ललितपुर नगर प्रहरी ऐतिहासिक सम्पदामा खोलिएका पसल हटाउँदै (भिडियो)
ललितपुर महानगरपालिकाले महानगरभित्रका सम्पदाको संरक्षणका लागि फुटपाथ पसल हटाउने अभियान सञ्चालनमा ल्याएको छ । अतिक्रमित सम्पदामा सञ्चालन भएका कपडा तथा तरकारी पसलहरू महानगरका प्रमुख चिरिबाबु महर्जनको निर्देशनमा शनिबारदेखि हटाउन थालिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए ।
विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रभित्रका पाटीपौवा, सार्वजनिक स्थल अतिक्रमण हुँदै आएकोमा ऐतिहासिक महत्त्व बोकेका सम्पदाहरूको विनाश रोक्न यो अभियान सञ्चालनमा ल्याएको नगर प्रहरी प्रमुख हाछेथु बताउँछन् ।

विशेष गरी ललितपुर महानगरभित्रका फल्चाहरुमा कपडा र तरकारी पसल सञ्चालन हुँदै आएका छन् । उक्त फल्चामा स्थानीय समितिले पसल खोल्न महिनावारी रकम असुलेर भाडामा दिने गरेको भेटिएको उनले बताए ।
उनले मंगलबजारभित्र १५० वर्ष पुरानो फल्चा रहेको जानकारी दिए । उक्त फल्चालाई कृष्ण पार्टी भनेर चिनिन्छ । महिनामा एकपटक भजन कार्यक्रम हुने उक्त फल्चा अतिक्रमण गरी पसल थापिएको र त्यसलाई हटाउने काम भएको पनि उनले बताए । उनले मंगलबजार वरिपरि रहेका पसल, टंगालको मन्दिरपेटीमा राखिएका तरकारी र कपडा पसल, लगनखेलबाट मंगलबजार जाने बाटोमा रहेको इतिटोलमा थापिएका पसलहरू हटाएको जानकारी दिए ।

नगर प्रहरीले शनिबार र आइतबार गरी विभिन्न १४ वटा सम्पदा अतिक्रमण गरेर सञ्चालनमा आएका पसल उठाउने काम गरेको छ । नगर प्रहरीले सम्पदाको संरक्षणका लागि अतिक्रमण हटाउने मात्र नभई सरसफाइ र संरक्षणका गतिविधि सञ्चालन थालेको नगर प्रहरी प्रमुख हाछेथुले बताए ।

ऐतिहासिक सम्पदाहरू हेर्न नमिल्ने गरी पसलहरू राखिँदा पर्यटन र ऐतिहासिक स्थलको महत्त्व घट्ने उनको भनाइ छ । उनले ललितपुर महानगरभरिका सम्पदामा भएका अतिक्रमण हटाउन मेयर महर्जनले दिएको निर्देशनअनुसार नगर प्रहरी परिचालन हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण