केन्द्रीय संस्करण
प्रेरक

प्रेरक व्यक्तित्व : थोमस एल्वा एडिसन

person explore access_timeजेठ ९, २०७८ chat_bubble_outline0

महान् वैज्ञानिक थोमस एल्वा एडिसनको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । मिलान, ओहायो अमेरिकामा १८४७ फ्रेब्रुअरी ११ मा जन्मेका एडिसनको ८४ वर्षको उमेरमा मृत्यु भएको थियो । बाल्यकालमा मन्द बुद्धि भनेर स्कुलबाट निकालिएका एडिसन कसरी विश्वविख्यात वैज्ञानिक बने भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ ।  

एडिसन सानैदेखि जिज्ञासु स्वभावका थिए । मनमनै यो भए त्यो किन भएन भन्ने र त्यसैसँग खेल्ने, खेलाउने उनको विशेषता थियो । हरेक कुराको प्रश्न तथा प्रतिप्रश्न गर्दै व्यावहारिक प्रयोगबाट सिद्ध गर्ने प्रयास गर्थे । पाँचै वर्षको उमेरमा कुखुराको पोथीले अन्डा छोपेको देखेर आमासँग सोधेका थिए–

‘आमा ! कुखुरीले अन्डा किन छोपेको ?’

उत्तरमा आमाले भनेकी थिइन्–

‘बच्चा कोरल्न अन्डा तताउनुपर्ने भएकाले छोपेकी हो उसले ।’

त्यसपछि उनलाई पनि त्यस्तै गर्न मन लागेछ र कोठामा अन्डा जम्मा पारी छोप्न बसेछन् ।   

एडिसन छ वर्षको उमेरमा स्कुलमा भर्ना भएका थिए तर उनी स्कुलमा करीव तीन महिनाभन्दा बढी बस्न पाएनन् । स्कुलमा शिक्षकले वर्णमाला कक्षा सुरु गरे तर सतही अक्षर ज्ञानले उनको चित्त बुझ्दैन थियो । प्रत्येक अक्षरलाई अर्थ सहित प्रष्ट हुन चाहन्थे, जसले गर्दा उनी पढाइमा अरुभन्दा पछाडि रहे ।

उनको व्यवहार शिक्षकलाई मन परेन र मन्द बुद्धिको भन्दै स्कुलबाट निकाली दिए । यो कुरा उनले आमालाई बताए । आमाले आफैँ गएर शिक्षकलाई सम्झाउन खोजिन् । शिक्षकले यस्ता विद्यार्थीलाई राख्दा अन्य विद्यार्थी पनि बिग्रन्छन् भन्दै उनको कुरा सुन्नै चाहेनन् । 

त्यसपछि एडिसनको पढाइ घरमै सुरु भयो । आमा नै उनको शिक्षक बनेर आवश्यता पूरा गर्न थालिन् । उनी घरमै प्रयोगशाला खोलेर अनुसन्धान गर्न लागे । प्रयोगशालाका लागि चाहिने फर्निचर पुरानो टेबुल कुर्ची जोडजाड गरेर मिलाए । आवश्यक केमिकल भने आमाले बोतलमा हालेर राखी दिने गर्थिन् ।

बिस्तारै उनलाई प्रयोगशाला चलाउन पैसा अभाव हुन थाल्यो । त्यसैले व्यपार गर्ने विचार गरे । घर नजिकै एउटा सानो रेल्वे स्टेशन थियो, जो भरखरै सुरुभएको थियो । त्यहीँका  कर्मचारीसित कुराकानी गरी रेलभित्रै व्यपार सुरु गरे । आमाले पढाइमा बाधा पुग्छ भनेर रोक्न खोजेकी थिइन् तर मानेनन् । रेलको एउटा डिब्बामा समान राखेर बेच्न थाले । जहाँ रेल रोकिन्थ्यो त्यहाँ ओलन्थे र एकछिन घुमघाम गरी नयाँ कुरा सिक्थे, पत्ता लगाउँथे । जब रेल चल्थ्यो उनी पनि हुइँकिन्थे । अन्तिम स्टेशनमा रेल धेरै बेर रोकिने गथ्र्यो । त्यतिबेला उनी नजिकैको पुस्तकालयमा गएर पढ्ने गर्थे ।

रेलमै उनले सानो प्रयोगशाला पनि खोलेका थिए तर धेरै दिन भने टिक्न भने पाएन त्यो । एकदिन केमिकल पोखिएर डिब्बामा आगो लाग्यो । कर्मचारीले नराम्रोसित उनको कान निमोठे, समान फालिदिए ।

त्यसपछि रेल्वेमा पत्रिका बेच्ने काम गरे । रेलकै पछाडिको डिब्बामा प्रिन्टिङ मेशिन राखेर छपाइको काम पनि चलाउँथे । समय बित्दै गयो । एकदिन स्टेशन पुग्दा रेल छुट्नै लागेको थियो । कर्मचारीले जोरसित कानमा समातेर माथि उचाले, जसले गर्दा उनी जीवनभर एउटा कान कम सुन्ने भए । त्यस दिनदेखि स्टेशन जान कहिल्यै ढिलो गरेनन् ।

समय बित्दै गयो । बिस्तारै उनलाई प्रयोगशाला चलाउन थप पैसा चाहियो । केगरौ केगरौँ भइरहेको बेला एकदिन सानो बालक रेल्वे लाइनमा खेलिरहेको देखे । बालकलाई उताबाट रेल आउँदैछ भन्ने थाहा थिएन । समयमै उनी त्यहाँ पुग्न भ्याएकाले बालकलाई बचाउनलाई बचाउन सफल भए । बालक त्यतैका ठूला सेठका छोरा रहेछन् । छोराको ज्यान बचादिएका हुनाले सेठले खुसी हुँदै प्रयोगशालाको व्यवस्था मिलाइदिए ।   

एकपटक उनले सार्वजनिक काममा प्रयोग हुन सक्ने एउटा मेसिन आविस्कार गरेका थिए । उनलाई आशा थियो सरकारी कर्मचारीले प्रयोग गर्नेछन् तर कर्मचारीहरूले त्यता ध्यान दिएनन् । त्यसपछि दैनिक जीवनमा प्रयोग हुने बाहेक अर्को समान आविस्कार नगर्ने प्रण गरे, जसले गर्दा दर्जनौँ यस्ता सामानको आविष्कारकर्ता हुन पुगे, मानिसको दैनिक जीवनमा अत्यावश्यक हुने गर्थे । उनले अविष्कार गरेका समानमध्ये एउटा विजुलीको चिम पनि हो, जसको प्रयोग अहिलेसम्म पनि हुँदै आएको छ । 

त्यतिबेला बिजुलीको चिम निकै ठूलो हुने गथ्र्यो । यसले सार्वजनिक स्थानमा काम दिए पनि घरमा प्रयोग गर्न मिल्दैनथ्यो । त्यसैले उनको ध्यान त्यतैतिर तानिएको थियो ।

यसका लागि निकै मिहिनेत गरेका छन्, श्रम र समय खर्चेका छन् एडिसनले । झण्डै हजारपटक असफल भए यस काममा तर हार मानेनन् । असफलताभित्र नै सफलता लुकेको हुन्छ भन्दै निरन्तर त्यसैमा लागिरहे । 

यसबारे एकपटक उनका एक साथीले सोधेका थिए–

‘मित्र निकै दिनदेखि यसैमा लाग्दै आउनुभएकोछ । हजारपटक भन्दा बढी पटक असफल भइसक्नुभयो । तैपनि छाड्नुभएको छैन । किन यस्तो कामको पछि लागेर समय खेर फाल्नुहुन्छ ?’

साथीको कुरा सुनेर एडिसनले मुसुक्क हाँस्दै भने–

‘ठीक भन्नुभयो मित्र ! यसमा निकै पटक असफल भइसकेको छु । तथापि मलाई प्रयास खेर गएको छ जस्तो भने लागिरहेको छैन । किनभने यस काममा जतिपटक असफल भएको छु त्यति नै नयाँ तरिका सिक्दै पनि गएको छु । लाग्छ अब सफलताको नजिक पुगिसकेको छु ।

नभन्दै यिनै अठोटका कारण एक दिन चिम बनाउन सफल भए र दुनियाँको जीवन चक्र नै बदलिदिए । आज हामीले कोठामा बसेर जुन उज्यालोको सुविधा उपभोग गर्दैछौँ त्यो उनकै देन हो । एडिसनले कुनै औपचारिक शिक्षा पाएका थिएनन् । यिनै लगन, अभ्यास र निरन्तर प्रयासका कारण विश्वविख्यात वैज्ञानिक हुन पुगेका हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.