शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

केएमसीमा पनि अक्सिजन अभाव, कोरोना संक्रमितको उपचारमा समस्या

बुधबार, २९ वैशाख २०७८, २३ : ४२
बुधबार, २९ वैशाख २०७८

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा अक्सिजन अभाव हुँदा कोरोना संक्रमितको उपचार प्रभावित भएको छ । अस्पतालमा भएको अक्सिजन सकिएको र सरकारले दिने भनेको कोटाअनुसारको अक्सिजन नपाउँदा बिरामीको उपचारमा समस्या भएको अस्पतालले जनाएको छ ।

अक्सिजन नहुँदा उपचाररत विरामी डिस्चार्ज गर्नुपर्ने अवस्था आएको भन्दै अस्पतालले सीसीएमसीलाई बुधबार पत्र पठाएको छ । ‘अक्सिजन सप्लाई गर्न अस्पतालले नयाँ जडान गरेको मेसिनले काम नगरेको यहाँलाई विदितै छ । नेपाल सरकारको कोटाबाट प्राप्त हुने २५० सिलिन्डर हालसम्म एउटा पनि प्राप्त भएको छैन, अन्यत्रबाट समेत अक्सिजन उपलब्ध हुन सकेको छैन, मौज्दातमा भएका सबै सिलिन्डरहरु रित्तिएका छन्’ केएमसीका बरिष्ठ प्रशासक प्रेमप्रकाश थापाले सीसीएमसीलाई पठाएको पत्रमा भनिएको छ, ‘२०७८ बैशाख २९ गते साँझ सम्मलाई मात्र अक्सिजन पुग्ने भएकाले यसबाट स्वास्थ्य अवस्थामा गम्भीर समस्या उत्पन्न हुन नदिन विरामीलाई डिस्चार्ज गर्नुपर्ने अवस्था आएकाले यसको जानकारी तथा आवश्यक कारबाहीका लागि अनुरोध छ ।’

केएमसीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनस्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी वृत्तलाई पनि अक्सिजन अभावले संकट निम्तिएको जानकारी गराइसकेको छ । अस्पताललाई अक्सिजन उपलब्ध गराउँदै आएका सप्लायर्सहरुलाई रोकेर सरकारले एकद्वार प्रणालीबाट अक्सिजन दिने भनी कोटा तोकेको भएपनि अक्सिजन भने उपलब्ध नगराउँदा बिरामीलाई अस्पतालबाट डिस्चार्ज गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना भएको अस्पतालका चिफ मेनेज्मेन्ट कन्सलटेन्ट डा.केपी शर्माले बताए ।

‘हामीले दुई वटा सप्लायर्स कम्पनीबाट दैनिक ३५० अक्सिजन सिलिन्डर लिदै आएका थियौं । सरकारले एकद्वार प्रणालीबाट अक्सिजन दिने भनेर सबैलाई रोक्यो, केएमसीलाई २५० सिलिन्डर दिने भनेको थियो, तर हामी सिलिन्डर लिन गएर धेरै प्रयास गर्दा पनि पाएनौं,’ डा.शर्माले भने, ‘हामीसँग भएको अक्सिजन पनि रित्तियो, सरकारले पनि दिएन, अरु केही उपाय पनि नहुँदा विरामीलाई डिस्चार्ज गर्नुपर्ने बाध्यात्मक अवस्था आएको हो ।’

अक्सिजन सिलिण्डर वितरणमा मनोमानी भइरहेको पनि उनले आरोप पनि लगाए । पहुँच हुनेले सजिलै अक्सिजन पाइरहेको भएपनि पहुँच नपुग्नेहरु रित्तै फर्कनुपरेको उनको भनाई छ । केएमसीमा अहिले १४२ जना कोरोना संक्रमित उपचाररत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप