आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दार्चुला घटनाबारे छानबिन समितिले प्रतिवेदन बुझायो

मङ्गलबार, १५ भदौ २०७८, १९ : २९
मङ्गलबार, १५ भदौ २०७८

दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटना छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । सह–सचिव जनार्दन गौतम नेतृत्वको समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन् ।

महाकाली नदी तर्न लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काएपछि ब्यास गाउँपालिका–२ का धामी बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको थियो । गृह मन्त्रालयका सह–सचिव जनार्दन गौतम नेतृत्वको समितिले स्थलगत अनुगमन, पीडित परिवारसँग भेटघाट र प्रत्यक्षदर्शीसँग कुरा गरेर घटना छानबिन गरेका थिए । छानबिन टोलीमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य थिए ।

साउन १७ मा गठन गरिएको समितिलाई सुरुमा १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउने समय दिइएको थियो । पछि प्रतिवेदन बुझाउने समय थप गरिएको थियो । तुइनबाट भारत हुँदै आफ्नो घर जान लाग्दा खसेर बेपत्ता ब्यास गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामीको अवस्था अझै अज्ञात छ । ’ स्थानीयले मालघाटमा एसएसबीले तुइन फुस्काउँदा धामी बेपत्ता भएको बताए पनि भारतीय पक्षले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सो घटनामा एसएसबीको संलग्नता नभएको जिकिर गरेको छ ।

यस्तो छ जयसिंह धामी बेपत्तापछिको घटनाक्रम

साउन १५ गते: गते भारतीय सुरक्षाकर्मीले तुइन काटेपछि दार्चुला ब्यासका ३३ वर्षका जयसिंह धामीको महाकाली नदीमा खसेर बेपत्ता ।

साउन १७ गते: सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन, १० दिनको समय ।

साउन १९ गते: प्रतिनिधि सभाको बैठकमा सांसदहरूको गृहमन्त्री बालकृष्ण खाँणसँग सांसदहरूको सवाल जवाफ, संसदीय छानबिन समिति बनाउन माग ।

साउन १९: छानबिन समिति अनुसन्धानका लागि छानबिन टोली खलङ्गामा ।

साउन २१ गते: भारततर्फको घटनास्थलको अवलोकन ।

साउन २२ गते: नेपालतर्फको घटनास्थल, मालघाटको अवलोकन ।

साउन २५ गते: छानबिन समितिको म्याद एक साताका लागि थप ।

भदौ १ गते: पुनः एक साताका लागि म्याद थप ।

भदौ ५ गते: अनुसन्धान संयोजक काठमाडौँ फिर्ता ।

भदौ १० गते: संसद्को राज्य व्यवस्था सुशासन समितिद्वारा गृहमन्त्री बालकृष्ण खाँणलाई घटनाको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न निर्देशन ।

भदौ १० गते: मन्त्रिपरिषद्को बैठकले धामीको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप