शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘गान्धीवादी’ सीके राउतको हिंसात्मक अवतरण : गुलाबको फूलदेखि भाटासम्म !

शुक्रबार, ०५ कात्तिक २०७८, १८ : ३४
शुक्रबार, ०५ कात्तिक २०७८

 जनमत पार्टीका नेता डा. सीके राउतले आफूलाई गान्धीवादी, अहिंसावादी एवं शान्तिप्रेमी बताउँदै आएका छन् । तर, विहीबार जनकपुरस्थित खानेपानी डिभिजन कार्यालयका कार्यालय प्रमुख जागेश्वर कुशवाहालाई कालोमोसो दलेर बजार घुमाएपछि राउतको ‘गान्धीवाद’ माथि प्रश्न उब्जेको छ ।

नेपालबाट मधेसलाई अलग गर्नुपर्छ भन्ने अभियान सुरु गरेर चर्चामा आएका सीके राउत ओली सरकारसँग सम्झौता गरेर मूलधारको राजनीतिक प्रतिस्पर्धामा छन् । उनले राष्ट्रिय जनमत पार्टी गठन गरी राजनीतिक गतिविधि गर्दै आएका छन् ।

तर, बिहीबार जनकपुरमा राउतका कार्यकर्ताले एकजना सरकारी कर्मचारीलाई कालोमोसो दलेर अर्धनग्न अवस्थामा बजार परिक्रमा गराएपछि राउतको पार्टी विवादमा तानिएको हो । हिंसात्मक कार्यमा लागेको आरोपमा कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका छन् ।

यसअघि राउतले आफ्ना कार्यकर्तालाई महात्मा गान्धीको उदाहरण दिँदै अहिंसावादी आन्दोलन गरेर पनि आफ्ना एजेण्डा स्थापित गराउन सकिने बताउने गरेका थिए । राज्यले जति दमन गरे पनि प्रतिकार नगर्न उनले कार्यकर्तालाई निर्देशन दिने गरेका थिए । तर, विगतमा आफूलाई गिरफ्तार गर्न आउने प्रहरीललाई समेत गुलाबको फूल दिएर स्वागत गर्ने सीके राउत र उनका कार्यकर्ताले हिंसात्मक गतिविधि सुरु गरेका छन् ।

विहीबार खानेपानी डिभिजन कार्यालय जनकपुरका कार्यालय प्रमुख जागेश्वर कुशवाहालाई सीके राउतका कार्यकर्ताले कालोमोसो दलेर कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए । उनका कार्यकर्ता तथा नेताका हातमा गुलाबको फूल हैन, लाठी र भाटा थिए ।

सिके राउत भन्छन्– अनि विकल्प के ?

सीके राउतले आफ्नो ट्वीटरमा जनमत पार्टी ‘स्वतन्त्र मधेस गठबन्धन’ नभएको प्रष्ट पारेका छन् । उनी भन्छन्, ‘जनमत पार्टी अरू पार्टीजस्तै निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक पार्टी हो । यदि यसको कुनै गतिविधि अनुचित लाग्छ भने निर्वाचन आयोगमा दर्ता रहेका अन्य पार्टीहरूले त्यो गर्छ वा गरेको छ कि छैन, त्यो सोधेरमात्रै कुरा गर्नोस् ।’

उनले अरु पार्टीले विगतमा यस्तै गतिविधि गरेका कारण आफूले पनि त्यस्तै गरेको आशय व्यक्त गरेका छन् । उनले अर्को ट्वीटमा लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्रीसँग ज्ञापनपत्र बुझाउन पटक–पटक समय मागेको झण्डै ३ महिना नै भयो, तर पुँजीपति भ्रष्टाचारीलाई भेट्न समय हुने, तर जनताको समस्या बुझ्न पार्टी अध्यक्षलाई समय नदिए विकल्प के ?’

राउतले अगाडि भनेका छन्, ‘अख्तियारलाई ज्ञापनपत्र दिएको कति भो ? तर, अख्तियारले भ्रष्टाचारी संरक्षण गर्ने ! उपमहानगरपालिका र खानेपानी विभागलाई ज्ञापनपत्र दिएको कति भो ? तर, सुन्दै सुन्ने ! प्रहरीलाई उजुरी दिएको कति भो ? तर, उल्टै गरीब निमुखालाई समात्ने ! अनि भ्रष्टबाट आजित जनताले के गर्छन्– जनकारवाही ।’

जनमत पार्टीका महासचिव चन्दन सिंह जनकपुरको घटनालाई हिंसात्मक आन्दोलन भन्न नमिल्ने बताउँछन् । उनले रातोपाटीसँग भने, ‘हाम्रा पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले कुशवाहामाथि दुर्व्यवहार वा कुटपिट गरेका छैनन् ।’

बिहीबारको जुलुसमा पार्टीका कार्यकर्ताका साथै जनकपुरका आमजनताको पनि सहभागिता रहेको उनको तर्क छ । उनले भने, ‘त्यसमध्ये कसैले दुर्व्यवहार गरेका होलान्, त्यो छुट्टै कुरा हो, तर पार्टीका कार्यकर्ता कुनै पनि हिंसात्मक गतिविधिमा लागेका छैनन् ।’

उनका अनुसार जनमत पार्टी अहिंसावादी पार्टी हो । कसैलाई कुनै प्रकारको दुर्व्यवहार नगर्ने, कुनै प्रकारको हिंसात्मक गतिविधि नगर्ने नीति पार्टीले लिएको उनको दाबी छ ।

सरकारका प्रवक्ता भन्छन्– यो आतङ्क हो

प्रदेश २ सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले सरकारी कर्मचारी कुशवाहामाथि दुर्व्यवहारमा संलग्नलाई कारवाही हुर्नैपर्ने बताए । जनमत पार्टीका कार्यकर्ताले कानुन हातमा लिएर आतंक मच्चाएको उनको आरोप छ ।

‘यस्तो घटना असह्य हो, चिन्ताजनक पनि छ । यस्ता दुष्कार्यले अनधिकृत र अवैधानिक संस्थाबाट अनुचित काम हुने जोखिम बढेको छ,’ मन्त्री साहले भने, ‘यसले पाषाणयुगीन क्रुरतम् न्याय पुनर्स्थापित गर्न खोजिएको छ ।’

गेरु बस्त्रदेखि भाटासम्म !

सीके राउतले आफूलाई अहिंसावादी नेताका रुपमा उनकै पुस्तकमा चर्चा गरेका छन् । उनले ‘वैरागदेखि बचाउसम्म’ पुस्तक लेखेका छन्, जसमा धेरै ठाउँमा बुद्ध र महात्मा गान्धीको चर्चा छ ।  राउतले आफू सत्यको खोजीमा गेरुवा बस्त्र धारण गरी भारतका विभिन्न धार्मिकस्थल पनि घुमेको चर्चा गरेका छन् । उनले आफ्नो पुस्तकमा लेखेका छन्–

कन्याकुमारीदेखि रामेश्वरमसम्म म अनेकौं मन्दिर र पावन स्थलहरूमा गएँ । पवित्र मन्दिरहरूको द्वारमा आफ्नो मस्तक रगडें, आरतीको ज्योतिले आफ्ना परेलीहरू सेकें, गुढ़ मन्त्रको जप गर्दै ध्यान गरें, आत्मा छुने भजनहरूमा झुमें । आफ्नो सबै पाप र अपवित्रता पखाल्न रामेश्वरममा एकपछि अर्को गर्दै बाइस कुण्डको पवित्र जलले स्नान गरें । एउटा नवयुवक गेरू बस्त्र धारण गरेको देख्दा यात्राका क्रममा मान्छेहरू केही चकित हुँदै मतिर टोलाउँथे । कोही सहानुभूति पोख्थे त कोही मलाई घर फर्केर गृहस्थ–परिवार सम्हाल्न भन्थे । भने कोही हाँस्थे ।

​संसारको मोहमाया त्याग गरी भगवानको शरणमा परेका उनै सीके राउत, जसको झोलामा महात्मा गान्धीको ‘सत्यके प्रयोग वा आत्मकथा’ पुस्तक हुन्थ्यो, उनी आज कार्यकर्तालाई भाटा बोकाएर मैदानमा उत्रन थालेका छन् । गान्धीवादी सीके राउतको नेतृत्वमा रहेको जनमत पार्टीका कार्यकर्ताले देखाएको पछिल्लो व्यवहारले राउतले अहिंसाको बाटो छाडेको हो कि भन्ने प्रश्न उत्पन्न भएको छ ।  

बिहीबारको घटनामा मुछिएका उनका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको रिहाइका लागि सो पार्टीका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । हरेक प्रदर्शनकारीको हातमा भाटा छन् । भाटा प्रदर्शन गर्दै उनीहरुले उग्र नाराहरु लगाइरहेका छन् ।

हातमा भाटा बोकेर आन्दोलनमा उत्रिनुको कारण प्रस्ट पार्दै सो पार्टीका महासचिव सिंह भन्छन्, ‘मधेसमा यो मामुली कुरा हो, हाम्रा बुवा तथा हजुरबुवा खेत हेर्न जाँदा पनि एउटा लाठी लिएर जान्छन्, यसअघि पनि विभिन्न आन्दोलन हुँदा लाठी प्रदर्शन भएकै हो, यसलाई हिंसाको रुपमा लिन सकिँदैन ।’

जनकपुरका लेखक एवं साहित्यकार रामभरोस कापडी भने यसलाई हिंसात्मक आन्दोलनको सुरुवात भन्छन् । ‘भाटा, लाठी लिएर कुनै कर्मचारीको कार्यकक्षमा गई उसलाई बाहिर निकालेर दुर्व्यवहार गर्दै बजार घुमाउनु हिंसात्मक आन्दोलन हो,’ उनले भने, ‘सीके राउतको पार्टीले गरेको क्रियाकलापको विरुद्धमा अर्को पक्ष पनि सडकमा आउने चेतावनी दिइरहेको छ, यदि त्यस्तो भयो भने अर्कै अवस्था हुन्छ ।’

लोकतन्त्रमा दबाबमुलक आन्दोलन गर्न पाइने तर सीके राउतले गरेको प्रदर्शनको प्रक्रिया लोकतान्त्रिक अभ्यास र लोकतान्त्रिक अधिकारसँग मेल नखाने कापडीले बताए । उनले भने, ‘अहिले कुनै पनि माग पूरा गराउन दबाव नै दिनुपर्ने अवस्था छ,’ उनले भने, ‘दबाव बिना कुनै कुराको सुनुवाइ नै हुँदैन । तर, दबाव दिने क्रममा कानुन हातमा लिन हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप