शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो लागि चुनाव क्षेत्र खोज्दै राजेन्द्र महतो

बुधबार, १४ माघ २०७७, ०७ : ५१
बुधबार, १४ माघ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेसँगै राजनीतिक दलहरु आन्दोलनलाई निरन्तरता दिने या चुनावको तयारीमा जुट्ने भन्ने दोधारमा छन् ।

त्यसो त, नेपाली काँग्रेस, नेकपाको प्रचण्ड–माधव पक्ष र जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन तथा विरोधसभा गर्दै आएका छन् । त्योसँगै ती दलका केही नेता आफ्नो चुनाव क्षेत्र सुनिश्चित गर्ने, मतदातासँग सम्बन्ध बढाउने र संगठन विस्तारलाई महत्त्व दिने काममा पनि जुट्न थालेका छन् ।

त्यही क्रममा जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो आफ्नो चुनाव क्षेत्र छनोटमा लागेका छन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा धनुषाबाट उम्मेदवारी दिइ विजयी भएका उनी त्यसअघि सर्लाहीबाट उम्मेदवारी दिने गर्दथे । वैशाखमा चुनाव हुने नै अवस्था आएमा कहाँबाट उम्मेदवारी दिने भन्ने सन्दर्भमा महतोले आफ्नो क्षेत्र छनोटको तयारी थालेका हुन् ।

यसपटक महतो धनुषा–३ बाट चुनाव जित्नेमा विश्वस्त हुन सकेका छैनन् । त्यहाँका जनताले अब साथ नदिने आँकलन गरेका महतोले आगामी चुनाव कहाँबाट लड्ने भन्नेबारे विचार विमर्श गर्न थालेका हुन् ।

आगामी चुनावमा सर्लाही, धनुषा, सिरहा, सप्तरी, काठमाडौंमध्ये कहाँबाट चुनाव लड्ने भन्नेबारे उनले अध्ययन तथा छलफल थालेका छन् । त्यही क्रममा ती जिल्लामा पुगेर त्यहाँका कार्यकर्ता तथा मतदाताहरुको नाडी छाम्ने काम उनले गरिरहेका छन् । कार्यकर्ता र नेताहरुको बीचमा छलफल चलाएर उनले त्यहाँको माहौल बुझ्ने काम गरिरहेका छन् ।

केहीदिन अघि सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले राखेको जिज्ञासामा महतोले आफ्नो माग देशैभरीबाट आइरहेको बताएका थिए । उनले आफू जहाँबाट पनि चुनाव लड्नसक्ने प्रतिकृया दिएका थिए ।

उनका यी अभिव्यक्तिले नै उनी अबको चुनावमा कहाँबाट उम्मेदवार हुने भन्ने सुनिश्चित नभइसकेको संकेत गरेको छ । संसदीय राजनीतिमा प्रायः नेताहरुको क्षेत्र निश्चित हुन्छ । उनीहरुले आफ्ना क्षेत्रमा लगानी, विकास गरेका हुन्छन् तर महतोको हकमा त्यस्तो छैन ।

बारम्बार सर्लाहीको क्षेत्र नम्बर २ बाट चुनाव लड्दै आएका महतो पछिल्लो प्रतिनिधिसभा चुनावमा धनुषा क्षेत्र नम्बर ३ बाट चुनाव जितेका थिए । दोस्रो संविधानसभा चुनावमा महेन्द्रराय यादवसँग चुनाव हारेका महतो प्रतिनिधिसभा निर्वाचनमा त्यहाँबाट चुनाव लड्ने आँट नै गरेनन् । र, साह, सुडी, तेलीको बर्चस्व रहेको धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिए । त्यहाँ उनले नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पराजित गर्दै चुनाव जिते ।

यसपटक महतो धनुषा–३ बाट चुनाव जित्नेमा विश्वस्त हुन सकेका छैनन् । त्यहाँका जनताले अब साथ नदिने आँकलन गरेका महतोले आगामी चुनाव कहाँबाट लड्ने भन्नेबारे विचार विमर्श गर्न थालेका हुन् ।

धनुषा–३ बाट किन पलायन हुँदैछन् महतो ?

धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महतोले चुनावका क्रममा जनतासँग गरेको प्रतिवद्धता अनुसार काम नगरेको गुनासो सो क्षेत्रमा व्याप्त छ । पछिल्लो समय त्यहाँ उनको खुलेरै आलोचना हुँदै आएको छ । त्यतिमात्र होइन, सो क्षेत्रमा उनले लालकिशोर साहकै सहयोग र समर्थनमा चुनाव जितेका थिए । जनकपुर उपमहानगरपालिका मेयरसमेत रहेका लालकिशोर साह पनि पछिल्लो समय महतोसँग सन्तुष्ट छैनन् । लालकिशोरसँगको सम्बन्ध बिग्रिएका कारण महतोले चुनावमा उनको सहयोग नपाउने आँकलन गरिसकेका छन् ।

महतो सर्लाहीको क्षेत्र नम्बर २ मा पनि फर्कन सक्ने अवस्था छैन । किनभने त्यहाँ महेन्द्र राय यादवले आफ्नो प्रभाव जमाइसकेका छन् । दुवै एउटै पार्टीका नेता भएकाले पनि सर्लाही–२ मा पार्टीका तर्फबाट यीदुईमध्ये एकले मात्र स्थान पाउनेछन् । अघिल्लो निर्वाचनमा धनुषा–३ मा पलायन भएका कारण पनि महतोलाई यस क्षेत्रका जनताले राम्रो मानेका छैनन् ।

लालकिशोरको सहयोग र समर्थनविना त्यहाँबाट चुनाव जित्न सम्भव नहुने र लालकिशोरले आगामी चुनावमा आफूलाई सहयोग नगर्ने बुझेर नै महतो त्यहाँबाट निस्कन खोजेको स्रोतको दावी छ ।

कारण त्यतिमात्र होइन, यसपटक काँग्रेसका नेता विमलेन्द्र निधिको तयारी पनि राम्रै छ । निधिको बलियो उपस्थिति देखेर पनि महतो त्यो क्षेत्रबाट चुनाव नलड्ने मनस्थितिमा पुगेका हुन् ।

महतो सर्लाहीको क्षेत्र नम्बर २ मा पनि फर्कन सक्ने अवस्था छैन । किनभने त्यहाँ महेन्द्र राय यादवले आफ्नो प्रभाव जमाइसकेका छन् । दुवै एउटै पार्टीका नेता भएकाले पनि सर्लाही–२ मा पार्टीका तर्फबाट यीदुईमध्ये एकले मात्र स्थान पाउनेछन् । अघिल्लो निर्वाचनमा धनुषा–३ मा पलायन भएका कारण पनि महतोलाई यस क्षेत्रका जनताले राम्रो मानेका छैनन् ।

यसअघि पनि महेन्द्र राय यादवले सर्लाही–२ बाट चुनाव जितेका र सो क्षेत्रमा उनले राम्रै लगानीसमेत गरेका कारण सो क्षेत्रमा राजेन्द्र महतोका लागि ढोका बन्द भइसकेको जानकारहरु बताउँछन् ।

नेता महतोले सर्लाहीको क्षेत्र नम्बर ४ मा पनि आँखा गाडेका छन् । त्यसका लागि उनी त्यहाँका नेता तथा कार्यकर्ताको सम्पर्कमा पुगेका छन् । सो क्षेत्रबाट नेपाली काँग्रेसका नेता अमरेशकुमार सिंहको पकड क्षेत्र मानिन्छ । उनी त्यहाँबाट लगातार चुनाव जित्दै आएका छन् ।

पहिलो संविधानसभा चुनावमा अमरेशले तत्कालीन तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई हराएका थिए भने दोस्रो संविधानसभामा चुनावमा शिवपुजन रायलाई हराएका थिए । २०७४ सालको प्रतिनिधिसभा चुनावमा उनले तत्कालीन राजपा नेपालका नेता राकेश मिश्रलाई पराजित गरेका थिए ।

स्रोतका अनुसार यसपाली राकेश मिश्रलाई त्यहाँबाट टिकट दिइने छैन । चिनी उद्योगीहरु राकेश मिश्रको विरोधमा लागेका छन् । उखु किसानलाई उचालेर चिनी उद्योगीलाई दुःख दिएका कारण उनीहरुले कुनै पनि हालतमा राकेश मिश्रलाई त्यहाँबाट चुनाव लड्न नदिने तयारी गरिरहेको स्रोत बताउँछ । बरु चिनी उद्योगीहरुले राजेन्द्र महतोलाई साथ दिने देखिएको सो क्षेत्रका नेताहरु बताउँछन् ।

महतोले सप्तरीको क्षेत्र नम्बर ३ मा पनि आँखा गाडेका छन् । स्व.गजेन्द्रनारायण सिंहको गृहजिल्ला भएका कारण त्यसको नारा दिएर उनी त्यहाँबाट चुनाव लड्ने सोच बनाएको स्रोत बताउँछ । यसका लागि उनले त्यहाँका नेता तथा कार्यकर्तासँग पनि व्यापक छलफल गरेका छन् । विरोधसभाका लागि माघ ७ गते सप्तरी पुगेका राजेन्द्र महतो तीन/चार दिनसम्म सोही क्षेत्रमा घुमफिर गरे, नेता तथा कार्यकर्तालाई भेटे र माहौल बुझ्ने प्रयास गरे । तर उनी टुंगोमा पुग्न भने अझै सकेका छैनन् ।

स्रोतका अनुसार महतोको ध्यान सिरहातिर पनि केन्द्रित भएको छ । सिरहाको कुन क्षेत्रबाट चुनाव लड्न उपयुक्त हुन्छ भन्नेबारे उनले आन्तरिक छलफल गरिरहेको स्रोत बताउँछ ।

जसपा नेपालका विद्यार्थी नेता किशोर यादव (सप्तरी) ले राजेन्द्र महतो सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार भएको आफूहरुले हेर्न चाहेको बताए । यसअघि जसपा नेपालकै नेता चन्द्रकान्त चौधरीले सो क्षेत्रबाट चुनाव जितेका थिए । तर यसपाली उनी चुनाव लड्ने मुडमा छैनन् । चन्द्रकान्त चौधरी त्यहाँबाट उम्मेदवार नभएको अवस्थामा त्यहाँ चुनाव लड्ने अरु कुनै चर्चित नेता छैनन् । त्यसैले महतोको सम्भावना बलियो रहेको बताइन्छ । विद्यार्थी नेता यादवले सो क्षेत्रमा नेताहरुको बीचमा महतोको बारेमा छलफल भइरहेको बताए ।

तर महतोका प्रेस सहयोगी विन्दकिशोर साह (किशोर गुरु) ले हालसम्म वरिष्ठ नेता महतोले धनुषा छाड्ने सोच नबनाएको दावी गरे । उनले भने, राजेन्द्र महतोज्यू धनुषाबाटै चुनाव लड्नु हुन्छ । हालसम्म त्यही तयारी भइरहेको छ । भोलि गएर के हुन्छ थाहा छैन ।’

सप्तरीबाट चुनाव लड्ने हल्लामात्र भएको उनले दावी गरे । नेता महतोले धनुषा क्षेत्र नम्बर ३ छाडेपछि त्यहाँबाट जसपा नेपालका अरु कसले उम्मेदवारी दिने भन्ने विकल्प तयार नभएको पनि उनले बताए ।

तर स्रोतका अनुसार महतोको ध्यान सिरहातिर पनि केन्द्रित भएको छ । सिरहाको कुन क्षेत्रबाट चुनाव लड्न उपयुक्त हुन्छ भन्नेबारे उनले आन्तरिक छलफल गरिरहेको स्रोत बताउँछ ।

त्यसो त उनले काठमाडौंबाट पनि चुनाव लड्ने सोच बनाएका छन् । अनामनगरमा आफ्नो सम्पर्क कार्यालय खोलेका महतोले काठमाडौंमै चुनाव क्षेत्र बनाउनेबारेमा छलफलसमेत गर्ने गरेका छन् । तर स्रोत भन्छ, ‘काठमाडौंका लागि उनले त्यति हिम्मत गरिरहेका छैनन् । उनले आफ्ना छोराको विवाह यहाँका नेवारी समुदायमा गरेपछि काठमाडौंसँग पारिवारीक सम्बन्ध भएका हुनाले काठमाडौंमै चुनाव लड्ने कि भनेर कहिलेकाहीँ आफैले चर्चा चलाउने गरेका छन् तर निष्कर्ष निकाल्न सकिरहेका छैनन् ।’

आगामी चुनावमा काँग्रेससँग गठबन्धन भयो भने उनी काठमाडौंबाट पनि चुनाव लड्न सक्ने स्रोतको भनाइ छ । तर काठमाडौंका बारेमा महतोले त्यति गृहकार्य नगरेको उनका सहयोगीहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप