शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एसएसपीको पद खाली राखेर फेरि डीआईजीको दरबन्दी थप्ने तयारी

बिहीबार, ०४ कात्तिक २०७८, १८ : ३३
बिहीबार, ०४ कात्तिक २०७८

नेपाल प्रहरीमा ६ जना बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को पद खाली छ । २०७८ वैशाखदेखि एसएसपीको दरबन्दी खाली रहे पनि अहिलेसम्म यी पदमा कसैलाई बढुवा गरिएको छैन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र गृहमन्त्री बालकृष्ण खाणले चासो नदिँदा प्रहरी उपरीक्षक (एसपी) बाट बरिष्ठ उपरीक्षक(एसएसपी) मा बढुवा हुन नसकेको हो । करिब ६ महिनादेखि एसएसपी बढुवामा ध्यान नदिएको गृहमन्त्रालयले बरु डीआईजी थप्ने तयारी थालेको छ ।

गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १४ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को पद थप्ने गृहकार्य भइरहेको छ । ‘डीआईजी र एसएसपीको पद थप्नेबारे छलफल भइरहेको छ’ गृहका ती अधिकारीले रातोपाटीसँग भने, ‘यसमा सहमति लिनका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ ।’

प्रहरी प्रधान कार्यालयले दरबन्दी थप्ने प्रस्तावसहितको संगठन सुपरीवेक्षण तथा व्यवस्थापन (ओएण्डएम) प्रतिवेदन गृह मन्त्रालयमा पठाएको छ । अर्थ मन्त्रालयको स्वीकृति लिएर सो प्रस्ताव मन्त्रिपरिषदमा पठाउने गृह मन्त्रालयले तयारी गरिरहेको छ ।

गत वैशाखमा बरिष्ठ उपरीक्षक (एसएसपी)का तीनवटा पद खाली भए । एसएसपी किशोर दाहाल र देवबहादुर बोगटीले वैशाखमा अवकाश पाए । त्यस्तै, दिलिप चौधरीले असार १० मा र मुकेश सिंहले साउन ३२ मा अवकाश पाए । सौरभ राणा गत साउनमा डीआईजीमा बढुवा भएसँगै एसएसपीमा थप एक सिट खाली भयो । त्यस्तै, कृष्णबहादुर महतले असोज २२ मा एसएसपीबाट अवकाश पाएका थिए । तर, गृह मन्त्रालयले यी सिटहरुमा अहिलेसम्म बढुवा गर्न सकेको छैन ।

पूर्वएसएसपी यादवराज खनालको मुद्दामा सर्वोच्च अदालतले तीन महिनाभित्र एसएसपीमा बढुवा गरिसक्नुपर्ने आदेश गरेका थियो । तर, अहिलेसम्म प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले सो आदेशको अवज्ञा गरिरहेका छन् ।

२०७६ चैत मा मन्त्रिपरिषदले प्रशासनतर्फका डीआईजीको संख्या घटाएर १४ मा राख्ने निर्णय गरेको थियो । तर, ०७७ मंसिरमा फेरि पाँचजना डीआईजी र एक जना अतिरिक्त महानिरीक्षक (एआईजी) थप्ने निर्णय गरिएको थियो । करिब १० महिनाको अवधिमा अहिले फेरि डीआईजी थप्ने तयारी थालिएको हो ।

नेपाल प्रहरीमा हाल प्रशासनतर्फ १४ र प्राविधिक ८ गरी २२ जना डीआईजी छन् । उनीहरुमध्ये अवकाशमा जान लागेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरिराज वाग्ले, पूजा सिंह, नरबहादुर खत्री, सुशील यादव, मोहन आचार्य र नलप्रसाद उपाध्यायलाई डीआईजी बनाउने गरी पद  सिर्जना गर्न लागिएको स्रोतले बतायो । 

सरकारको तयारीअनुसार डीआईजीको दरबन्दी थप भएमा एसएसपीबाट अवकाश पाउन लागेका अधिकृतहरूले बढुवा हुने अवसर पाउनेछन् ।

यसैबीच, गृहमन्त्रालयका पूर्वसचिव चण्डीप्रसाद श्रेष्ठ राज्यको आवश्यकता र आर्थिक भार हेरेर मात्रै माथिल्लो दर्जा थप्ने निर्णय गर्नुपर्ने बताउँछन् । ‘करिब डेढ वर्षको अवधिमा दुईपटक डीआईजीको पद थप्नुपर्ने अवस्था कसरी आयो ?’ श्रेष्ठले रातोपाटीसँग भने, ‘आफ्ना मान्छेलाई ल्याउन मात्र चाजोपाँजो मिलाइन्छ, यसरी कसैलाई टिप्नका लागी पद थप्ने कुरा तर्कसंगत भएन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप