमन्त्री राउतले मधेसी समुदाय उत्पीडित, पिछडिएका वर्ग, दलित, जनजाति, मुस्लिम, महिलाले अधिकार प्राप्तिका लागि समय समयमा विभिन्न आन्दोलनसमेत गरेको बताए । मिडियाको भूमिका अग्रस्थानमा भए मात्र लोकतन्त्र सुरक्षित रहने उनको भनाइ थियो ।
कार्यक्रममा प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रेस स्वतान्त्रका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । सामाजिक विकासमन्त्री नवलकिशोर साहले बर्सेनि आउने बाढीले क्षतिग्रस्त र डुबान हुने सप्तरीको पूर्वी भेगका जनताको समस्याका लागि प्रदेश सरकारले पनि चासो लिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर