शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेमा तेस्रो धारलाई पेल्दा एकीकृत समाजवादीलाई फाइदा !

भीम रावलको हकमा फागुन २८ नै कायम !
आइतबार, २७ भदौ २०७८, १९ : ३४
आइतबार, २७ भदौ २०७८


सहमति भएको एक महिना नबित्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गर्नबाट पछि हटेका छन् । अध्यक्ष ओली सहमतिबाट पछि हटेपछि एमालेभित्रका तेस्रो धारका केही नेताहरू ‘बिलखबन्द’मा पर्ने निश्चित भएको छ ।

अध्यक्ष ओलीले पार्टीभित्रको तेस्रो धारलाई जति पेल्दै जान्छन्, त्यति नै माधव नेपालले खोलेको एकीकृत समाजवादी पार्टीको औचित्य पुष्टि हुने विश्लेषण एमालेभित्रैका तेस्रो धारका नेताहरूले गर्न थालेका छन् ।

एमालेमा तेस्रो धार भन्नाले माधव नेपाल समूहलाई छाडेर ओलीको पक्षमा आएका युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त लगायतलाई चिनिन्छ ।

​एमाले अध्यक्ष ओलीले ०७५ जेठ २ अघिको संरचनामा फर्कने आश्वासन दिएपछि यी नेताहरू माधव नेपालको साथ छाडेर एमालेमै समाहित भएका हुन् । तर, ओलीले उनीलाई धोका दिएको महसुस हुन थालेको तेस्रो धारका नेताहरूको गुनासो छ ।

तेस्रो धारका एक नेताले रातोपाटीसँग भने, ‘ओलीजी जेठ २ लाई कार्यान्वयन गर्न इमान्दार हुनुभयो भने माधव नेपालले नयाँ पार्टी गठन गर्नुको औचित्य समाप्त हुन्छ । तर, ओलीजी पहिलेकै तरिकाले अघि बढ्नुभयो भने माधव नेपालको पार्टीलाई फाइदा पुग्छ र हामी तेस्रो धारका भनिएकाहरूको परीक्षा सुरु हुन्छ ।’

खासगरी सुदूरपश्चिम प्रदेशको सवालमा १० बुँदे सहमति हुबहु कार्यान्वयन गर्न अध्यक्ष ओली तयार नभएपछि विगतमा जस्तै सहमति गर्ने तर कार्यान्वयन नगर्ने पुरानै शैलीलाई निरन्तरता दिन पुगेको एमालेभित्र टिप्पणी हुन थालेको छ ।

केही प्रदेशको सवालमा जेठ २ मा फर्कन तयार भएका ओली  सुदूरपश्चिमको सवालमा भने कुनै हालतमा माओवादीबाट प्रवेश गरेका लेखराज भट्टलाई हटाएर रावललाई जिम्मेवारी दिन अनिच्छुक भएपछि एमालेमा भएको १० बुँदे सहमति कार्यान्वयन धरापमा परेको विश्लेषण हुन थालेको हो ।

योसँगै एमालेका तेस्रो धारका नेताहरू ओलीको कार्यशैली र व्यवहारप्रति चिढिनुका साथै सशङ्कित बन्न पुगेका छन् ।

ती नेताका अनुसार अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयनमा जति असहिष्णु हुँदै जान्छन् त्यति नै एमालेबाट विभाजन भएको माधव नेपाल नेतृत्वको पार्टीलाई फाइदा पुग्छ । उनी भन्छन् ‘यसरी नै बेइमानी गर्दै जाने हो भने अन्ततः एमालेलाई घाटा र नवगठित नेकपा एकीकृत समाजवादीलाई फाइदा पुग्छ ।’

ओलीको यही कार्यशैलीबाट पछिल्लो समय माधव नेपालको साथ छोडेर ओली रोज्न पुगेका एमाले उपाध्यक्ष समेत रहेका भीम रावल सबैभन्दा बढी असन्तुष्ट र पीडित बन्न पुगेको नेताहरूको भनाइ छ ।

‘१० बुँदे सहमति कार्यान्वयन गर्ने कुरामा अन्य प्रदेशमा समस्या छैन, अलिकति समस्या सुदूरपश्चिममा देखियो, यसले समस्या सिर्जना होला कि जस्तो छ’, एमाले तेस्रो धारका एक नेताले रातोपाटीसँग भने, ‘भन्न त उहाँ (अध्यक्ष ओली)ले पहिला पनि २ जेठमा हुबहु फर्कन सकिँदैन भन्नुभएको हो, तर प्रदेश इञ्चार्जको जिम्मेवारी नै नदिने भन्नुले सहमतिप्रति इमानदारिता देखिएन ।’

ती नेताका अनुसार अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयनमा जति असहिष्णु हुँदै जान्छन् त्यति नै एमालेबाट विभाजन भएको माधव नेपाल नेतृत्वको पार्टीलाई फाइदा पुग्छ । उनी भन्छन् ‘यसरी नै बेइमानी गर्दै जाने हो भने अन्ततः एमालेलाई घाटा र नवगठित नेकपा एकीकृत समाजवादीलाई फाइदा पुग्छ ।’

ओली यसअघि १० बुँदे सहमति कार्यान्वयन गर्न सहमत भएको र एमाले स्थायी समिति र केन्द्रीय समिति बैठकले समेत अनुमोदन गरेको विषयबाट पछि हट्दै गए तेस्रो धारका धेरै नेताहरू सोच्न बाध्य हुनेसमेत उनले बताए ।

‘अहिले नै भन्न त सकिन्न, तर हामी सोच्न बाध्य हुन सक्छौँ’, ती नेताले माधव नेपालको पार्टीमा फर्कन सक्ने सङ्केत गर्दै भने, ‘राजनीतिमा इमानदारिता ठुलो कुरा हो, त्यो नै भएन भने त सक्किगो नि !’

बालकोटमा तीन घण्टा छलफल

एमाले सुदूरपश्चिम विवादबारे ओलीले आइतबार उपाध्यक्ष रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सुवास नेम्वाङसहित लेखराज भट्ट र कर्ण थापासँग झण्डै तीन घण्टा छलफल गरेका थिए । त्यसक्रममा ओलीले माओवादीबाट पार्टी एकताका क्रममा आएका नेताहरूलाई यसअघि दिएको जिम्मेवारी परिवर्तन नहुने प्रष्ट बताए ।

‘२ जेठमा हुबहु फर्कन अब सम्भव छैन । कार्यविभाजन यथावत् रहन्छ, रावलजी उपाध्यक्ष र प्रदेशमा १० बुँदे कार्यान्वयनमा आएको समस्या समाधानमा सहजीकरणको भूमिका निर्वाह गर्नुहुन्छ’,ओलीले नेताहरूसँगको छलफलमा भने, ‘अहिलेको एमाले पुरानै एमाले हुन सक्दैन । धेरै साथीहरू थपिनुभएको छ, नाम एमाले भए पनि साथीहरूले यो नेकपाकै निरन्तरताका रूपमा बुझ्नुपर्छ ।’

जब कि ओलीले यसोभन्दा रावलले १० बुँदे सहमतिको स्पिरिट त्यो हुन नसक्ने बताएका थिए । ओलीले पार्टीको अहिलेको प्रदेश संरचनामा कुनै फेरबदल हुन नसक्ने जवाफ दिएपछि नेता रावल आफूमाथि अन्याय हुने भन्दै बालकोटबाट फर्किएका थिए । बालकोट छलफलमा ओलीको भनाइप्रति महासचिव ईश्वर पोखरेल र नेता सुवास नेम्वाङले समेत सहमति जनाएका थिए ।

समस्या कसरी भयो ?

सहमतिअनुसार एमाले २ जेठमा फर्कँदा रावल एमाले सुदूरपश्चिम प्रदेशको संयोजक र कर्ण थापा सहसंयोजकको भूमिकामा हुन्छन् । तर फागुन २३ पछि एमाले विवादमा रावल माधव नेपालतिर लागेपछि फागुन २८ मा अध्यक्ष ओलीले रावललाई हटाएर उनको ठाउँमा माओवादीबाट प्रवेश गरेका लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्ज तोकेका थिए । तर, एमाले विभाजनका बेला रावल पुन ओलीतिरै लागे पनि र भट्टले पाएको जिम्मेवारी छोड्न नचाहेपछि समस्या भएको हो । सोही विवाद समाधान गर्न ओलीले आइतबार नेताहरूलाई बालकोट बोलाएका थिए ।

सर्वोच्च अदालतले २३ फागुनमा ब्यूँताएको एमालेमा विवाद बढेपछि समाधानका लागि असार २७ मा ओली पक्ष र माधव नेपाल पक्षबीच १० सदस्यीय कार्यदलले १० बुँदे सहमतिको प्रस्ताव सार्वजनिक गरेको थियो । उक्त सहमतिमा ‘पार्टीका सबै तहका कमिटी, निकाय र जनसङ्गठन नवौँ महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र कार्यदिशा र विधानको व्यवस्थाबमोजिम ०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुने’ उल्लेख छ ।

उपाध्यक्षलाई किन चाहियो इञ्चार्ज ?

एमाले सुदूरपश्चिमका अध्यक्ष कर्ण थापा पार्टी एकताका क्रममा आएका नेताहरूलाई समेत समेट्नुपर्ने बाध्यता रहेकाले सुदूरपश्चिमको इञ्चार्ज लेखराज भट्ट नै हुने निर्णय र निर्देशन भइसकेको दाबी गर्छन् ।

‘यसमा कुनै विवाद नै छैन, भट्टजी सुदूरपश्चिमको इञ्चार्ज हो, भीम रावल कमरेड उपाध्यक्ष समेत भएकाले अध्यक्षलाई सहयोग गर्ने र प्रदेशका केही जिल्लामा भएको समस्या समाधान गर्न सहजीकरण गर्ने हो । अध्यक्षले पनि सोही कुरा भन्नु भएको छ’, थापाको भनाइ छ ।

सुदूरपश्चिमका अर्का नेता नारदमुनि रानाले पनि भट्ट नै सुदूरपश्चिमको नेता भनेर निर्णय भइसकेकोमा कुनै विवाद नभएको बताए ।  ‘सहमति भैसकेको छ सुदूरपश्चिमको इञ्चार्ज लेखराज भट्ट हो भन्नेमा विवाद छ जस्तो लाग्दैन’, रानाको भनाइ छ ।

आइतबार बालकोटको छलफलमा सहभागी भएका एक नेताले रावलले सुदूरपश्चिमको इन्चार्ज आफू हुन जतिसुकै खोजे पनि सम्भव नभएको बताए । ‘उहाँ उपाध्यक्ष हो, हाम्रो नेता पनि हो । समग्र पार्टीको उपाध्यक्ष भएको मान्छेलाई किन चाहियो सुदूरपश्चिमको इञ्चार्ज ?’ ती नेताले प्रश्न गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप