शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ठाडी भन्सारमा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व सङ्कलन

सोमबार, ०४ साउन २०७८, १२ : १५
सोमबार, ०४ साउन २०७८

सिरहाको ठाडी भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । पटकपटकको निषेधाज्ञा र सीमा बन्द भए पनि भन्सार कार्यालयले आव २०७७/७८ मा लक्ष्यभन्दा रु दुई करोड ८९ लाख ९२ हजार बढी राजस्व सङ्कलन गरेको हो ।

रु छ करोड ५६ लाख २० हजार सङ्कलनको लक्ष्य रहेकामा रु नौ करोड ४६ लाख १२ हजार राजस्व सङ्कलन गरिएको कार्यालय प्रमुख नरेश साहले जानकारी दिए । उनका अनुसार कोरोना सङ्क्रमण फैलिन नदिन गरिएको निषेधाज्ञाका कारण जेठ र असारमा लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न नसके पनि अरु महिनामा बढी राजस्व सङ्कलन भएको छ ।

सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत भगवानपुर गाउँपालिका–२ नरहामा सडक निर्माण कार्य भइरहेकाले सवारी साधन आवतजावत सहज नहुँदासमेत लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको प्रमुख साहले बताए । कार्यालयले धान, गहुँ, फलफूल, तरकारी र टायल्सबाट बढी राजस्व उठाएको प्रमुख साहले जानकारी दिए । 

यस्तै यातायात व्यवस्था कार्यालय लहानले आव २०७७/०७८ मा रु. ४३ करोड ७८ लाख १५८ राजस्व सङ्कलन गरेको छ । सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण, जाँचपास, बाटो इजाजतपत्र, प्रदूषण, कम्पनी रजिष्ट्रेसनलगायत शीर्षकबाट सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख मीन भट्टराईले जानकारी दिए । 

सङ्कलन भएको राजस्वमध्ये रु एक करोड ७० लाख ३३ हजार ५७४ सङ्घीय सरकारको खातामा र रु ४२ करोड आठ लाख ३९ हजार ५८४ प्रदेश सरकारको खातामा जम्मा गरिएको कार्यालय प्रमुख भट्टराईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप