बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भारतबाट प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकियो

मङ्गलबार, ११ जेठ २०७८, १७ : ००
मङ्गलबार, ११ जेठ २०७८

भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकिएको छ । लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको छ ।

दैनिक भारतबाट सो नाका भएर २५ जनाभन्दा बढी नेपाली वीरगञ्ज प्रवेश गर्ने गरेको भए पनि किटको अभावमा कोरोना परीक्षण हुन नसकेको हेल्थ डेस्कका इन्चार्ज सैमुला अन्सारीले  जानकारी दिए । उनले भने, “किटको अभावमा अहिले सामान्य ज्वरो मात्र नाप्ने गरिन्छ ।” उनले यदि कोरोनाको लक्षण देखिएमा जुन जिल्लाको बासिन्दा हुन्छ त्यही जिल्लामा उपचारको लागि पठाउने गरेको बताए ।

महानगरपालिकाले भन्सार क्षेत्रमा स्थापना गरेको हेल्थ डेस्कमा एन्टिजेन किटको अभाव रहेको जनाएको छ । महानगरपालिकाका प्रमुख बिजय सरावगीले जिल्ला जनस्वास्थ्य कार्यालयले हालसम्म सो किट उपलब्ध नगराउँदा समस्या देखिएको बताए । पिसिआर परीक्षणसमेत हुन नसकेको बताइएको छ । सो हेल्थ डेस्कमा स्वाब सङ्कलनसमेत बन्द छ । त्यस्तै भारतबाट दैनिक १० देखि १५ वटा पिकअप गाडीमा तरकारी आए पनि परीक्षण हुनसकेको छैन ।

पर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार घट्ने क्रममा रहेको छ । वैशाखमा उत्कर्षमा पुगेको कोरोना सङ्क्रमण दर जेठको पहिलो सातादेखि घट्दै गइरहेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरी कडाई गरेपछि कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।

नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासअनुसार सोमबारसम्म पर्साका १९, बाराका १२, सर्लाहीमा नौ, रौतहटका दुई र धनुषाका एक गरी ४३ जना सङ्क्रमण पुष्टि भएको छ । नौ देखि ७४ वर्ष उमेरसम्मका सङ्क्रमित रहेको उनीहरूको सिटी भ्यालु १५ देखि ३५.२ सम्म रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप