शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

झडपमा घाइते भएका रामचन्द्र झा र मातृका यादवलाई काठमाडौं पठाइयो

बिहीबार, २२ माघ २०७७, १९ : ५१
बिहीबार, २२ माघ २०७७

धनुषा । जनकपुरधाममा प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपका क्रममा घाइते भएका  नेकपा प्रचण्ड माधव पक्षका स्थायी समति सदस्य मातृका यादव र केन्द्रीय सदस्य रामचन्द्र झा लगायतका नेताहरुलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

नेता यादवसहित रामचन्द्र झा, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया र अर्का जिल्ला नेता प्रदिप साहको अवस्था गम्भिर देखिएकोले काठमाडौ पठाइएको नेकपा धनुषाका सचिव दिपक यादवले जानकारी दिए । दिउँसो प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परेर नेता झाको टाउकोमा गम्भिर चोट लागेको छ भने अन्य नेताहरु पनि घाइते भएका थिए । उनीहरुको अवस्था गम्भिर देखिएकोले उपचारका लागि काठमाडौं पठाइएको सचिव यादवले जानकारी दिए ।

उता, आमहड्तालका क्रममा प्रदेश नम्बर २ मा  प्रचण्ड–माधव पक्षका ६१ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका अधिकांश नेता कार्यकर्ताहरुलाई रिहा गरिसकिएको प्रहरीले जनाएको छ । तर सिरहामा पक्राउ परेका आन्दोलनकारीहरुलाई भने अहिलेसम्म छाडिएको छैन ।

प्रदेश २ प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पर्सामा ३१, धनुषामा ११, महोत्तरीमा ५, रौतहटमा ६, बारामा ८ र सिरहामा २ जनालाई नियन्त्रणमा लिइएको थियो । प्रदेश २ भरबाट पक्राउ परेका ६१ जनामध्ये ५९जनालाई छोडिएको छ भने सिरहामा पक्राउ परेका २ जनालाई अहिलेसम्म पनि नियन्त्रणमै राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बिहीबार प्रचण्ड–माधव पक्षले देशव्यापी रुपमा आमहड्ताल गरेको थियो । त्यस्तै प्रहरीले दमन गरेको भन्दै भोलि विहान प्रचण्ड माधव पक्षले जनकपुरमा पत्रकार सम्मेलन गर्ने सचिव यादवले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप