ad
x
मेरो जीवन

‘नेविसङ्घ जन्माउनेमध्ये एक म हुँ’

म आफूलाई विद्रोही भन्छु : दमननाथ ढुङ्गाना

person explore access_timeसाउन ३०, २०७८ chat_bubble_outline0

 


दमननाथ ढुङ्गाना बहुदलीय प्रजातन्त्रसहितको संसदीय व्यवस्थाका पहिलो सभामुख हुन् । नेपाली काँग्रेसका तर्फबाट २०४८ मा भएको आम निर्वाचनमा तत्कालीन काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित भएर उनी प्रतिनिधि सभाको सभामुख बनेका थिए ।



संसदीय व्यवस्था कार्यान्वयनमा तत्कालीन सभामुख ढुङ्गानाले खेलेको भूमिका अहिले पनि चर्चा हुने गरेको छ । २०५१ को संसदीय चुनावमा भने ढुङ्गाना काठमाडौँ २ मा एमालेकी विद्या भण्डारीसँग पराजित भए । अनि उनी नेपाली काँग्रेसको राजनीतिबाट टाढिए ।



वरिष्ठ अधिवक्ता समेत रहेका ढुङ्गानाले त्यसपछि नागरिक अगुवा तथा अधिकारकर्मीको परिचय बनाए । त्यो बीचमा ढुङ्गानाले सरकार र द्वन्द्वरत माओवादीबीचको पहिलो वार्तामा महत्त्वपूर्ण भूमिका निर्वाह गरे । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन ढुङ्गानाले समन्वयकारी भूमिकामा आफूलाई खरो उतारेका थिए । 



०६२/६३ को दोस्रो जनआन्दोलनमा पनि उनी नागरिक अगुवाका रूपमा अग्रमोर्चामा थिए । नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भूमिकामा नरहेका ढुङ्गानालाई गत आम निर्वाचनमा काँग्रेसले सम्झियो । उनी भक्तपुर २ नं क्षेत्रमा प्रतिनिधि सभा उम्मेदवार बने । तर उनी एमालेका युवा नेता महेश बस्नेतसँग पराजित भए । यतिबेला ८० वर्षीय ढुङ्गाना राष्ट्रिय राजनीतिको भूमिकामा नभए पनि उनको विचार र उपस्थितिको ओज घटेको छैन । हामीले उनै ढुङ्गानाका जीवनका विभिन्न पाटाबारे रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा प्रस्तुत गरेका छौँ, उनकै शब्दमा ।



राजनीति



म आफूलाई विद्रोही भन्छु । विसं २०१७ पछि स्वतन्त्र विद्यार्थी युनियन स्थापना गर्ने सबैभन्दा पुरानो मानिसमध्ये एक म पनि हुँ । नेविसङ्घको पुरानो संस्थापकमध्येको एक म पनि हुँ । नेविसङ्घ स्थापनापछि मात्र मैले वकालत सुरु गरेको थिएँ । प्रजातन्त्र स्थापनाको आन्दोलनमा विद्यार्थी फोरमबाट २०१७ सालदेखि नै म सक्रिय थिएँ । नेपाल बार एसोसिएसनको म दुई पटक सचिव भएँ । सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षसमेत भएँ । त्यो राजनीतिक नभएर वकालत गर्ने प्लेटफर्म थियो ।

त्यो समय पनि राज्यसत्ताको विपक्षमा, बहुदलको पक्षमा, लोकतन्त्रको पक्षमा आवाज उठाउँथे । ०४६ सालपछि नेविसङ्घको वैचारिक संस्थापक भएर रहेँ । नेविसङ्घ स्थापना गरौँ भनेर लाग्ने एकथरि हुन्छन् । स्थापना गरेपछि लाग्ने एकथरि । नेविसङ्घ नै चाहियो भनेर विचार अङ्कुर्याएर आकार जसले दिन्छ, त्यसरी नेविसङ्घ जन्माउने मध्येको एक म पनि हुँ । ०१७ सालदेखि अहिलेसम्म पनि मैले प्रजातन्त्रको लडाइँ लडिरहेको छु । पार्टीमा सक्रिय भएर पदमा नरहेको हो ।

नेपाली काँग्रेसबाट ०४८ को चुनावमा म तत्कालीन काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित भएको थिए । त्यसपछि सभामुख भए । २०५१ मा पनि चुनाव लडेको थिएँ । तर असफल भए । पछिल्लो समय भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा उठेको थिएँ । सफल हुन सकिनँ ।

जनयुद्ध सुरुवातको समयदेखि म शान्ति प्रक्रियाको वकालतमा थिएँ । जनयुद्ध लड्नेलाई जनतामा गएर विश्वास लिएर सरकार सञ्चालन गर्न, हतियार छोडेर प्रजातन्त्र मान्न नागरिकको तर्फबाट आग्रह गर्ने पहिलो व्यक्ति म नै थिएँ ।
माओवादीसँगको पटक पटकको वार्तामा सहजकर्तासमेत भएँ । २०६३ को जनआन्दोलन र परिवर्तनपछि शान्ति प्रक्रियाको सहजीकरणमा लागिरहेँ । मैले पार्टी वा सत्ताको कुनै पद कहिल्यै खोजिनँ । आफ्नो जीवनकालमा मैले लोकतन्त्रको पक्षमा जति काम गरेँ त्यति काम पार्टीका लागि गरेको छैन । सभामुख भएको समयबाहेक, त्यसपछि राज्यको कुनै सुविधासमेत नलिने व्यक्ति एउटा म नै होला । 

 


 

सपना
भोलिका दिनमा फेरि हाम्रा सन्ततीले प्रजातन्त्रका लागि लड्न नपरोस् भन्ने छ । अहिलेको प्रजातन्त्र स्थिर भइरहेको छैन । २००७ सालदेखि लड्दै नयाँ संविधान बनाउँदै, बनाएको खारेज गर्दै फेरि नयाँ बनाउँदै आएका छौँ हामी ।
पछिल्लो समय संविधान सभाले बनाएको संविधानमा पनि अनेक प्रश्न, अस्वीकृति भइरहेका छन् । त्यसले देशमा कहिल्यै  स्थिरता भएन । सत्ता ती पार्टीहरूको हातमा नै छ । जसले परिवर्तनका लागि लडेका थिए । तर सदुपयोग गर्न जानिरहेको देखिन्न ।

जुन जुन पार्टीहरूले लडेर परिवर्तन ल्याएर संविधान बनाए उनीहरूले नै त्यसको इज्जत राख्न नसकिरहेको अवस्था छ अहिले । ओली सरकारले संसद् विघठन समेत गर्यो । नयाँ पुस्ताले आफ्नो अधिकारका लागि, प्रजातन्त्रका लागि फेरि लड्न नपरोस् भन्ने छ । नेपाली युवाले जहिले पनि अधिकार र प्रजातन्त्रका लागि लड्नु परिरहेको छ । उनीहरूले मर्यादित जीवन बिताउन पाएका छैनन् । त्यो पाऊन् भन्ने मेरो सपना हो । स्थिर राजनीतिको चाहना हो ।

दुःख

जीवनभर सार्वजनिक रूपमा नैतिक, भ्रष्टाचाररहित देश बनाउने अभियानमा लागियो । विकासशील मुलुक त्यसै त्यस्ता भएका होइनन् । उनीहरू नियममा बसेका छन् । त्यो नियममा हामी बसेको भए, आन्तरिक पक्ष, विपक्ष र द्वन्द्वमा नअल्झिएको भए हाम्रो देश पनि अहिले उन्नत देशमा बन्थ्यो । हाम्रो देशमा स्रोत र साधन प्रशस्तै छन् । त्यो सदुपयोग हुन सकेन ।

व्यक्तिगत दुःख भने केही छैन । देश बन्न सक्थ्यो, बनेन भन्ने दुःख लाग्छ । हिजो राजा र जनताको बीच युद्ध थियो । अहिले राजा हटाएका छौँ । फेरि जनता जनताबीच युद्ध छ । यही कुराले दुःख लाग्छ । 

भूल

जीवनमा भूल भएजस्तो लागेको छैन । मैले आफ्नो जिम्मेवारी पूरा गर्दा कसैलाई भूल लागेको भए भन्न सक्दिनँ । मानिसबाट त भूल हुन्छ । मबाट पनि भएकै छैन भनेर भन्न पनि सक्दिनँ । मेरो दृष्टिमा भूल गरेँ भन्ने त लागेको छैन ।
पूर्ण रूपमा नागरिक जीवन बिताउने क्रममा म कहिल्यै पनि आम्दानी र पदको पछाडि दौडिनँ । साधारण जीवनमा विश्वास गरेँ । महत्त्वकाङ्क्षा नराखेको भएकाले भूल भएन होला भनेर भन्छु ।

पेसा

पेसा वकालत भन्थेँ र अहिले पनि भन्छु । सक्रिय रूपमा वकालत गरेको विसं २०२८ सालदेखि हो । त्यसअगाडि पनि गर्दै, छोड्दै गरेको थिएँ । ०२८ देखि ०४६ को जनआन्दोलसम्म सक्रिय रूपमा वकालत गरेँ । त्यतिबेला सर्वाेच्च अदालतमा वकालत गर्थें । जागिर भने कहिल्यै कतै पनि गरिनँ । 

विवाह

विसं २०२८ सालमा प्रेमविवाह गरेको हो मैले । त्यो समय म अलिअलि वकालत गर्थें । त्योभन्दा अगाडि मास्टर भएँ, पत्रकारिता पनि गरेँ । केही न केही गरेर खर्च जुटाएर घरमा सघाउँथे । 
उनी भने पढ्दै थिइन् । नातागोताको माध्यमबाट उनीसँग चिनजान भयो । चिजानपछि भेटघाट बाक्लिँदै गयो । सो क्रममा हामीले एकअर्काेलाई मनपराउन थाल्यौँ र परिवारको सहमतीमा विवाह भयो ।


खाना 

खानामा रोटीतरकारी मीठो लाग्छ । तरकारीमा धेरै मनपर्ने प्याज र फर्सीको मुन्टा हो । माछामासु छोडेको त छैन । तर पहिलेभन्दा धेरै कम खान्छु ।
रेस्टुरेन्ट पहिले जान्थेँ । अहिले १५, २० वर्षदेखि कमै जान थालेको छु । पकाउन रुचि छैन । जान्दै नजानेको त होइन, पकाउनै परेर । त्यसैले पनि रुचि भएन ।

फिट्नेस
फिट्नेसका लागि सजग छु । नियमित वाकिङ गर्छु । सानैदेखि गर्ने गरेको केही एक्सरसाइजहरू जो छन्, ती नियमित गर्छु । धेरैजसो हिँडेरै म फिट्नेसका आवश्यकता पूरा गर्छु । घरमा फिट्नेसका सामान केही पनि छैनन् र अहिलेसम्म आवश्यक पनि परेन ।

पोसाक
मनपर्ने पोसाक कुर्था, पाइजामा हो । सभामुख हुँदा दौरासुरुवाल धेरै लगाएँ । त्यसपछि खासै प्रयोग गर्दिनँ । घरमा रहँदा सर्ट, पाइन्ट, कुर्था पाइजामा लगायतका पहिरन प्रयोग गर्छु ।

पहिरनमा मनपर्ने रंग हरियो हो । केटाकेटीदेखि नै यो रङ्ग मनपथ्र्यो । अहिले भने सेतो बढी प्रयोग गर्छु । वकिल भएपछि सेतो मनपर्न थालेको हो ।

पहिले पोसाक रेडिमेडको चलन पनि थिएन, भए पनि आफ्नो साइजअनुसार पाउन गाह्रो हुन्थ्यो । सोही कारणले सिलाएर लगाउने बानी बस्यो । पहिरनमा ब्रान्ड कहिल्यै हेरिनँ, मनपरेको, राम्रो लागेको प्रयोग गर्छु । अहिलेसम्म पहिरनमा तडकभडक गरेको छैन ।

अध्ययन
अध्ययनमा रुचि छ । पहिले घरबाट बाहिर धेरै निस्कने भएकाले प्रायः राति पुस्तक पढ्थेँ । कोरोनाले घरमै थुन्यो र फुर्सद बनायो । बाहिरी भेटघाट, मिटिङ लगायतका क्रियाकलापसमेत कम हुन थाल्यो । त्यसैले फुर्सद भयो कि पत्रपत्रिका कि किताब पढ्छु ।

पहिले त साहित्यको पुस्तकमा धेरै रुचि थियो । अहिले भने विचार, राज्य सञ्चाल, संविधानवादका किताबहरू पढ्छु । अहिले पढ्दै गरेको पुस्तक अमेरिकाको विषयमा छ । त्यहाँ पहिले सङ्घीयता गर्ने कि नगर्ने भन्ने विषयमा विभाजन थियो । सो समय संविधान निर्माताले सङ्घीयता किन चाहिन्छ, किन चाहिँदैन भनेर पक्ष तथा विपक्षमा विभिन्न लेख पत्रपत्रिकामा लेखेका थिए । तिनै लेखका कलेक्सन रहेको पुस्तक अहिले पढिरहेको छु ।

घुमफिर
पहिले त धेरै घुमफिरमा रुचि थियो, घुमेँ पनि । अहिले घुम्न ननिस्केको २ वर्ष जति भयो होला । प्राकृतिक सौन्दर्यले भरिएका ठाउँहरू घुम्न मनपर्छ । काठमाडौँ घरैघरले घेरिसकेको छ । त्यसले गर्दा कोरोना अगाडि काठमाडौँ बाहिर घुम्न हिँडिरहन्थेँ ।

देशका केही जिल्ला पुग्न अझै बाँकी होला । विदेशका भने सार्क राष्ट्र, युरोप, अमेरिकालगायत पुगेको छु । युरोपका सानासाना देश जुन राम्रो गतिमा विकास भएका छन् । उनीहरूको भ्रमण गरेर विकास बारे बुझ्न, हेर्न र सिक्न मन लागेको छ ।

खेलकुद
खेलकुदमा रुचि छैन । विद्यार्थी जीवनमा सानो छँदा, युवा अवस्थामा फुटबल, भलिबल, ब्याडमिन्टन लगायत केही खेलियो । पछिल्लो समय केही पनि खेलेको छैन । अहिले कहिलेकाहीँ केटाकेटीले बास्केट बल खेलेको हेर्छु । विश्वकप लगायत चर्चित र महत्त्वपूर्ण खेलहरू टिभीमा हेर्छु, हेर्न रहर पनि लाग्छ । 

मोबाइल
अहिले मसँग सामसुङ ब्रान्डको एउटा मोबाइल छ । मोबाइलमा अनलाइन समाचार हेर्ने, फोन गर्ने गर्छु । पहिले ट्विटर पनि चलाउँथे । केही समय भयो ट्विट गरेको छैन । मोबाइलबाट धेरैथरि गर्न सकिन्छ भन्छन् तर म जाँन्दिनँ ।

टिभी
बिहानको समाचार पत्रपत्रिकामै पढ्छु । कम्प्युटरबाट अनलाइन हेर्छु । सबै खबर त्यहीँबाट थाहा हुन्छ । राजनीतिक, आर्थिक, सामाजिक लगायतका खासखास विषयका अन्तर्वार्ता, खेलाडीहरूले बोलेका कार्यक्रम टिभीमा हेर्न मनपर्छ । त्यसको पछि लाग्न भने भ्याउँदिनँ ।

रेडियोको युगमा हुर्किएको भएकाले होला अहिलेको टेलिभिजन प्रविधिमा आफूलाई भिजाउन सकेको छैन ।

फिल्म
फिल्म नहेरेको धेरै भयो । पहिले पनि धेरै हेर्दिनथेँ । मैले हेरेको फिल्म औँलामा गन्न सकिने जति होलान् । फिल्म हेर्नुपर्ने हो । अहिले फिल्ममा धेरै विकास भएको सुनेको छु । नायक नायिका धेरै नयाँ भित्रिइसकेका छन् रे । 
फुर्सद भयो कि किताब पल्टाउने मेरो बानी छ । यो बानीले फिल्म हेर्नतिर कहिल्यै मन गएन । कलाकार त कोही पनि चिन्दिनँ कि ।

गीतसङ्गीत
गीतसङ्गीत मनपर्छ, सुन्छु । अहिलेका गीतसङ्गीत र अहिलेका कलाकारसँग त्यति परिचित छैन म । पुरानासँग मात्र परिचित छु । पुराना गीतसङ्गीत सुन्छु ।

मापसे
अहिले त मापसे गर्दिनँ । मैले नचाखेको भने होइन । पहिले अलिअलि खान्थेँ । पछिल्लो समय नखाएको २० वर्ष जति भयो होला ।

रोग
मलाई प्रेसर र सुगर छ । यो रोगले सताएको १५ वर्ष जति भयो होला । त्यसका लागि नियमित औषधि खाँदैछु । यीबाहेकका अन्य रोग अहिलेसम्म देखिएको छैन ।

राशि
मेरो राशि ‘मिथुन’ हो । राशि पल्टाएर कहिल्यै पनि हेरिनँ । अहिलेसम्म कुनै ज्योतिषीलाई हात र चिना देखाएको पनि छैन । ग्रहदशमा विश्वास पनि लाग्दैन । मैले त्यो ज्ञानको अविश्वास गरेको त होइन । तर त्यतातिर कहिल्यै खोज गरिनँ । पुजापाठ गर्दिनँ । मन्दिर पूजापाठका लागि होइन, सांस्कृतिक धरोहर भएको हिसाबले जान्छु ।

मृत्यु
मृत्यु स्वाभाविक हो । जन्मेपछि मर्नैपर्छ । त्यसलाई कुनै विशेष रूपमा हेरेको छैन ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।