शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संवैधानिक आयोगहरूमा नियुक्ति : प्रधानमन्त्रीको ‘म नै संविधान हुँ’ भन्ने दम्भ उजागर भयो

बुधबार, २१ माघ २०७७, ११ : ०८
बुधबार, २१ माघ २०७७

 

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संवैधानिक आयोगहरूमा असंवैधानिक रुपमा नियुक्ति गरिएकोमा आपत्ति जनाएका छन् । संसदीय सुनुवाइ समिति नभइ विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुको शपथ ग्रहणले प्रधानमन्त्रीको 'म नै संविधान हुँ' भन्ने दम्भ उजागर भएको सिंहले बताए ।

बुधबार विज्ञप्ति जारी गर्दै उनले भने, ‘संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै  गरिएको नियुक्तिले प्रधानमन्त्रीमा अन्तरनिहित म नै संविधान हुँ भन्ने दम्भ उजागर भएको छ ।’

संवैधानिक परिषदको अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसहितको (कोरम नपुगेको) बैठकले गरेको सिफारिस नै असंवैधानिक भएको उनको भनाइ छ । ‘त्यसैले आज गराइएको सपथ असंवैधानिक सिफारिसलाई मान्यता दिनका लागि गरिएको अर्को असंवैधानिक कदम हो । संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

७ दशक लामो संघर्ष र ठूलो बलिदानीबाट प्राप्त उपलब्धिका रूपमा रहेको संविधान सरकार र सरकारमा रहनेहरूको असंवैधानिक कार्य र मनपरितन्त्रका कारण संकटमा परेको सिंहको आरोप छ ।

‘अब पनि सचेत नहुने हो भने देश गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने निश्चित छ । सरकारले संविधान मिचेर गरिरहेको असंवैधानिक सफारिस, नियुक्ति, विचौलियाहरूलाई नियम मिचेर दिइएका ठेक्कापट्टा र राज्यस्रोतको दोहनले सीमा नाघिसकेको छ,’ उनले भने, ‘अनावश्यक नियुक्ति र राज्यस्रोतको दुरूपयोग गर्दै ज्ञानेन्द्र शैलीमा गरिएका सभासम्मेलन देशलाई अस्थिरतातर्फ धकेल्न उद्दत देखिन्छ ।’

संविधानको रक्षा गर्न र राज्यको ढुकुटीमाथिको ब्रह्मलुट रोक्नमा लागि सबैलाई सचेत र जागरुक रहन सिंहको अपिल छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप