सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश : एमालेले बुझायो मुख्यमन्त्री समक्ष १९ बुँदे ज्ञापनपत्र

आइतबार, ३० जेठ २०७८, १९ : १५
आइतबार, ३० जेठ २०७८

कर्णाली प्रदेशमा नेकपा एमाले संसदीय दलले अर्बौं बजेट सांसद विकास कार्यक्रममा छुट्याउन माग गरेको छ । आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग एमाले संसदीय दलले सो माग गरेको हो । १९ बुँदे माग राख्दै एमालेले आगामी बजेटमा सम्बोधन आग्रह गरेको हो । 

मुख्यमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा सांसद विकास सम्बन्धि धेरैजसो कार्यक्रमलाई निरन्तरता दिन माग गरिएको छ ।  सांसद विकास कोष कार्यक्रम जनताका गुनासा सम्बोधन गर्ने उद्देश्यले ल्याइएको भए पनि कार्यकर्ता पालन पोषणमा प्रयोग भइरहेको भन्दै आलोचना हुने गरेको छ ।

सांसद विकास कोषको मोडेलमा आएका धेरैजसो कार्यक्रमहरु राजनीति पूर्वाग्रही र कार्यकर्ताको मनोमानीका कारण उपलब्धि हाँसिल गर्न नसकेको भन्दै खारेज गर्नुपर्ने माग समेत उठिरहेको छ । एमालेले मुख्यमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा लोकप्रिय जनता  प्रति निर्वाचन क्षेत्र कार्यक्रमलाई  १० करोड, निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रम अन्तर्गत हरेक निर्वाचन क्षेत्रका लागि न्यूनतम १० करोड, प्रत्येक निर्वाचन क्षेत्रमा आयआर्जन कार्यक्रमका लागि न्यूनतम ५ करोड बजेट  व्यवस्था गर्नुपर्ने भनिएको छ ।

यस्तै एमालेले प्रदेश रंगशाला निर्माणदेखि कोरोना महामारी नियन्त्रणका लागि बजेट विनियोजन गर्न माग गरेको छ। एमालेले दशौंं राष्ट्रिय खेलकुदलाई मध्यनजर गरी प्रदेश रंगशाला निर्माणका लागि न्यूनतम ५० करोड, लोकप्रिय जनता सडक कार्यक्रमलाई निरन्तरता दिई प्रति निर्वाचन क्षेत्र १० करोड रुपैयाँ बजेट विनियोजन गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै, सुर्खेत मूलपानी, तेलपानी र बर्दिया भुरीगाउ सडकको मूलपानी रानीघाट खण्डको लागि कम्तीमा १० करोड, सुर्खेत उपत्यका चक्रपथ निर्माणका लागि २० करोड,  औपचारिक संरचना निर्माण गरी प्रदेशमा उल्लेख्य संख्यामा रहेका दलित समुदायको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि ५० करोड रुपैयाँ विनियोजन गनुपर्ने एमालेको माग छ ।

यस्तै प्रदेश अस्पतालको पूर्वाधार निर्माण तथा आवश्यक उपकरण व्यवस्थापनका लागि २५ करोड, प्रदेशस्तरीय प्रयोगशालाको पूर्वाधार निर्माण तथा आवश्यक उपकरण व्यवस्थापनका लागि १५ करोड, कोभिड लगायतका महामारी नियन्त्रणका लागि १० वटा जिल्ला अस्पताल तथा २७ वटा रणनीतिक अस्पतालहरूको पूर्वाधार विकास तथा आवश्यक उपकरण ब्यवस्थापनका लागि प्रति अस्पताल न्यूनतम ३ करोड,  सुर्खेत उपत्यकाको डुबान समस्यालाई समाधान गर्न निकासदेखि ईत्राम खोला र खोर्के खोलामा तटबन्ध निर्माणका लागि १० करोड बजेट विनियोजन गर्नुपर्ने माग एमालेको छ ।

पर्यटकीय क्षेत्रतर्फ प्रदेशले छनोट गरेका १०० पर्यटकीय गन्तव्यको एकीकृत योजना बनाई बजेट व्यवस्था गर्नुपर्ने, राराको पूर्वाधार विकासका लागि ३ करोड, बुलबुले उद्यानको विकासका लागि २ करोड तथा लिमि भ्याली एकीकृत पर्यटकीय विकासका लागि ३ करोड रकम विनियोजन गर्नुपर्ने माग राखेको एमाले संसदीय दलका नेता यामलाल कँडेलले बताए ।

प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्दैछ । बजेट प्रस्तुत गर्ने पूर्वसन्ध्यामा एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा मुख्यमन्त्री कार्यालय पुगेर मागपत्र पेश गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप