शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उखु किसानले भने-‘सरकारको मौखिक भुक्तानी मान्दनौं’

बिहीबार, ०८ माघ २०७७, १७ : ५४
बिहीबार, ०८ माघ २०७७

काठमाडौं । गत पुस १३ गते सरकार र पीडित उखु किसानबीच भएको भुक्तानीको सम्झौताअनुसार २१ दिन बितिसक्दा समेत आफुहरुले पाउनु पर्ने पूर्ण भुक्तानी नपाएको भन्दै किसानहरुले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।  बिहिबार एक प्रेस वक्तव्य जारी गर्दै पीडित उखु किसान संघर्ष समितिले सम्झौताअनुसार आफुहरुले पाउनुपर्ने पूर्ण भुक्तानी नपाएको, सरकारले भने जति भुक्तानी नभएको र कुन किसानले कति भुक्तानी पाए भन्ने एकिन तथ्याङ्क समेत सार्वजनिक नभएको भन्दै थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । 

मन्त्रालयले चिनी उद्योगबाट कुल ६५ करोड भुक्तानी गर्न बाँकी रहेकोमा गत पुस १३ गते देखि २१ गते भित्र कुल ५७ करोड भुक्तानी भएर अब ८ करोड मात्र बाँकी रहेको बताएकोमा किसानहरुले आपत्ति जनाएका छन् ।  अहिले सम्म के कति किसानहरुलाई भुक्तानी भयो सो तथ्याङ्क उद्योग मन्त्रालय र सम्बन्धित पक्ष कसैले पनि उपलब्ध नगराएको र भुक्तानीको सहि तथ्याङ्क समेत लुकाएर मौखिक जवाफमा किसानहरुलाई भ्रममा पार्न खोजेको पीडित किसानहरुले आरोप लगाएका छन् । 

किसानहरुले भुक्तानी सत्य तथ्य विवरण अबिलम्ब सार्वजकि गर्न र बाँकी भुक्तानी छिटोभन्दा छिटो गराउन समेत सरकारसँग माग गरेका छन् । साथसाथै भुक्तानी नहुँदा सम्म विरोधका कार्यक्रमसमेत सँगै लगिने किसानहरुले उद्घोष गरेका छन् ।  संघर्षको कार्यक्रम अन्तरगत आगामी माघ १० गते देखि फागुन ७ गतेसम्म किसान जागर अभियान चलाउने, फागुन ८ गतेदेखि १४ गतेसम्म कालो पट्टी बाधेर खेतमा काम गर्ने, फागुन १५ गतेदेखि फागुन २१ गतेसम्म एक छाक उपवास (भोकभोकै) खेतमा काम गर्ने, र त्यसापछि तेस्रो चरणको आन्दोलनको घोषणा गर्ने पीडित उखु किसानहरुले घोषणा गरेका छन् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप