शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
साहित्य र फुटबल

फुटबलप्रेमी महान् साहित्यकारहरू

शनिबार, ३० जेठ २०८३, १५ : ४६
शनिबार, ३० जेठ २०८३

सारांश

  • विश्वभरका धेरै साहित्यकारहरू फुटबलबाट गहिरो रूपमा प्रभावित भएका छन्, जसले यस खेललाई मनोरञ्जनको साधन मात्र नभई समाज बुझ्ने ऐनाको रूपमा पनि हेरेका छन्।
  • नोबेल पुरस्कार विजेता अल्बेयर कामु, एडुआर्डो गालेआनो, निक हर्नबी, ओर्हान पामुक, जेएम कुत्सी, मारियो वर्गास लोसा, जर्ज लुइस बोर्खेस, ओस्भाल्डो सोरियानो, म्यानुएल भास्केज मोन्टाल्बान, र जुआन भिल्लोरो जस्ता साहित्यकारहरूले फुटबललाई आफ्नो लेखनमा विभिन्न रूपमा समेटेका छन्।
  • फुटबलले साहित्यलाई कथा, पात्र, नाटक, स्मृति, र सामूहिक अनुभूति प्रदान गर्दछ, जसले गर्दा खेल र साहित्य एकअर्काका विरोधी नभई परिपूरक बनेका छन्।

फुटबल खेल मात्र होइन । संस्कृति हो, राजनीति हो, समाज हो । साथसाथै पहिचान र भावना हो । एक फुटबलप्रेमीका लागि यो सबथोक हो । तर सुन्दर चिज हो, कुरुप र विकृत भने होइन । 

त्यसो त विश्वभर करोडौँ मानिसलाई जोड्ने यस खेलले साहित्यकारहरूलाई पनि गहिरो रूपमा प्रभावित गरेको छ । धेरै साहित्यकारहरूले फुटबललाई आफ्नो लेखनको विषय बनाएका छन् भने कतिपय स्वयं त कट्टर समर्थक, खेलाडी वा खेल पत्रकार पनि थिए । 

विवेकशील साहित्यकारले फुटबललाई मनोरञ्जनको साधनका रूपमा मात्र नभएर समाज बुझ्ने ऐनाका रूपमा हेरे । उनीहरूको लेखनमा फुटबल कहिले स्मृतिको हिस्सा बनेर आयो त कहिले राजनीतिक प्रतिरोधको प्रतीकका रूपमा, त कहिले मानवीय जीवनका जटिलता बुझाउने रूपकका रूपमा । हामी यहाँ चुनिएका फुटबलप्रेमी विश्व साहित्यकारका बारेमा मात्र उल्लेख गर्दैछौैंः 

अल्बेयर कामु (फ्रान्स–अल्जेरिया)

विश्व साहित्यका नोबेल पुरस्कार विजेता अश्तित्ववादी लेखक अल्बेयर कामु केवल दार्शनिक, नाटककार र उपन्यासकार मात्र थिएनन्, एक उत्साही फुटबल खेलाडी पनि थिए । युवावस्थामा उनले अल्जेरियाको टोलीमा गोलकिपरको रूपमा खेलेका थिए । क्षयरोगका कारण उनको खेल जीवन लम्बिएन । 

एक खेलाडीका रुपमा कामुले सन् १९२८ देखि १९३० सम्म अल्जेरियाको रेसिङ युनिभर्सिटेर डाल्जरको जुनियर टोलीका लागि गोलकिपर भएर खेलेका थिए । सन् १९३० मा मात्र १७ वर्षको उमेरमा उनलाई क्षयरोग भयो । त्यस समयमा यसको कुनै अचूक उपचार नभएकाले उनले बाध्य भएर आफ्नो व्यावसायिक फुटबल खेलाडी बन्ने सपना त्याग्नुपर्यो । र, उनी साहित्यतर्फ लागे । 

कामुले आफ्नो जीवन र दर्शनमा फुटबलको गहिरो प्रभाव रहेको स्वीकारेका छन् । उनको एक प्रसिद्ध भनाइ छः ‘नैतिकता र मानिसको कर्तव्यका बारेमा मलाई जति पनि कुरा थाहा छ, ती सबै मैले फुटबलबाटै सिकेको हुँ ।’ 

त्यसो त युरोपेली फुटबल महासंघ (युईएफए)ले कामुको १००औं जन्मजयन्तीको अवसरमा ‘एउटा गोलकिपर’ शीर्षकमा विशेष लेख प्रकाशित गर्दै उनीप्रति सम्मान व्यक्त गरेको थियो अल्बर्ट कामु सोसाइटी (कामुको जीवनमाथि अध्ययन गर्ने आधिकारिक संस्था)को प्रतिवेदन अनुसार, रेसिङ युनिभर्सिटेर डाल्जरकोको जुनियर टोलीमा उनको खेलको तत्कालीन म्याच रिपोर्टहरूमा निकै प्रशंसा गरिन्थ्यो भनेर उल्लेख गरेको छ । 

कामुको आफ्नै १९५३ मा लेखेको निबन्धमा उक्त क्लबको बुलेटिनमा कामुले लेखेका छन्, 'हो मैले आरयुएको लागि धेरै वर्ष गोलकिपरको रूपमा खेलें । मलाई हिजो मात्रै खेलेको जस्तो लाग्छ...।’ 

उनको अन्तिम अपूर्ण आत्मवृत्तान्तात्मक उपन्यास ‘द फर्सट म्यान’मा पनि उनले बाल्यकालमा फुटबलप्रतिको आफ्नो आशक्ति र गरिबीका कारण जुत्ता जोगाउँदै खेलेका संघर्षहरू उल्लेख गरेका छन् । फुटबल खेलमा गोलकिपरको भूमिका एक्लो र टोलीभन्दा अलि फरक हुने भएकाले पनि पछि उनलाई अस्तित्ववाद र विसंगतिवाद जस्ता दार्शनिक विचारहरू विकास गर्न मद्दत पुगेको भनेर पनि धेरैले सोच्ने गर्छन् । 

एडुआर्दो गालेआनो (उरुग्वे)

उरुग्वेका प्रख्यात लेखक, पत्रकार र सामाजिक चिन्तक एडुआर्डो गालेआनोलाई ‘फुटबलका कवि’ पनि भनेर चिनिन्छ । सामान्यतया राजनीतिक र आर्थिक शोषणमाथि ओपन भेन्स अफ ल्याटिन अमेरिका जस्ता गहन पुस्तकहरू लेख्ने गालेआनो फुटबलका असाध्यै ठूला प्रशंसक थिए । उनले फुटबलको सुन्दरता, यसको सामाजिक महत्व र यसमाथि हाबी हुँदै गएको व्यापारिकरणलाई समेटेर सन् १९९५ मा आफ्नो उत्कृष्ट कृति ‘फुटबल इन सन एन्ड स्याडो’ समेत लेख्न भ्याएका छन् । 

Football-book

त्यसो त आफूलाई ‘फुटबलको भिखारी’ भन्ने गालेआनो आफूलाई कुनै निश्चित टोलीको अन्धभक्त भन्दा पनि राम्रो फुटबल खेलको भोको प्रशंसकका रूपमा चिनाउँछन् । उनी भन्छन्, ‘वर्षहरू बित्दै गए र अन्ततः मैले आफू वास्तवमा को हुँ भनेर स्वीकार गर्न सिकेको छुः म राम्रो फुटबलको एउटा भिखारी हुँ । म हात फैलाएर संसारभरका रंगशालाहरू चहार्छु र अनुनय गर्छु- भगवानका लागि, एउटा सुन्दर मुभ (खेल) देखाइदिनुस् । अनि जब मैदानमा राम्रो फुटबल खेलिन्छ, म त्यो चमत्कारका लागि धन्यवाद दिन्छु, मलाई रौँ बराबर पनि मतलब हुँदैन कि त्यो कुन टोली वा देशले खेल्यो ।’ 

हरेक दक्षिण अमेरिकी बालकजस्तै सानो हुदाँ उनी पनि फुटबलर बन्न चाहन्थे, तर आफ्नो खेल कौशललाई लिएर उनले व्यङ्ग्य गर्दै लेखेका छन् ‘सबै युरोग्वेली बालबालिका जस्तै, म पनि फुटबल खेलाडी बन्न चाहन्थेँ । र म निकै उत्कृष्ट खेल्थेँ, साँच्चै भन्नुपर्दा म अद्भुत खेलाडी थिएँ- तर मात्र राति, जब म सपना देखिरहेको हुन्थेँ, खुट्टाले जे कुरा कहिल्यै हासिल गर्न सकेन, मैले हातले (लेखेर) त्यो प्राप्त गर्ने प्रयास गरेँ ।’ 

यद्दपि, गालेआनोलाई फुटबलको अत्यधिक ब्यावसायिकरण भने कहिल्यै मन परेन । ‘फुटबलको इतिहास सुन्दरताबाट कर्तव्यतर्फको एउटा दुःखद यात्रा हो । जब यो खेल एउटा उद्योग बन्यो, तब खेलको आनन्दबाट प्रस्फुटित हुने सुन्दरतालाई यसले जरैदेखि उखेलिदियो, 'गोलका बारेमा उनी भन्छन्, ‘गोल भनेको फुटबलको चरम आनन्द हो । र आजको आधुनिक जीवनको चरम आनन्द जस्तै, फुटबलमा गोलहरू पनि अचेल निकै कम हुन थालेका छन् ।’ 

सन् २०१५ मा गालेआनोको निधन हुँदा द गार्डियन पत्रिकाले उनलाई श्रद्धाञ्जलि अर्पण गर्दै ‘फुटबलको मुटुसम्म पुग्न सक्ने लेखक’ भनेर उल्लेख गरेको थियो र उनको पुस्तकलाई खेलकुद साहित्यकै सबैभन्दा प्रिय कृति मानेको थियो रेने डेकार्डस्को ‘म सोच्छु त्यसैले म छु’बाट अभिप्रेरित हुदैँ गालेआनो भन्छन्, ‘म खेल्छु, त्यसैले म हुँ ।’ यसैबाट प्रस्ट हुन्छ गालेआनोको फुटबलप्रतिको प्रेमलाई सायदै कुनै साहित्यकारले उछिन्न सक्लान् ।

निक हर्नबी (इङ्ग्ल्यान्ड)

निक हर्नबी आधुनिक फुटबल साहित्यका सबैभन्दा लोकप्रिय लेखक मानिन्छन् । उनको आत्मवृतात्मक पुस्तक ‘फेबर पिच’ विश्व फुटबल साहित्यको क्लासिक कृति हो । यस पुस्तकमा उनले आर्सनल फुटबल क्लबप्रतिको आफ्नो दीर्घकालीन प्रेम र समर्थनको कथा लेखेका छन् । 

फुटबल समर्थकको मनोविज्ञान, आशा, निराशा र भावनात्मक लगावलाई उनले अत्यन्त प्रभावकारी ढंगले चित्रण गरेका छन् । पुस्तकको सफलतापछि यसमाथि चलचित्र पनि निर्माण गरिएको थियो । सन् १९९२ मा प्रकाशित ‘फेबर पिच’ निक हर्नबीको एक संस्मरण हो, जसले फुटबल र फुटबल प्रशंसकको मानसिकतालाई हेर्ने दृष्टिकोण नै बदलिदियो । यो पुस्तक बेलायती फुटबल क्लब आर्सनलप्रति हर्नबीको बाल्यकालदेखिको अत्यधिक र केही हदसम्म पागलपन जस्तो अनौठो लगावमा आधारित छ । यस पुस्तकका प्रत्येक परिच्छेदहरू हर्नबीले सन् १९६८ देखि १९९२ सम्म रंगशालामा वा टिभीमा हेरेका आर्सनलका विशिष्ट फुटबल म्याचहरूमा आधारित छन् । 

उनले ती खेलहरूको माध्यमबाट आफ्नो जीवनका उतारचढावहरू जस्तै बाबुआमाको सम्बन्धविच्छेद, विद्यालय जीवन, प्रेम सम्बन्ध, र आफ्नो डिप्रेसनको कथा बुनेका छन् । बुबासँगको सम्बन्धः उनका आमाबुबाको डिभर्स भएपछि, ११ वर्षको उमेरमा उनका बुबाले सम्बन्ध सुधार्ने प्रयास स्वरूप उनलाई पहिलो पटक आर्सनलको खेल हेर्न हाइबरी रंगशाला लगेका थिए । त्यहीँबाट उनलाई फुटबलको ‘भूत’ सवार भएको थियो ।

हर्नबीले फुटबल प्रशंसक हुनु भनेको सधैं जितको खुसी मनाउनु मात्र नभई, धेरैजसो समय हारको पीडा र छटपटी सहनु पनि हो भनेर व्याख्या गरेका छन् । उनको मुड र मानसिक स्वास्थ्य आर्सनलको जित वा हारमा निर्भर हुन्थ्यो । 

यस पुस्तकले सन् १९७० र १९८० को दशकको बेलायती समाज, फुटबल ‘हुलिगनिज्म’ (गुण्डागर्दी/हिंसा), र प्रशंसकहरू बिचको भाइचारालाई पनि जीवन्त रूपमा उतारेको छ । यो पुस्तक बेलायतमा मात्रै १० लाखभन्दा बढी प्रतिहरू बिक्री भएका थिए र यसले सन् १९९२ को प्रतिष्ठित विलियम हिल स्पोट्र्स बुक अफ द इयर अवार्ड जितेको थियो । 

यो पुस्तक यति चर्चित भयो कि यसमाथि दुई वटा चलचित्रहरू बने । सन् १९९७ (ब्रिटिस फिल्म) : कोलिन फर्थ अभिनित यो फिल्म मूल पुस्तक जस्तै आर्सनल क्लब र फुटबलकै वरिपरि घुम्छ । सन् २००५ (अमेरिकी फिल्म) : हलिउड स्टार ड्र्यु ब्यारीमोर र जिमी फ्यालन अभिनित यस फिल्ममा फुटबलको सट्टा अमेरिकी बेसबल टोली बोस्टन रेड सोक्सको प्रशंसकको कथामा आधारित बनाएर रूपान्तरण गरिएको थियो । 

‘फेबर पिच’ केबल फुटबलबारे मात्र होइन, बरु यो कुनै कुरामा हदैसम्म आशक्त हुनु र त्यस आशक्तिले मानिसको पहिचान कसरी निर्माण गर्छ भन्नेबारे उत्कृष्ट मानवशास्त्रीय अध्ययन पनि हो । हर्नबीले हाई फेडिलिटी तथा अबाउट अ ब्वाई जस्ता अन्य पुस्तकहरू पनि लेखेका छन् । 

ओर्हान पामुक (टर्की)

ओर्हान पामुक टर्कीका नोबेल पुरस्कार विजेता उपन्यासकार हुन् । बाल्यकालमा उनी फुटबल खेलाडी बन्ने सपना देख्थे । उनले किशोरावस्थामा प्रतिस्पर्धात्मक फुटबल पनि खेलेका थिए । यद्यपि पछि साहित्यतर्फ मोडिए, फुटबलप्रतिको रुचि भने कहिल्यै कम भएन । उनका संस्मरण र अन्तर्वार्ताहरूमा इस्तानबुलको फुटबल संस्कृतिबारे उल्लेख पाइन्छ । टर्की समाजको सामूहिक भावना बुझ्न फुटबल महत्वपूर्ण माध्यम भएको उनी बताउँछन् । 

जेएम कुत्सी (दक्षिण अफ्रिका)

जेएम कुत्सी दक्षिण अफ्रिकाका नोबेल पुरस्कार विजेता लेखक हुन् । कुत्सी फुटबल समर्थकका रूपमा परिचित छन् । दक्षिण अफ्रिकामा फुटबलले जातीय विभाजन र सामाजिक पहिचान निर्माणमा खेलेको भूमिकाप्रति उनको विशेष चासो थियो । उनका लेख तथा अन्तर्वार्ताहरूमा फुटबललाई सामाजिक शक्ति र सांस्कृतिक अभिव्यक्तिको माध्यमका रूपमा हेर्ने दृष्टिकोण भेटिन्छ । 

मारियो वर्गास लोसा (पेरु)

मारियो वर्गास लोसा ल्याटिन अमेरिकी साहित्यका महान् लेखक हुन् । पेरुमा फुटबल राष्ट्रिय पहिचानसँग जोडिएको खेल हो । लोसा स्वयं फुटबलका दर्शक र ठुला समर्थक थिए, उनले विभिन्न लेखहरूमा फुटबलले ल्याटिन अमेरिकी समाजलाई कसरी एकताबद्ध बनाउँछ भन्ने विषयमा चर्चा गरेका छन् । 

उनको विचारमा फुटबल आधुनिक समाजको एउटा महत्त्वपूर्ण सांस्कृतिक घटना हो, जसलाई साहित्यले बेवास्ता गर्न सक्दैन । 

जर्ज लुइस बोर्खेस (अर्जेन्टिना)

जर्ज लुइस बोर्खेस फुटबलप्रति केही आलोचनात्मक दृष्टिकोण राख्ने साहित्यकारका रूपमा चिनिन्छन् । तर फुटबल अर्जेन्टिनी समाजमा कति प्रभावशाली थियो भन्ने कुरा उनको लेखन र टिप्पणीबाट स्पष्ट हुन्छ । उनी स्वयं कट्टर समर्थक थिएनन्, तर फुटबलको लोकप्रियताले साहित्यकारहरूलाई समेत प्रतिक्रिया दिन बाध्य बनाएको उदाहरण बोर्खेस हुन् । फुटबलबारे उनको आलोचनात्मक दृष्टिकोणले पनि खेल र संस्कृतिबीचको सम्बन्धमाथि बहस जन्माएको थियो । 

ओस्भाल्डो सोरियानो (अर्जेन्टिना)

ओस्भाल्डो सोरियानो अर्जेन्टिनाका प्रसिद्ध लेखक तथा पत्रकार थिए । उनले फुटबलबारे असंख्य निबन्ध र कथाहरू लेखेका छन् । उनको पुस्तक ‘फुटबल स्टोरिज’ फुटबल साहित्यका चर्चित कृतिमध्ये पर्छ । सोरियानोले फुटबललाई आम जनताको जीवनसँग जोडेर हेर्थे । उनका कथाहरूमा हास्य, स्मृति र भावनात्मक गहिराइ पाइन्छ । 

म्यानुएल भास्केज मोन्टाल्बान (स्पेन)

म्यानुएल भास्केज मोन्टाल्बान स्पेनका चर्चित लेखक, पत्रकार तथा निबन्धकार थिए । उनी बार्सिलोनाका समर्थक थिए र फुटबललाई राजनीति तथा क्षेत्रीय पहिचानसँग जोडेर विश्लेषण गर्थे । उनले फुटबलमाथि लेखेका निबन्धहरू स्पेनिस खेल–साहित्यमा महत्वपूर्ण मानिन्छन् । उनका लागि फुटबल समाजको दर्पण थियो । 

जुआन भिल्लोरो (मेक्सिको)

जुआन भिल्लोरो समकालीन फुटबल साहित्यका प्रमुख नाम हुन् । उनको पुस्तक ‘गड इज राउन्ड’ विश्व फुटबल संस्कृतिमाथिको उत्कृष्ट निबन्ध संग्रह मानिन्छ । उनले फुटबललाई धर्म, कला, राजनीति र लोकप्रिय संस्कृतिसँग तुलना गर्दै विश्लेषण गरेका छन् । भिल्लोरोको लेखनमा फुटबलप्रतिको प्रेम र बौद्धिक दृष्टिकोण दुवै पाइन्छ । 

फुटबल र साहित्यको साझा संसार

यी साहित्यकारहरूको जीवन र लेखनले एउटा रोचक तथ्य उजागर गर्छ । त्यो हो फुटबल र साहित्य एकअर्काका विरोधी होइनन्, बरु परिपूरक हुन् । फुटबलले कथा दिन्छ, पात्र दिन्छ, नाटक दिन्छ, स्मृति दिन्छ र सामूहिक अनुभूति दिन्छ । साहित्यले तिनै अनुभवलाई शब्दमा रूपान्तरण गर्छ । 

फुटबल मैदानमा देखिने संघर्ष, आशा, हार, जित, अन्याय, उत्सव र पहिचानका प्रश्नहरू साहित्यका पनि प्रमुख विषय हुन् । त्यसैले विश्वभरका लेखकहरू यस खेलतर्फ आकर्षित भएका छन् । आज पनि फुटबल साहित्य निरन्तर विस्तार भइरहेको छ । विश्वकप, क्लब फुटबल, समर्थक संस्कृति, खेलाडीहरूको जीवनकथा र खेलको राजनीतिक अर्थबारे हजारौँ पुस्तकहरू प्रकाशित भइरहेका छन् । यसले फुटबललाई केवल खेलभन्दा धेरै ठूलो सांस्कृतिक आयामका रूपमा स्थापित गरेको छ । 

एडुआर्दो गालेआनोदेखि जुआन भिल्लोरोसम्मका साहित्यकारले फुटबललाई फरक–फरक दृष्टिबाट हेरेका छन् । तर सबैमा एउटा समानता छ । र, त्यो हो फुटबलप्रतिको गहिरो आकर्षण । फुटबलप्रेमी साहित्यकारहरूको योगदानले खेल र साहित्यबीचको सम्बन्धलाई अझ समृद्ध बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप